जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सन्देहमा रविको मलेशिया यात्रा : हर्बो ठगको स्वागत, अर्बौं ठगी फरार जीबी राईसँग गोप्य भेट ! 

सन्देहमा रविको मलेशिया यात्रा : हर्बो ठगको स्वागत, अर्बौं ठगी फरार जीबी राईसँग गोप्य भेट ! 

सहकारी बचतकर्ताको १६ अर्ब भन्दा बढी रकम हिनामिना गरि ठगी गरेको आरोप लागेका ग्यालेक्सी टेलिभिजनका मालिक गितेन्द्र बाबु राई फरार छन् । उनी विरुद्ध प्रहरीले ईन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गर्न पत्राचार गरिसकेको छ । हालसम्म यो हिसाब १६ अर्ब मात्रै आएपनि उनीद्वारा संचालित विभिन्न सहकारीहरुको ठगीको रकम ४५ अर्बसम्म पुग्नसक्ने अनुमान छ ।

पोखराको सुर्यदर्शन सहकारीको १ अर्ब ११ करोड हिनामिना प्रकरणमा सहकारीका कोषाध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक कुमार रम्तेल पक्राउ परि कारागार चलान भइसकेका छन् । सहकारीका पदाधिकारीहरु कैलाश मगर, महेन्द्र भोटे भनिने शिव बहादुर गुरुङ्ग र आइटि अफिसर भविश्वर अर्याललाई जेल चलान गरेको छ ।
ठगीका मतियारलाई पक्राउ गरेपनि मुख्य अभियुक्तलाई पक्राउ गर्न भने प्रहरी असफल भएको छ । अभियुक्तको हुलिया र तस्विर नै सामाजिक संजाल र विभिन्न माध्यम मार्फत सार्वजनिक हुँदा पनि पक्राउ गर्न सकिएको छैन । त्यसो त राई प्रहरीकै सेटिङ्गमा अदालतमा हाजिर हुने तरखरसमेत मिलाई रहेका छन् । यसरी नै सेटिङ्ग मिलाएर महेन्द्र भोटे पनि कास्की जिल्ला अदालतमा हाजिर भई कारागार चलान भएका पात्र हुन् ।

बचतकर्ताको रकम हिनामिनामा प्रत्यक्ष संलग्न भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेबारे प्रहरीले अनुसन्धान समेत नगरि प्रतिवेदन बुझाएको छ । तत्कालिन ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक र संचालक समेत रहेका लामिछानेकै पालामा सहकारीको करोडौँ रकम टेलिभिजनमा ट्रान्सफर भएको थियो । तर, उनीपछि सेयर किनेको देखिएका कुमार रम्तेल भने कारागारमा छन् । जिल्ला अदालत कास्कीले ०८० भदौ २४ मा सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रा.लि. मा साहारा चितवन सहकारीबाट समेत ११ करोड ७१ लाख लगानी भएको खुलेको छ । धितो नै नराखी निकालिएको झण्डै १२ करोड रुपैयाँ जीब्ी राई र रवि लामिछानेले फिर्ता नगरेको प्रमाण पनि बाहिरिएका छन् । अहिले सञ्चालक नै फरार भएपछि ८ हजार सर्वसाधारण करिब एक वर्षदेखि संघर्षमा रहेका छन् । यतिबेला सर्वसाधारणको बिचल्ली बनाएर राई फरार छन् भने बचतकर्ताले आवाज उठाउँदा पनि लामिछाने मौन छन् ।

को हुन् जीबी राई ?

फरार राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । सो कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेको थिए । सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगायो । त्यसपछि नेपालमा हर्बो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याए । तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेका छन् । गोर्खा ग्रुप अफ कम्पनीका अध्यक्ष कुमार रम्तेलले आफ्नो समूहले सातवटा सहकारी सञ्चालन गरिरहेको स्वीकार गरेका छन् । ती संस्थामध्ये ३ अर्ब रुपैयाँ निक्षेप रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंको अध्यक्ष जीबी राई आफैं हुन् भने कुमार रम्तेल कोषाध्यक्ष छन् । उपत्यका बाहिर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था पनि यही समूहको हो । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पूर्वसचिवमा पूर्वउराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन छन् ।

तीनवटा सहकारी संस्थामा जीबी राई आफैं अध्यक्ष छन् भने कुमार रम्तेल ४ वटामा । जबकि सहकारी ऐन– २०७४ मा एउटा व्यक्ति एक समयमा एउटा मात्रै संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था छ । तर, यो समूहले संघ, प्रदेश र स्थानीय तह फरक–फरक नियामकअन्तर्गत सहकारी दर्ता गरेर सरकारलाई समेत झुक्याएको देखिन्छ । नेपालभरि विभिन्न नाममा सहकारी संस्थाहरु सञ्चालनमा रहे पनि त्यसको सबै नियन्त्रण जीबी राईसँगै हुने गरेको सरकारी नियामक निकायहरुकै अनुगमनका क्रममा खुलेको छ ।

कहाँ छन् मुख्य आरोपी जीबी राई ?

प्रहरीको थुनामा रहेका शिवबहादुर गुरुङ र भविश्वर अर्याल सोमबार आफैँ अदालतमा हाजिर भएका थिए । सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई भने प्रहरीले पहिलो पटक २४ साउनमा पक्राउपुर्जी जारी भएपछि पक्राउ गरेको थियो । उनीसँगै पक्राउपुर्जी जारी भएका सहकारीका मुख्य आरोपी जीबी राई भने अझै फरार छन् । उनी ६ महिनाअघिदेखि नै प्रहरीको फरार सूचीमा छन् । कहिले पोखरा महानगरपालिका–१७ घारीपाटन त कहिले काठमाडौंको धापासी बस्दै आएका ओखलढुंगाका जीबी अहिले भने लुकेर बसेका बताइएको छ ।

स्रोतका अनुुसार राईले सहकारीको रकमबाट रुपन्देहीमा ४० बिघा जग्गा खरिद गरेको देखिएको छ । त्यस्तै ललितपुर, भक्तपुर र काठमाडौंमा समेत उनले करोडौं पर्ने जग्गा खरिद रहेको खुलेको छ । ती सबै पोखरा प्रहरीले किनबेच नहुने गरी रोक्का गरिसकेको छ ।

उनलाई पक्राउका लागि खोजी गरेको पोखरा प्रहरीले नभेटेपछि उनको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई समेत पत्राचार गरेको थियो । तर राई अझै भेटिएका छैनन् । राई नेपाल छोडेर विदेश भागेको आशंका गरिएको छ । उनी मलेशियामा लुकेर बसेको आशंका छ । मलेशियाको क्वालालाम्पुरमा नेचर हब नामक नेटवर्किङ्ग कम्पनिको कार्यालय छ । क्वालालाम्पुरको जलान राजा चुलानस्थित रहेको मिनेरा अलम्पिया नामक महलको २१ औँ तलामा रहेको कार्यालय मार्फत उनले नेटवर्किङ्गको धन्दा चलाउँदै आएका छन् । सोही कार्यालयका राई थरकै केही व्यक्तिले उनलाई मलेशियामै एउटा घरमा लुकाएर राखेको स्रोत बताउँछ ।

रवि–जिवि सम्बन्ध : मलेशियामा रहस्यमयी भेट

तत्कालिन ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक रवि लामिछाने र सहकारी ठगीका अभियुक्त तथा अध्यक्ष गितेन्द्र बाबु राईबीचको सम्बन्ध ओपन सेक्रेट छ । लामिछानेले यो सम्बन्धलाई ओझेलमा पार्ने कोशिस गरेपनि ठगीमा दुईबीचको नाता झनै कस्सिएको देखिन्छ । पछिल्लो समय ठगीबारे प्रहरीले राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी भएपछि लामिछाने र जिवि राईबीच मलेशियामै भेट भएको तथ्य दियोपोस्टलाई प्राप्त भएको छ ।

मलेशियास्थित विशेष स्रोतले दिएको जानकारी अनुसार गत डिसेम्बर ३ मा मलेशिया यात्रमा निस्केका लामिछानेले राईलाई मलेशियामै भेटेका थिए । उनीहरुको भेटघाटको चाँजो पाँजो भने मलेशियास्थित जिबि राईकै कम्पनिमा कार्यरत केही कर्मचारीले मिलाएका थिए ।

लामिछानेलाई विमानस्थलमा लिन जाने व्यक्ति नै सहकारी ठगीका अभियुक्त राईले संचालन गरेको नेचर हब ईन्टरनेश्नलमा कार्यरत हेमराज सापकोटा थिए । राई र लामिछानेबीचको भेटमा लामिछानेले नै हाल समस्याग्रस्त बनेको ग्यालेक्सी टेलिभिजन जिम्मा लिएर संचालन गरिदिनुपर्ने प्रस्ताव राईले गरेको उच्च स्रोतले दियोपोस्टलाई बतायो । तर, भेटघाटको चाँजोपाँजो मिलाउने व्यक्तिहरु भने यो विषयमा मुख खोल्न चाहाँदैनन् । राईले मलेशियामा सकेन्ड होम लिएका छन् । मलेशियाको केएलसिसि टावरको आसपास उनले घर र गाडीसम्म जोडेको स्रोत बताउँछ ।

राईको नेटवर्किङ्ग धन्दामा संलग्न अधिकांश व्यक्ति स्वतन्त्र पार्टीका कार्यकर्ता

लामिछाने मलेशियामा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आयोजित कार्यक्रमको संचालक नै हेमराज सापकोटा थिए । उनी ठगीका फरार अभियुक्त राईकै कम्पनिमा कार्यरत व्यक्ति हुन् । सापकोटा उनी मलेशिया एनआरएनएका उपाध्यक्ष पनि हुन् । उनी नेचर हबका पनि सेकेन्ड डाइरेक्टर हुन् । लामिछानेले हालै मलेशियामा गठन गरेको प्रवासी नेपाली सम्पर्क विभागको सचिवमा पनि उनै सापकोटा छन् । मलेशियामा ग्रिन टि र साबुन राखेर सदस्य बनाउँदै ठगी धन्दा चलाउँदै आएका सापकोटा नेपालबाट भने एउटा ठगीकाण्डमा फरार भएका व्यक्ति हुन् ।

कुनै समय नेपालमा पिरामिड शैलीको ठगीधन्दा चलाएको आरोपमा हर्बो ईन्टरनेश्नल नामक कम्पनिमाथि प्रहरले अपरेशन चलाएको थियो । शुल्क उठाउने, आकर्शक उपहार र कमिशनको प्रलोभन देखाएर पिरामिड शैलीमा ठगी गरेको आरोपमा त्यतिबेला सापकोटा, जिबि राई लगायत व्यक्ति प्रहरीको खोजी सुचीमा थिए । युनिटी हर्बो जस्ता कुख्यात ठगीकाण्डसँगै नेपालमा नेटवर्किङ्ग शब्द नै चर्चामा थियो ।

नेचर हर्ब्स इन्टरनेसनल प्रालि पछिल्लो २ दशक अवधिमा विभिन्न कम्पनीका नाममा नेटवर्किङ व्यवसाय चलाएर ठगी कार्यमा संलग्न देखिएका गिरोहबाट सञ्चालित छ भने यो कम्पनीमा हाई प्रोफाइल व्यक्तिहरुको संलग्नता पनि बढी देखिन्छ । यसका सञ्चालक तथा सहकारी ठगीका अभियुक्त जिबि राई उनकै नातेदार अनन्तबाबु राई र श्रीमती निशा राई पनि यो कम्पनीको उच्च ओहोदामै छन् ।

निर्देशकका रुपमा नेत्रपाणि बाँस्तोला, ट्रेनरका रुपमा कुमार रम्तेल र बजार विभागको जिम्मेबारी माधव खनालले हेर्छन् । यी सबै व्यक्तिहरुको विगत हर्बो, युनिटी र गोल्डक्वेस्टसम्म जोडिन्छ । गोलक्वेस्ट ठगी प्रकरणमा पक्राउ परेका अभियुक्त पुष्पराज पुरुष भनिने व्यक्तिसँगै हेमराजको पनि नेटवर्किङ्ग धन्दाको सम्बन्ध जोडिएको थियो । हेमराज हर्बो ठगीका ठूला अभियुक्त हुन् । उनै हेमराज अहिले मलेशियास्थित राष्ट्रिय स्वतन्त्र पार्टी हर्ताकर्ता बनेका छन् ।

1065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका