जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • त्यसपछि रन्थनिए गभर्नर अधिकारी

त्यसपछि रन्थनिए गभर्नर अधिकारी

‘हिजो केही घण्टा म धेरै दुःखी भएँ, मेरो जीवनमा खल्लो लागेको दिन हिजो केही घण्टा थियो, एक्कासी बैंकको वार्षिकोत्सव नहुने कुरा सुनेँ, त्यसले मलाई धेरै दुःखी बनायो,’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार कृषि विकास बैंकको वार्षिकोत्सव कार्यक्रममा भावुक हुँदैन भने ।

उनले त्यो भावुकता व्यक्त गरेपछि धेरैले त्यो विषयमा चासो राखे । विषय बुझेकाहरू मौन रहे । नबुझेकाहरू कानेखुसी गर्न थाले । गभर्नर अधिकारी धारा प्रवाहरूपमा भावकुता प्रकट गर्दै थिए ।

उनले थपे, ‘के कारणले एक्कासी बैंकको वार्षिकोत्सब रोकिने भएछ भनेर सोचेँ, वार्षिकोत्सव नै रोक्नु पर्ने के कारण आइलागेछ भनेर सोचमग्न भएँ, त्यतिबेलै फेरि वार्षिकोत्सव हुन्छ भनेर खबर आयो ।’

गभर्नरको उक्त भावुकताप्रति कार्यक्रममा उपस्थितहरूको मात्रै चासो बढेन सञ्चार माध्यममा पनि त्यो विषयले प्राथमिकता पायो । आइतबार भएकाे कार्यक्रममा उनले बैंकभित्रको किचलोको विषयमा धारणा राखे । उनले बैंकभित्र राजनीति नगर्न पनि आग्रह गरे ।

कार्यक्रम सुरु हुनु अघिल्लो दिनसम्म बैंकका कर्मचारी संगठनहरूले वार्षिकोत्सव कार्यक्रम नै रोक्ने धम्की दिएपछि गभर्नरसमक्ष पनि कार्यक्रम नहुने सन्देश गएको थियो । बैंकमा रहेका ट्रेड युनियनहरूले कार्यक्रम भएपनि स्थगित गर्ने योजना बनाएपछि उनीसमक्ष पनि सो कुरा पुगेको थियो । त्यही विषयलाई कोट्याउँदै गभर्नर अधिकारीले कार्यक्रममै बैंकभित्रको खिचातानीको विषयमा चिन्ता प्रकट गरेका थिए ।

कृषि विकास बैंक कर्मचारी युनियन नेपालका अध्यक्ष जानुका पौडेल दबाब श्रृजना गर्न कार्यक्रम रोक्ने चेतावनी दिएको स्पष्ट पार्छिन् । ‘दबाबको लागि वार्षिकोत्सव रोक्ने चेतावनी दिएका थियौं । तर पछि नरोक्ने भन्ने सल्लाह भयो, बैंक सञ्चालक समितिले बोलाएर मागहरू सम्बोधन बताएपछि कार्यक्रम रोक्ने निर्णयबाट पछि हट्यौं,’ उनले भनिन् ।

आफूहरूले विगत लामो समयदेखि कर्मचारीको हित र समग्र बैंकको विकासका लागि निरन्तर कामसँगै आवाज पनि उठाइरहेको उनको भनाइ छ । गत असारमा ट्रेड युनियनले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । तर, कर्मचारी संगठनहरूले राखेका मागहरू पुरा नभएपछि बैंकको वार्षिकोत्सव रोक्ने धम्की दिइएको थियो ।

बैंकमा क्रियाशील संगठनहरूले संयुक्त रूपमा गत असार आर्थिक र गैर आर्थिक माग राखेका थिए । उनका अनुसार विनियमावली संशोधन गर्ने, श्रेणीगत (तह) बढुवा हुनु पर्ने माग राखेका छन् । श्रेणीगतबाट तहगत बनाउँदा कर्मचारीको बढुवा नै रोकिएको उनले बताइन् ।

‘पुरानो प्राबधानबाट नयाँ प्राबधानमा जाँदा कर्मचारीको बढुवा रोकिएको छ, त्यसले कर्मचारीलाई निरूत्साहित बनाएको छ,’ उनले भनिन् ।

नेपाल वित्तीय कर्मचारी संघ कृषि विकास बैंकका अध्यक्ष राम रावल कर्मचारीहरूका माग पुरा नभए युनियनहरू बैंक डेमा उपस्थित नहुने जानकारी गराएको बताउँछन् ।

‘माग सम्बोधन भएनन् भने बैंक डे पनि नमाउन सक्छौं भनेका थियौं, त्यही कुराले गभर्नरज्यूलाई चिन्ता लागेको हुनसक्छ, युनियन सहभागी नहुनु भनेको आम कर्मचारी सहभागी नहुनु हो, व्यवस्थापकले पनि युनियन सहभागी भएन भने बैंक डे नै मनाउँदैनौं भनेको थियो,’ उनले भने, ‘पछि कुरा मिलेपछि वार्षिकोत्सव मनायौं, व्यवस्थापन र युनियनकाबीचमा भएका सहमति सञ्चालक समितिले कार्यान्वयन गर्ने आंशिक सहमति भयो ।’

विभिन्न चरणका कार्यक्रमहरू स्थगित गरेर पहिलो त्रैमासमा बढेको खराब कर्जा दोस्रो त्रैमासमा नियन्त्रणमा ल्याएको बताउँदै उनले भने, ‘एनपीएल बढ्यो, लगानी बढ्न सकेन, दोस्रो त्रैमास पनि बिग्रियो भने सेवा सुविधा पनि बिग्रिन्छन् भनेर युनियनहरू पुरै समय बैंकको दोस्रो क्वार्टर सुधारमा लाग्यौं, रातदिन नभनी काम गर्याैं, दोस्रो त्रैमासमा नाफा बढाउन र खराब कर्जा घटाउन सफल भयौं ।’

उनका अनुसार गत असार २८ गते विज्ञप्ति निकालेर ध्यानाकर्षण गराइएको थियो । भदौ २२ गते युनियन र व्यवस्थापनबीच सहमति भएपनि कार्यान्वयन भएका थिएनन् ।

कृषि विकास बैंक कर्मचारी संगठन नेपालका अध्यक्ष इन्द्रमणी घिमिरे चार वटा युनियनहरूसँग गत असारमा भएका सहमति कार्यान्वयनमा आनाकानी भएको बताउँछन् । तर, बैंक सञ्चालक समितिले कार्यान्वयन गर्ने सहमति भएपछि वार्षिकोत्सव मनाइएको उनको भनाइ छ ।

‘मागहरू समयमा पुरा गर्न जोडदार आवाज उठाइरहेका छौं, कर्मचारीलाई मोटिभेशन नहुँदा समस्या छ,’ उनले भने, ‘क वर्गका वाणिज्य बैंकमा कार्यरत सबै कर्मचारीको सेवा समान हुनु पर्छ, सरकारी बैंकमा कार्यरत कर्मचारी अन्य बैंकमा पलायन हुने स्थिती छ,’ उनले भने, ‘अहिले पनि कृषि विकास बैंकको सुविधाभन्दा अन्य बैंकको सेवा सुविधा धेरै छ, अब ‘क’ वर्गका सबै वाणिज्य बैंकको सेवा सुविधा समान किसिमको हुनु पर्छ ।

485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?