जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकका धनगढी कार्यालयका प्रमुख(निर्देशक) विनोद लेखकमाथि छानबिन सुरु

राष्ट्र बैंकका धनगढी कार्यालयका प्रमुख(निर्देशक) विनोद लेखकमाथि छानबिन सुरु

ढुकुटीको सिल तोडेको आशंकामा नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयका प्रमुख(निर्देशक) विनोद लेखकमाथि छानबिन सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयको ढुकुटीको सिल तोडेको आशंकामा उनीमाथि छानबिन सुरु भएको हो । राष्ट्र बैंक व्यवस्थापनले लेखकलाई बालुवाटारस्थित केन्द्रीय कार्यालयमा तानेर उनीमाथि छानबिन अघि बढाएको छ । ‘ढुकुटीको सिल तोडेको आरोप उहाँमाथि लागेको छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘हामीले उहाँलाई काठमाडौं तानेर छानबिन गरिरहेका छौं ।’

राष्ट्र बैंकले काठमाडौंबाट घटनाको अनुसन्धानका लागि टोली नै खटाएको थियो । उक्त टोलीको प्रारम्भिक अनुसन्धानले प्रमुख लेखकले बैंकको ढुकुटीको ढोकाको सिल तोडेको पाइएको प्रतिवेदन तयार पारेको थियो ।

राष्ट्र बैंकमा हरेक दिन साँझ ५ बजे ढुकुटीमा ताल्चासहित सिल लगाउने गरिन्छ । प्रदेशभरका बैंक तथा वित्तीय संस्थाले आफूसँग जम्मा भएको रकम सुरक्षाका लागि राष्ट्र बैंकमा राख्ने गर्छन् । साथै बैंक तथा वित्तीय संस्थालाई नगद सुविधा दिनका लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हुन्छ ।

ढुकुटीमा ताला लगाएर सिल मारेपछि त्यसको चाबी तीन जनाले बोक्छन् । कार्यालय प्रमुख, क्यासियर र कार्यालय प्रमुखले तोकेको व्यक्तिको जिम्मा दिइने यस्तो चाबीले ताला लगाएपछि त्यसमा काँचो धागोले बाँधेर लाहा छाप लगाउने गरिन्छ र केही साक्षीहरुलाई सनाखत गराउने गरिन्छ ।

त्यसरी राखिएको ढुकुटीको रकम कार्यालय समयपछि बिहान १० बजेसम्म नेपाली सेनाको सुरक्षा घेरामा रहेको हुन्छ । तर, केहि समयअघि उक्त सिल खोलिएको अवस्थामा फेला परेको थियो । लेखकले बिहान कार्यालय समयको सुरुमा सिल निकालेर फर्किएको पाइएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

3660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका