जोडिनुहोस
सोमवार, बैशाख ३१, २०८१
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी, के-के छन् सुविधा ?

लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी, के-के छन् सुविधा ?

तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । १ हजार ४ सयभन्दा धेरै पाहुना सहभागी सम्मेलनमा सहभागी उच्च पदस्थ अधिकारी, राजनीतिक दलका नेतृत्व र निजी क्षेत्रका प्रतिनिधिले नेपाल लगानीका लागि उपयुक्त स्थल भएको सन्देश प्रवाहमा अधिकतम समय खर्चिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले समेत एकैस्वरमा नेपालमा लगानीका लागि आह्वान गरे ।

लगानी सम्मेलनको पहिला दिन वातावरण प्रवाहमा महत्त्वपूर्ण देखिएको लगानी बोर्डको भनाइ छ । बोर्डका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार प्रधानमन्त्री दाहालले आइतबार नै विभिन्न देशका २२ वटा बढी प्रतिनिधिमण्डलसँग भेटघाट गरेका छन् । छुट्टाछुट्टै भएको भेटघाट तथा छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले करिब साढे दुई घण्टा समय बिताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले हरेक भेटमा मुलुकमा लगानीको वातावरण बनेको र यहाँ आएका लगानीकर्ताले राम्रो प्रतिफल पाएको जानकारी गराएका थिए । आइतबार उद्घाटन सत्रमा समेत उनले सोही सन्देश प्रवाह गर्ने जमर्को गरे । उनले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताए । उनले भने, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो ।’

लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा सरकार दृढ रहेको उनले बताए । सोही सन्दर्भमा हालै सरकारले कानुन परिमार्जन गरेको उनले उल्लेख गरे । नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र रहेको तीव्र रुपमा विस्तार भएको मध्यमवर्गीय जनसंख्याले उपभोक्ता वृद्धिको अपार सम्भावना देखाएको प्रधानमन्त्रीको भनाइ छ ।

देउवाले विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला रहेको भन्दै यसका लागि आह्वान गरे । उनले पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिमा बढी सम्भावना रहेको उल्लेख गरे । सरकारले नीतिहरू परिमार्जन र पुनर्संरचना गर्दा वातावरण बनाइरहेको र यसमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले समेत काम गरेको उनको भनाइ थियो । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य रहेको बताए । उनले नेपालका आर्थिक सूचक स्थिर र सकारात्मक गएको भन्दै आश्वस्त पार्न खोजेका थिए । राजनीतिक दलहरुको सहमतिमा ऐनहरूमा गरिएको संशोधनबाट नेपाल लगानी भित्राउन कट्टिबद्ध रहेको सन्देश प्रवाह भएको उनको दाबी छ ।

निजी क्षेत्रको होस्टेमा हैंसे

लगानी सम्मेलनमा यस पटक निजी क्षेत्र सहआयोजकका रुपमा रहेको छ । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एक स्वरमा सरकारको समर्थन गर्दै लगानीका लागि आह्वान गरे ।महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आह्वान गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीको सम्भाव्य क्षेत्रबारे चर्चा गरेका थिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सस्तो श्रमशक्ति, छिमेकी मुलुक भारत र चीनको उपभोक्ता बजार लगायत कारण नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताए ।

सम्मेलनका क्रममा आज दुईवटा सम्झौता सम्पन्न भएका छन् । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बीएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष थायन लाईले हस्ताक्षर गरेका छन् ।

दिनभर छलफल र प्रदर्शनी

प्रत्यक्ष वैदेशिक लगानी तथा सार्वजनिक–निजी साझेदारी अवधारणामा अघि बढाउन खोजिएको आयोजनाहरूको प्रदर्शनी विभिन्न प्रदर्शनी कक्षहरूमार्फत कार्यक्रम अवधिभर चलेको थियो ।

१४ सयभन्दा धेरै सहभागी सम्मेलन स्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका छन् । सहभागी एवम् लगानीकर्ताले ती प्रद्धर्शनीकक्षमार्फत विभिन्न परियोजनाका बारेमा विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । सम्मेलनका क्रममा आशयपत्र आह्वान गरिएका १९ वटा परियोजनासहित कुल एक सय ५४ परियोजना प्रस्तुत गरिएका छन् ।

को कसको रह्यो सहभागिता ?

उद्घाटन समारोहमा नेपालका लागि चीनका राजदूत चेन सोङ, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनलगायतले सम्बोधन गरे ।युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव रेबेका ग्रेन्सपान, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा भारतीय उद्योग परिसंघको प्रतिनिधिमण्डलको नेतृत्व गरेका सुप्रतिम दत्ता र यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केशपले सम्बोधन गरे । एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) कार्यबाहक उपाध्यक्ष रजत मिश्रलगायतले सम्बोधन गरेका थिए ।

यसैगरी चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष तथा महाप्रबन्धक सुशील शर्मा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलगायतले पनि सम्बोधन गरेका थिए । उद्घाटनसत्र पश्चात दुई मुख्य सत्रहरू ‘नेपालमा लगानीका सम्भावनाको खोजी’ तथा ‘नेपालमा लगानी सफलताका कथा’ सञ्चालन भएका थिए । जसमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, डा. प्रकाशशरण महत, सांसद डा. स्वर्णिम वाग्लेसहितका वक्ताले भाग लिएका थिए । सम्मेलनका क्रममा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय साइडलाइन बैठकहरू सम्पन्न भएको लगानी बोर्डले जनाएको छ ।सम्मेलन सोमबारसम्म चल्ने छ ।

275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका