
सेयर बजारमा साना तथा मझौला संगठित संस्था(एसएमई)प्लेर्टफर्म सञ्चालनका लागि नेपाल स्टक एक्सचेन्जले विनियमावलीको मस्यौदा तयार पारेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा पठाएको छ। सेबोनले विनियमावलीको मस्यौदा स्वीकृत गरेपछि नेप्सेले एसएमई प्लेर्टफर्म सञ्चालन गर्नेछ।
‘एसएमई प्लेर्टफर्म सञ्चालनका लागि विनियमावलीको मस्यौदा नेप्से सञ्चालक समितिबाट पास गरेर स्वीकृतिका लागि हामीले सेबोनमा पठाएका छौं। त्यहाँबाट स्वीकृत भएर आएपछि कार्यान्वयनमा लैजान्छौं,’ नेप्सेका एक अधिकृतले भने। मस्यौदामा कारोबार सञ्चालनको विषय समेटिएको छ। सरकारले गत वर्ष साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली बनाएर पुँजी परिचालनको बाटो खुलाएकामा नेप्सेले अहिले प्लेटफर्म सञ्चालन गर्न लागेको हो।
सेबोनले नेप्सेले पठाएको मस्यौदा स्वीकृत गर्न बाँकी रहेको बताएको छ। ‘विनियमावलीको मस्यौदा सेबोनमा आएको छ। तर, सेबोनबाट स्वीकृत भइसकेको छैन। सञ्चालक समितिमा छलफल भएपछि स्वीकृतिको प्रक्रियामा जाला,’ सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले भने। सेबोनले स्वीकृत गरेपछि कार्यविधि बनाएर कार्यान्वयनमा आउनेछ। अहिले ठूला साना कम्पनीको सेयर एउटै प्लेटफर्म नेप्से इन्डेक्समार्फत कारोबार हुने गरेको छ। बजारमा एसएमई लगानीको नयाँ उपकरण बन्न सक्ने लगानीकर्ताको बुझाइ छ।
एसएमईको धितोपत्र निष्कासन तथा कारोबार नियमावली बनेपछि कार्यान्वयन गर्न सेबोनले पोहोर नै नेप्से र सीडीएससीलाई पत्राचार गरेको थियो। तर, नियमावलीले बाटो खुला गरे पनि विनियमावली तयार नहुँदा प्लेटफर्म सञ्चालनमा आएको छैन।एसएमई प्लेटफर्ममा आउने कम्पनीका लागि अधिकतम चुक्ता पुँजी २५ करोड रुपैयाँ तोकिएको छ। बजार र कम्पनीको अवस्था हेरेर कम्पनीको चुक्ता पुँजीको सीमा हेरफेर गर्न सकिन्छ।
यसका लागि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था नियमावलीमा छ। कम्पनीले जारी पुँजीको न्यूनतम ३० देखि अधिकतम ४९ प्रतिशतसम्म आइपीओ बिक्री गर्नुपर्ने सीमा तोकिएको छ। अहिले कार्यान्वयनमा रहेको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भने बजारमा आउने कम्पनीले १० देखि ४९ प्रतिशत सेयर निष्कासन गर्नुपर्छ।
एसएमई कम्पनीलाई आइपीओ निष्कासनमा सहुलियत दिइएको छ। कम्पनीहरुले रेटिङ नगरी आइपीओ निष्कासन गर्न सक्ने व्यवस्था छ। एसएमई कम्पनीको आइपीओमा न्यूनतम् ५०० कित्ताका लागि आवेदन दिनुपर्छ। अहिले अरु कम्पनीको आइपीओमा १० कित्ताका लागि आवेदन दिए हुने व्यवस्था छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार















































