
प्रधानमन्त्री बालेन्द्र शाहले डर तथा प्रभावमा नरही काम गर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई निर्देशन दिएका छन्। सोमबार दिनभरी भेटघाटमा रहेका प्रधानमन्त्री शाहले मध्यान्ह गभर्नर पौडेलसँग भेटेका थिए।
प्रधानमन्त्री शाहले धेरै पटक देशका लागि गर्नुपर्ने आवश्यक काम कसैसँग नडराइ गर्न भनिरहेका थिए। उनले ऋण दुरुपयोग गर्ने, सम्पत्ति शुद्धीकरणका क्षेत्रमा गलत अभ्यास गर्नेहरुलाई कारवाही गर्न नडराउन आशयले गभर्नरलाई निर्देशन दिएका थिए।
अहिले सरकारले सम्पत्ति शुद्धीकरणमा संलग्न बिचौलियादेखि ऋण दुरुपयोग गरेर सम्पत्ति बढाएकाहरुको अनुसन्धान तीव्र बनाएको छ। सरकारका सबै निकाय सम्पत्ति शुद्धीकरण विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलगायतले वित्तीय अपराधको अनुसन्धान गर्ने काम थालिसकेका छन्। नेपाल राष्ट्र बैंकलाई पनि सरकारले अनुसन्धानमा एक्टिभ गराउन खोजेको छ।
करिब एक घण्टा भएको छलफललाई गभर्नर कार्यालयले भने नवनियुक्त प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ का रुपमा उल्लेख गरेको छ। ‘प्रधानमन्त्रीसँग पहिलो भेटमै गर्नुपर्ने धेरै कुरा हुँदैन, गभर्नर’साबको शिष्टाचार भेट मात्र हो,’ पौडेलको सचिवालय स्रोतले भन्यो।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, भेटमा प्रधानमन्त्रीले अमेरिका-इजरायल र इरान युद्धका बारेमा जिज्ञासा राखेका थिए। करिब एक घण्टा प्रधानमन्त्री शाह र उनका सल्लाहकारहरुसँग रहेका गभर्नरले ४० प्रतिशत रेमिटेन्स पठाउने क्षेत्रमा भएको युद्धले नेपाली अर्थतन्त्रमा पर्ने र परिरहेका असरका बारेमा व्याख्या गरेका थिए।
उनले नेपालका प्रमुख आर्थिक सूचकांकहरु उद्धृत गर्दै सार्वजनिक वित्तमा सुधार गर्नुपर्ने र त्यसका लागि नेपाल राष्ट्र बैंकले सघाउन सक्ने बताएका थिए। उनले नेपाल सरकारको सम्पतिका रुपमा राष्ट्र बैंकको खातामा ऐतिहासिक उच्च तहमा विदेशी मुद्राको सञ्चिति रहेको बताएका थिए।
प्रधानमन्त्री शाहले आर्थिक विकासका लागि के-के गर्न सकिन्छ भनेर पनि गभर्नरलाई सोधेका थिए। उनले छोटो समयमा धेरै काम गर्नुपर्ने बताउँदै कहाँ के समस्या छन्, त्यसको समाधान के हुन् र त्यसलाई सरकारले कसरी सजिलो बनाइदिन सक्छ भनेर पनि सोधेका थिए। ‘डरत्रास नमानी काम गर्न प्रधानमन्त्रीले भन्नुभयो,’ उच्च स्रोतले भन्यो, ‘गभर्नरले पनि कसरी अगाडि बढ्न सकिन्छ भनेर आफ्ना सुझावहरु राख्नुभयो।’
गभर्नरले सुरुवातदेखि नै आफू ठूला पूर्वाधार निर्माण गरेर आर्थिक विकास गर्न सकिने पक्षमा रहेको बताएका थिए। उनले ठूला पूर्वाधारमा काम गर्न सके खर्च नहुने समस्याबाट मुक्त भइने र देशले पनि चाँडै काँचुली फेर्ने बताएका थिए।
उनले केही परियोजनाहरुको उदाहरण नै प्रस्तुत गरेर प्रधानमन्त्रीलाई २ देखि ३ वर्षमा काम गर्न सकिने र त्यसले राम्रो नतिजा दिने बताएका थिए।
प्रधानमन्त्रीसँगको भेटमा गभर्नरले रिक्त रहेको डेपुटी गभर्नरका विषयमा भने कुरा नगरेको प्रधानमन्त्री कार्यालय स्रोतले दाबी गर्यो। ‘प्रधानमन्त्रीले अर्थतन्त्रको अवस्था, आर्थिक विकास लगायतका बारेमा बुझ्न खोज्नु भएको हो,’ उच्च स्रोतले भन्यो, ‘त्यही भएर पनि होला डेपुटी गभर्नरका बारेमा कुरा भएन।’
काठमाडौंदेखि रक्सौलसम्म रेलमार्ग बनाउने कुरा उठेको थियो। त्यहाँ गभर्नरले ‘क्यापिटलबाट क्यापिटल’ जोड्ने कुरामा सरकारले ध्यान दिनुपर्ने भन्दै काठमाडौंबाट दिल्लीसम्मको रेलमार्गका कुरा गरेका थिए। ‘काठमाडौंदेखि वीरगञ्जसम्म नेपाल सरकारले बनाउने र त्यहाँबाट उता दिल्लीसम्म भारत सरकारले बनाइदिनेगरी कुरा गर्न सकिन्छ,’ गभर्नरको भनाइ उदृत गर्दै स्रोतले भन्यो।
गभर्नरले खर्च बढाउनका लागि काठमाडौंदेखि पोखरासम्म फास्टट्रयाक निर्माण गर्न सकिने पनि बताए। ‘हामीले २०० अर्बको परियोजना अहिले थाल्दा पहिलो वर्ष त्यो सबै चाहिने होइन। २०/३० अर्ब मात्रै खर्च हुने हो,’ उनको भनाइ उदृत गर्दै सचिवालयले भन्यो, ‘त्यो जुटाउन गाह्रो पनि हुँदैन।’
आइतबार मात्र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग गभर्नरले द्विपक्षीय छलफल गरेका थिए। त्यहाँ बजेट निर्माण, राजस्व परिचालन लगायतका बारेमा छलफल भएको थियो।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































