
राजनीतिक दलहरुको संरक्षणमा बिचौलिया राज चलाउँदै आएका विवादास्पद व्यवसायी दीपक भट्ट अध्यागमन विभागको कालोसूचीमा परेका छन्। विभागले मंगलबार भट्टको पासपोर्ट रोक्का गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा भट्टलाई कालोसूचीमा राखेको विभागका एक कर्मचारीले जानकारी दिए। ‘भट्टको सम्पत्तिलाई लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको जानकारी गराउँदै उनलाई विदेश जानबाट रोक्न पत्र पठाएको थियो। त्यही पत्रका आधारमा हामीले उनलाई कालोसूचीमा राखेका हौं,’ अध्यागमनका ती कर्मचारीले भने।
एमाले, कांग्रेस र तत्कालीन माओवादीले संरक्षण गर्दै आएका ‘बिचौलिया’ भट्ट र उनको प्रिपेड समूहमाथि गैरकानूनी सम्पत्ति आर्जनको विषयलाई लिएर सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान तीव्र बनाएको छ।
विभागको अनुसन्धानमा भट्टले सम्पत्ति शुद्धीकरण गर्नका लागि बैंकिङ र बीमा सम्बन्धी कसुर, राजस्व छली, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी जस्ता कार्य गरेको भेटिएको छ।
निवर्तमान अर्थमन्त्री रामेश्वर खनालको निर्देशन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चासोमा विभागले भट्ट र उनको प्रिपेड समूहमाथिको अनुसन्धानलाई तीव्र बनाएकामा बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेपछि त्यसलाई थप ‘गियरअप’ दिइएको स्रोतले बतायो।
भट्टको बैंक खाता निगरानीदेखि सेयर रोक्कासम्मको कारवाही पनि अगाडि बढेको छ।
भट्टसँगै उनकी श्रीमती आयुस्मा नेपाल, सासुआमा अन्जना नेपाल, प्रिपेड समूहका अर्का संस्थापक शंकरलाल अग्रवाल, उनका छोराहरु सुलभ र साहिल तथा सुलभकी श्रीमती शुभी अग्रवालमाथि अनुसन्धान तीब्र बनाइएको छ।
उनीहरुसँग मिलेर फाइदा लिएका र उनीहरुलाई सहयोग गरेकाहरुमाथि पनि विभागले अनुसन्धान अन्तिम चरणमा पुर्याइसकेको छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकलम दाहालबाट पालितपोषित भट्टमाथि जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वकव सरकारले अनुसन्धान अगाडि बढाएको थियो।
अघिल्ला अर्थमन्त्री रामेश्वर खनालले अनुसन्धानलाई तीव्रता दिन लगाएकामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अनुसन्धानलाई टुंगोमा पुर्याएर कारबाही गर्न भनेका छन्।
सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले भट्ट र उनको लगानी रहेकाका कम्पनीको सेयर रोक्का गरिसकेको छ।
नेपाल राष्ट्र बैंकले पनि भट्ट, उनको एकल स्वामित्वको कम्पनी इन्फिनिटी होल्डिङ्स्, उनकी श्रीमती आयुस्मा, सासुआमा अञ्जना नेपाल, एलियन्ट ब्रोकर्स इन्स्योरेन्स, शंकर समूहका अध्यक्ष शंकर, उनका छोराहरु साहिल र सुलभका साथै मृदुला सरियासम्मको बैंक खाता निगरानीमा राखेको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































