आर्थिक विशेष
महासंघ निर्वाचन : ७३ पदका लागि १४१ उम्मेदवारी, वर्तमान र भावी अध्यक्षबिच भिडन्त !

नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । आगामी चैत अन्तिम साता हुने निर्वाचनका लागि व्यवसायीहरूका बिचमा चुनावी सरगर्मी बढेको छ । संशोधित विधानले ल्याएको नयाँ व्यवस्था र फेरिएको नेतृत्व चयनको प्रक्रियाबिच चैत २९ र ३० गते हुने ६०औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने छ । नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता सकिएको छ । महासंघको चुनावमा ११८ जनाले उम्मेदवारी दिएका छन् । कुल ७३ पदमा हुने निर्वाचनमा १४१ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए ।
पहिलोपटक महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्ने व्यवस्था छ । जिल्ला–नगरतर्फ दुई जना उपाध्यक्ष रहने व्यवस्था छ । महासंघको कार्यसमितिमा दुई जिल्ला–नगर, वस्तुगत, एसोसिएट र महिला गरी पाँचजना उपाध्यक्ष निर्वाचन हुनेछ ।
वरिष्ठ उपाध्यक्षको चयन भने कार्यकारिणी समितिले गर्ने व्यवस्था छ । यसबिचमा वरिष्ठ उपाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था गरिएको थियो । तर अब कार्यकारिणी समितिले चयन गर्ने छ ।
महासंघको विधानअनुसार यो पटक उपाध्यक्षहरू र केन्द्रीय सदस्यसहित संस्थापक र द्विराष्ट्रिय पदमा मात्रै निर्वाचन हुन लागेको छ । वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र भावी अध्यक्ष अञ्जन श्रेष्ठको शक्ति सन्तुलनका बिच नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । निर्वाचनमा दुवै समूह जित निकाल्ने दाबी गरिरहेका छन् ।
महासंघमा विगतका वर्षजस्तो यस पटक आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछैन। विधान संशोधन गरी हालका वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने र त्यसपछिको अध्यक्ष भने प्रत्यक्ष निर्वाचनबाट छान्ने व्यवस्था गरेको छ। हाल महासंघमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ रहेका छन्। विधानतः चैत ३० गतेपछि श्रेष्ठ महासंघको अध्यक्ष बन्नेछन् ।
अध्यक्षमा प्रत्यक्ष निर्वाचन धेरै खर्चिलो र भड्किलो बनेको भन्दै वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष हुने प्रावधान राखिएको थियो। तर वरिष्ठ उपाध्यक्षमा पनि यस्तै प्रवृत्ति कायम रहँदा पुरानै व्यवस्थामा महासंघ फर्किएको छ ।
विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा यस व्यवस्थाअनुरुप पहिलो अध्यक्ष बनेकी थिइन्। त्यसपछि वरिष्ठ उपाध्यक्षबाट शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल अध्यक्ष बनिसकेका छन्। महासंघमा यसपटक दुई मुख्य समूहबिच तीव्र प्रतिस्पर्धा देखिएको छ । एकतर्फ वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको बलियो समर्थन पाएको ’हेमराज ढकाल समूह’ छ भने अर्कातर्फ आगामी अध्यक्ष बन्न लागेका अञ्जन श्रेष्ठको सहानुभूति र समर्थन पाएको ’शिवप्रसाद घिमिरे–प्रबलजंग पाण्डे समूह’ चुनावी मैदानमा उत्रिएको छ ।
वस्तुगत उपाध्यक्ष हेमराज ढकालले आफ्नो प्यानल घोषणा चुनावी मैदानमा छन् । उनलाई वर्तमान अध्यक्ष चन्द्र ढकालको पूर्ण समर्थन छ । यो समूहले आफूलाई संस्थागत निरन्तरता र सुधारको पक्षधरका रूपमा उभ्याएको छ ।
ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, एशोसिएटसतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महिला उपाध्यक्षमा कमला श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पाना गैरेले उम्मेदवारी दिएका छन् । नरेशलालको समूहमा कृषि, पर्यटन, निर्यात, आईटी र पुँजी बजारका व्यवसायीहरूको बाहुल्यता छ ।
वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन पाएको समूहले पनि आफ्नो टिमलाई बलियो बनाउँदै उम्मेदवारी दर्ता गराएको छ । यो समूहबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरेले नेतृत्व गरिरहेका छन् भने एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला/नगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा चुनावी प्रतिस्पर्धामा छन् । शिव घिमिरेले निर्वाचित भएमा महासंघको सचिवालय सुधार गर्ने र निजी क्षेत्रको गुनासो सुन्ने छुट्टै एकाइ स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति स्वतः अध्यक्ष बन्नेछैनन्। तर पनि आगामी अध्यक्षको रुपमा आफूलाई दाबेदारी कायम राख्न व्यवसायीहरूले वरिष्ठ उपाध्यक्ष पदलाई मुख्य प्राथमिकता दिइरहेका छन्।
हालसम्म वरिष्ठ उपाध्यक्षका लागि महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले दाबेदारी छन्। उनले आफ्नो समूहको टिम नै घोषणा गरेर मैदानमा उत्रिसकेका छन्। ढकाललाई वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले खुलेरै समर्थन गरेको देखिन्छ ।
अर्कातर्फ रामचन्द्र संघाईको नाम पनि वरिष्ठ उपाध्यक्षका लागि चर्चामा छ । संघाई अघिल्लो पटक वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । यो पटक पनि उनी भावी अध्यक्ष श्रेष्ठको समूहमा वरिष्ठ उपाध्यक्षको चर्चा छ । तर उक्त समूहमा जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यको पनि दाबी रहेको छ ।
कार्यकारिणी समितिले निर्वाचित गर्ने हुँदा निर्वाचनपछि संघाई वा वैद्यको वरिष्ठमा जाने भन्ने अन्योल कायम छ । संघाई र वैद्य दुवैको वरिष्ठमा दाबी रहँदै आएको छ । वरिष्ठ उपाध्यक्षका आकांक्षीहरू पनि निर्वाचित भएर आउने कार्यकारिणी सदस्यहरूको मन जित्न लबिङ र देशव्यापी दौडाहा तीव्र पारेका छन्।
वरिष्ठ उपाध्यक्ष पदको चयन अलि जटिल छ । साधारण सदस्यले भोट हालेर सिधै वरिष्ठ उपाध्यक्ष छान्ने छैनन् । बरु निर्वाचित भएर आउने कार्यकारिणी सदस्यहरूले यो पदको निर्वाचन गर्नेछन् ।
कार्यकारिणी सदस्यमा कुन प्यानलको बहुमत पुग्छ । त्यसैले वरिष्ठ उपाध्यक्षको भाग्य फैसला गर्नेछ । अहिले वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाई, हेमराज ढकाल र सुरकृष्ण वैद्यको नाम चर्चा छ । संघाईले आफ्नो प्यानल औपचारिक रूपमा घोषणा नगरे पनि भित्री रूपमा ठूलो लबिङ गरिरहेको बुझिएको छ ।
एसोसिएटतर्फको प्रतिस्पर्धा झन् रोचक बनेको छ । प्रबलजंग पाण्डे र ज्योत्सना श्रेष्ठबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । पाण्डे समूहबाट १९ जना सदस्य पदका लागि बलियो व्यवसायीहरूको सूची छ । श्रेष्ठको समूहले पनि प्रतिष्ठित व्यवसायीहरूलाई आफ्नो पक्षमा पारेको छ । एसोसिएटमा १९ जना सदस्यका लागि ३५ जनाको उम्मेदवारी परेको छ ।
पाण्डे समूहलाई अञ्जन श्रेष्ठ पक्षको साथ रहेको देखिन्छ भने श्रेष्ठलाई हेमराज र चन्द्र ढकाल पक्षको समर्थन छ। पाण्डे कार्यकारिणी सदस्य हुन भने श्रेष्ठ अहिले पनि एसोसियट उपाध्यक्ष हुन । पाण्डे र श्रेष्ठबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
पाण्डे समूहबाट कार्यकारिणी सदस्यमा हेमन्त गोल्छा, अम्बिका प्रसाद पौडेल, राजेश कुमार अग्रवालजस्ता हस्तीहरू मैदानमा छन् । यता ज्योत्सना श्रेष्ठको समूहबाट अविनास बोहोरा, देशबन्धु बस्नेत र भरत रानाभाट जस्ता व्यवसायीहरूले उम्मेदवारी दिएका छन्।
वस्तुगततर्फ पनि दुई प्यानल स्पष्ट देखिएका छन्। अञ्जन श्रेष्ठको समर्थन प्राप्त शिवप्रसाद घिमिरेको समूहले उम्मेदवारी दर्ता गराएको छ । घिमिरेले निर्वाचित भएपछि महासंघको सचिवालय सुधार गर्ने र निजी क्षेत्रका गुनासो सुन्ने छुट्टै एकाइ स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै, वस्तुगततर्फ नरेशलाल श्रेष्ठको प्यानलले कमला श्रेष्ठ, सुबोधकुमार गुप्ता र लिलेन्द्र प्रधान जस्ता अनुभवी व्यवसायीहरूलाई मैदानमा उतारेको छ । यो समूहले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी टिम बनाएको दाबी गरेको छ ।
नयाँ व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष (आगामी अध्यक्ष) बाहेक अन्य कार्यसमिति सदस्यहरू साधारणसभाबाट चुनिएर आउनेछन्। नयाँ विधान अनुसार पदाधिकारीमा १ वरिष्ठ उपाध्यक्ष, ५ जना उपाध्यक्ष र कोषाध्यक्ष रहने व्यवस्था छ। सात पदाधिकारीमध्ये ४ उपाध्यक्ष साधारण सदस्यको मतबाट निर्वाचित हुनेछन्।
वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचित कार्यकारिणी समितिले चयन गर्नेछ। वरिष्ठ उपाध्यक्ष कुनै पनि सदस्य समूहमध्येबाट कम्तीमा ३ कार्यकाल सदस्य भइसकेको बहालवाल कार्यकारिणी समिति सदस्य वा एक कार्यकाल पदाधिकारी भइसकेकोमध्येबाट चयन गर्नुपर्नेछ।
विधानअनुसार एसोसियट्स द्विराष्ट्रिय एक जना उपाध्यक्ष रहनेछ। यसका लागि २० वटाभन्दा बढी द्विराष्ट्रिय संघहरू सदस्य हुनुपर्छ । त्यस्तै, महिला उपाध्यक्ष सम्पूर्ण कार्यकारिणी समितिमध्येबाट निर्वाचित हुनेछ। दुई कार्यकाल सदस्य भइसकेको बहालवाल सदस्य मात्र उक्त पदमा उम्मेदवार बन्न सक्ने व्यवस्था छ ।
कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष एक जना हुने विधानमा उल्लेख छ । महासंघमा रहने एक जना कोषाध्यक्ष सम्पूर्ण कार्यकारिणी समितमध्येबाट चयन हुनेछ र कम्तीमा दुई कार्यकाल सदस्य भइसकेको बहालवाला सदस्य मात्र उक्त पदमा उम्मेदवार बन्न सक्नेछ।
सात प्रदेशका एक/एक अध्यक्ष सबै सदस्य हुन्छन्। उद्योग वाणिज्य संघहरूको खुलातर्फबाट कम्तीमा दुई जना महिलासहित १७ जना, उद्योग वाणिज्य संघ सदस्यमध्ये प्रत्येक प्रदेशबाट निर्वाचित दुई जनाका दरले (प्रदेशगत उम्मेदवारी र समूहगत निर्वाचित हुने) सात प्रदेशबाट १४ सदस्य हुने विधानमा व्यवस्था छ।
यस्तै वस्तुगत तर्फबाट निर्वाचित हुने कम्तीमा एक जना महिला सहित १४ जना, वस्तुगत महासंघमा १५ भन्दा बढी सदस्य भएमा निर्वाचित हुने २ जना, द्विराष्ट्रिय संघहरूबाट निर्वाचित १ जना र एसोसिएट्स सदस्यमध्येबाट कम्तीमा २ जना महिला सहित १७ जना सदस्य नियुक्त हुनेछन्।
महासंघद्वारा प्रवद्र्धित नेपाल युवा उद्यमी मञ्चको (पदेन) अध्यक्ष, संस्थापक सदस्यहरू १२ मध्येमा २ जना सदस्य र अध्यक्षद्वारा मनोनीत सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा २ जना महिला सहित ७ जना सदस्य रहनेछन्।
मुलुकको अर्थतन्त्र शिथिल भएको समयमा हुन लागेको यो निर्वाचनले निजी क्षेत्र र सरकारबिचको पुलको काम गर्ने नेतृत्व चयन गर्नुपर्ने चुनौती छ । व्यवसायीहरूको साझा संस्था महासंघमा पदका लागि मात्र नभई, झन्झटिलो कानुनको संशोधन, लगानीमैत्री वातावरणको सिर्जना र साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न सक्ने जुझारु नेतृत्व अहिलेको आवश्यकता भएको व्यवसायीहरू बताउँदै आएका छन् ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































