जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • भट्टको प्रभावले लाइसेन्स पाएको कम्पनीमा लगानीबारे सुधनले भनेः सबै कारोबार बैंकमार्फत गरेर सेयर लिएँ

भट्टको प्रभावले लाइसेन्स पाएको कम्पनीमा लगानीबारे सुधनले भनेः सबै कारोबार बैंकमार्फत गरेर सेयर लिएँ

व्यवसायी दीपक भट्टसँगको साझेदारीमा विभिन्न कम्पनीमा गरेको सेयर लगानीलाई लिएर सार्वजनिक भएका विवाद र प्रश्नहरूबारे गृहमन्त्री सुधन गुरूङले स्पष्टीकरण दिएका छन् । आफूमाथि लागेका आरोपहरूलाई तथ्यहीन भन्दै उहाँले ती विषयलाई सरल भाषामा स्पष्ट पार्ने प्रयास गरेका हुन् । ‘२५ लाखको सेयर लुकाइएको’ भन्ने आरोपको खण्डन गर्दै उनले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको धितोपत्र लगानी स्पष्ट उल्लेख गरिएको बताएका छन्।

स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही २ करोडको समूहभित्रै पर्ने उनको दाबी छ । उनले भनेका छन्, ‘लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गर्दैन । यो लुकाउने विषय नभएर वर्गीकरणको मात्र कुरा हो ।’ मन्त्री हुनुअघि नै सेयर खरिद गरिएको स्पष्ट पार्दै उनले सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको उल्लेख गरेका छन् । लगानीको स्रोतबारे प्रश्न उठेपछि उनले वि.सं. २०८०/०५/२९ को लिखित तमसुकमार्फत ऋण (कर्जा) लिएर सो रकम जुटाइएको र त्यसको पूर्ण रेकर्ड बैंकमा सुरक्षित रहेको जानकारी दिएका छन् ।

विवादास्पद व्यक्ति व्यवसायी दीपक भट्टसँगको साझेदारी भनिएको विषयमा टिप्पणी गर्दै उनले कुनै पनि कम्पनीको सेयरधनी हुनु भनेको त्यहाँका सबै हजारौं सेयरहोल्डरहरूसँग व्यक्तिगत साझेदारी नगरेको तर्क गरेका छन् । ‘यदि सेयरहोल्डर हुनु नै दोषी हुनु हो भने सोही कम्पनीमा लगानी गर्ने बैंक र मिडिया हाउसहरूलाई पनि सोही नजरले हेर्नुपर्ने हुन्छ,’ उनले भनेका छन् । साथै, स्वार्थको द्वन्द्वबारे उठेका प्रश्नमा उनले यसको छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको बताए । प्रक्रिया अवरुद्ध नभएको र छानबिन चलिरहेकाले आफूले कुनै हस्तक्षेप नगरेको उनको जिकिर छ । आफूविरुद्ध भएका प्रचारहरूलाई ‘सुविधा अनुसारको व्याख्या’ भन्दै उनले हल्लाको पछि नलाग्न आग्रह गरे । व्यापारिक लगानीमा भविष्यको जोखिम पूर्वानुमान गर्न नसकिने भन्दै उनले पछि हुने घटनालाई अघि गरिएको निर्णयको दोष मान्न नसकिने बताए ।

उनले पार्टीले गर्ने हरेक निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा सघाउन आफू सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु । सहिदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म बुझेर हामी हल्लामा होइन, प्रमाणमा उभिनुपर्छ,’ उनले सामाजिक सञ्जालमार्फत् दिएको स्पष्टीकरणमा उल्लेख छ ।

के हो घटना ?

सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र गृहमन्त्री गुरूङबीच व्यावसायिक साझेदारी रहेको देखिएको थियो । भट्टको प्रभावमा लाइसेन्स पाएका २ लघुबिमा कम्पनीमा गृहमन्त्री गुरूङको ठूलो हिस्सा सेयर रहेको पाइएको हो । तर, उनले यसलाई गृहमन्त्री नियुक्त भएपछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा भने देखाएका थिएननन् । धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरण उनले सार्वजनिक गरेका छन् । तर, उनले कुन कम्पनीमा कति लगानी रहेको छ भन्ने विवरण खुलाएका थिएनन् । गृहमन्त्रीमा नियुक्त हुनुभन्दा अगाडि उनले दोस्रो बजारबाट लगातार सेयर किनेको पाइएको हो । यस्तै दीपक भट्टको प्रभावमा लाइसेन्स पाएका २ लघुबिमा कम्पनीको संस्थापक सेयरधनी समेत रहेको खुलेको छ ।

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर लगतमा गृहमन्त्री गुरूङको नाममा २५ लाख रूपैयाँ बराबरको २५ हजार कित्ता संस्थापक सेयर रहेको देखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको ४९औं नम्बरमा गोरखा, चुमनुब्री–२ स्थायी ठेगाना भएका सुधन गुरूङको नाम उल्लेख छ । उक्त कम्पनीको सञ्चालक समितिमा व्यवसायी दीपक भट्टको कम्पनी ‘इन्फिनिटी होल्डिङ्स’ की प्रतिनिधि प्रजुनी बज्राचार्य समेत रहेकी छन् । कम्पनीको मुख्य लगानीकर्तामा शंकर ग्रुपको नियन्त्रण रहेको हिमालखबरले प्रकाशित एक रिपोर्टमा उल्लेख छ । कम्पनीको मुख्य लगानीकर्ता लोबुचे इन्भेष्टमेन्ट कम्पनी र घान्द्रुक इन्भेष्टमेन्ट कम्पनी दुवै शंकर समूहकै रहेको हिमालखबरको रिपोर्टमा उल्लेख छ । यी २ कम्पनीको मात्रै ३० प्रतिशत सेयर स्वामित्व छ । यस कम्पनीमा कविता लोहियाको ५ लाख कित्ता र ओपी होल्डिङ्सको ५ लाख कित्ता सेयर रहेको छ ।

यसबाहेक शंकर ग्रुपकै जगदम्बा इन्टरप्राइजेजको पनि कम्पनीमा २ लाख ५० हजार कित्ता सेयर रहेको छ । यस्तै गुरूङले भट्टकै प्रभावमा लाइसेन्स पाएको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा पनि गुरूङको २५ हजार कित्ता संस्थापक सेयर रहेको सेयर लगतले देखाउँछ । हिमालखबरमा प्रकाशित रिपोर्टअनुसार यस कम्पनीमा पनि शंकर समूहको लाङटाङ इन्भेष्टमेन्ट कम्पनीको ११ लाख २५ हजार अर्थात् १५ प्रतिशत र पाल्दोर इन्भेष्टमेन्टको ११ लाख २५ हजार अर्थात् १५ प्रतिशत सेयर हिस्सा रहेको छ । कविता लोहियाको ६ लाख कित्ता र ओपी होल्डिङ्सको पनि ५ लाख कित्ता नै सेयर रहेको छ ।

गृहमन्त्री गुरूङले एक साताअघि सार्वजनिक गरेको सम्पत्ति विवरणमा यी दुई कम्पनीमा रहेको ५० हजार कित्ता सेयरबारेको विवरण उल्लेख छैन । उनले धितोपत्र बजारमा २ करोड ७४ लाख रूपैयाँको सेयर रहेको दाबी गरे पनि अनुसन्धानमा तानिएका सुलभ अग्रवाल र दीपक भट्टको प्रभावमा लाइसेन्स पाएका कम्पनीमा गृहमन्त्री गुरूङ साझेदारको रूपमा भए पनि सम्पत्ति विवरण सार्वजनिक गर्दा उक्त तथ्यलाई लुकाएको देखिन्छ ।

उनले ‘जेनजी’ आन्दोलनपछि र मन्त्री नियुक्त हुनुभन्दा ठीक अघिको अवधिमा दोस्रो बजारमा निकै सक्रिय भएर सेयर खरिद गरेको देखिन्छ । उनले २०८२ माघ १५ देखि चैत ८ गतेसम्मको अवधिमा दोस्रो बजारमा ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर खरिद गरेको पाइएको छ । उनले सबै सेयर ‘एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेड’ को मात्र खरिद गरेका हुन् । यसअघि दोस्रो बजारमा कहिल्यै कारोबार नगरेका गुरूङले मन्त्री बन्नुभन्दा अगाडि सेयर खरिद गर्नु र सम्पत्ति विवरणमा नखुलाउनुलाई अर्थपूर्ण र शंकाको दृष्टिकोणले समेत हेरिएको छ ।

गृहमन्त्री गुरूङ र हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टबीचको सम्बन्ध पुरानो हो । गुरूङ आफैं सञ्चालक रहेको ‘हामी नेपाली’ संस्थामा भट्ट र शंकर समूहका सञ्चालकहरू सुलभ र साहिल अग्रवालले आर्थिक सहयोग गर्ने गरेको देखिन्छ । हाल दीपक भट्टले भृकुटी स्टक ब्रोकरमार्फत् उधारोमा सेयर किनेको र सम्पत्ति शुद्धीकरणको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । भट्टसँगै सुलभ अग्रवालमाथि पनि अनुसन्धान भइरहँदा गृहमन्त्री गुरूङको उनै भट्ट र अग्रवालसँग व्यावसायिक सम्बन्ध रहेको देखिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहँदा, देशको शान्ति सुरक्षा र अनुसन्धानको कमान्ड सम्हाल्ने गृहमन्त्री नै उनीसँगको व्यावसायिक साझेदारीमा संलग्न हुनुले ‘स्वार्थको द्वन्द्व’ पैदा गरेको छ ।

265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका