
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार सार्वजनिक निर्माण सेवासम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी ४ करोड २२ लाख ७५ हजार बढी बराबरको घुस/रिसवत लिएको र सो रकम विभिन्न बैंक खातामार्फत लुकाई–छिपाई सम्पत्ति शुद्धीकरण गरेको पाइएको छ।
अनुसन्धानमा ती दुवै प्रतिवादीले ठेक्का कार्यमा सहजीकरण गरिदिने नाममा निर्माण सेवा कम्पनीहरूसँग घुस रकम लिई देउकला अधिकारीको बैंक खातामा पटक–पटक रकम जम्मा गरेको देखिएको आयोगले जनाएको छ।
त्यसरी प्राप्त अवैध रकम प्रयोग गरी काठमाडौँ र नुवाकोटमा जग्गा खरिद, सुन खरिद तथा विभिन्न व्यक्तिलाई भुक्तानी गरिएको समेत खुलेको छ। साथै बैंक चेकमार्फत रकम साटेर नगद कारोबार गर्ने, ऋण लगानी गर्ने र पछि नगदमै फिर्ता लिने जस्ता गतिविधिबाट अवैध आम्दानीको स्रोत लुकाउने प्रयास भएको आरोपपत्रमा उल्लेख छ।
आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत कडा सजाय, जरिवाना तथा सम्पत्ति जफतको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले दुवै प्रतिवादीमाथि घुस लिने, दिने तथा अवैध सम्पत्ति लुकाउने योजनाबद्ध गतिविधि प्रमाणित भएको दाबी गरेको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































