आर्थिक विशेष
‘व्यवस्थापनको मनपरी बन्द गर’ भन्दै कर्मचारीले नै गरे राष्ट्र बैंकको वार्षिकोत्सव बहिष्कार

नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले बैंकको ७१ औँ वार्षिकोत्सव कार्यक्रम बहिस्कार गरेका छन्। शुक्रबार केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित औपचारिक वार्षिकोत्सव समारोहलाई नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले पूर्ण रूपमा बहिस्कार गरेको हो। बैंक व्यवस्थापनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूले उत्सवमा सहभागी नहुने निर्णय गरेका हुन्। कर्मचारी संघका अनुसार आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन बढुवा प्रक्रियामा बैंकको उच्च व्यवस्थापनले गैरजिम्मेवार व्यवहार देखाएका कारण यो परिस्थिति सिर्जना भएको हो।
अघिल्लो वर्षको जेठमा नियुक्त भएका गभर्नर पौडेलले २०८२ सालको कर्मचारी बढुवा प्रक्रिया हालसम्म पनि सुरु नगरेपछि बैंकका तीनवटै संगठनहरू कर्मचारी संघ, वित्तीय संघ र कर्मचारी संगठनले विराेध जनाएका थिए। खासगरी, भदौमा भएको ‘जेन जी’ प्रदर्शन र त्यसपछिको राजनीतिक संक्रमण, तथा फागुन २१ को निर्वाचनलाई मध्यनजर गर्दै माघ २१ गतेभित्रै आन्तरिक मूल्यांकनको बढुवा प्रक्रिया टुङ्ग्याउनुपर्ने कर्मचारीहरूको माग थियो। तर, व्यवस्थापनले सो समयसीमाभित्र प्रक्रिया प्रारम्भसमेत नगरेपछि कर्मचारीहरू थप रुष्ट बनेका हुन्।
कर्मचारीहरुको यस्तै विरोध प्रदर्शन र नेतृत्वप्रति सशक्त आवाज उठ्ने तयारी भएको पाएपछि गभर्नर विश्वनाथ पौडेलले सोमबार आयोजित राष्ट्र बैंकको ७१ औँ वार्षिकोत्सव समारोहमा निजी क्षेत्रका सञ्चार संस्था र पत्रकारहरुलाई ‘प्रवेश निषेध’ गरिदिएका थिए । उनले बालुवाटारको राष्ट्र बैंकका अग्ला पर्खालभित्रै यी विरोधका स्वर र कालो ब्यानरलाई कुल्चिन खोजे पनि यी विवरणहरु बाहिर आएका छन् ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































