जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बैंकहरूको तेस्रो त्रैमासिक वित्तीय विवरण: नबिल बैंक नाफामा अग्रस्थानमा, कुमारीको छलाङ

बैंकहरूको तेस्रो त्रैमासिक वित्तीय विवरण: नबिल बैंक नाफामा अग्रस्थानमा, कुमारीको छलाङ

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नौ महिनाको अवधिमा नेपालका वाणिज्य बैंकहरूको औसत नाफामा सुधार देखिएको छ। सार्वजनिक वित्तीय विवरणअनुसार यस अवधिमा नबिल बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ भने कुमारी बैंकले नाफाको वृद्धिदरमा अभूतपूर्व छलाङ मारेको छ।

नबिल बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा गरेको नबिलले आफ्नो नाफामा उल्लेख्य वृद्धि गरेको हो। नाफाको वृद्धिदरमा भने कुमारी बैंकले सबैलाई उछिनेको छ। गत वर्ष २८ करोड ५८ लाख रुपैयाँ मात्र नाफा कमाएको कुमारीले यस वर्ष १३६१ प्रतिशतको वृद्धिसहित ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अन्य बैंकहरूको कार्यसम्पादन हेर्दा ग्लोबल आईएमई बैंकले ४ अर्ब ४० करोड ११ लाख नाफा कमाएको छ, यद्यपि यो गत वर्षको तुलनामा केही कम हो। प्राइम कमर्सियल बैंकले ३ अर्ब ८ करोड ९३ लाख रुपैयाँ नाफा कमाउँदै ३८.५८ प्रतिशतको वृद्धि हासिल गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा भने गिरावट देखिएको छ। यस बैंकले ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाफा बढाएर २ अर्ब ७६ करोड २० लाख रुपैयाँ पुर्‍याएको छ। निजी क्षेत्रका अन्य बैंकहरूमा सिद्धार्थ बैंकले २ अर्ब १ करोड, लक्ष्मी सनराइजले २ अर्ब ३ करोड, एनएमबी बैंकले २ अर्ब ६८ करोड र स्टान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएका छन्। हिमालयन बैंकले ७६ करोड २५ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड र सिटिजन्स बैंकले १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गर्दै सन्तोषजनक सुधार देखाएका छन्।

सबै बैंकको अवस्था उत्साहजनक भने देखिएन। प्रभु बैंकको नाफामा ५४.६१ प्रतिशतले कमी आई ८५ करोड १५ लाखमा खुम्चिएको छ। एनआईसी एशिया बैंकको नाफामा पनि १०.५ प्रतिशतको गिरावट आएर १४ करोड ३ लाख रुपैयाँ मात्र कायम भएको छ। नेपाल एसविआई बैंकले भने १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाउँदै २१.४९ प्रतिशतको वृद्धि दर्ता गरेको छ। समग्रमा बैंकिङ क्षेत्रले आर्थिक चुनौतीका बाबजुद पनि नाफा सञ्चितिमा केही सुधार गर्न सफल भएको देखिन्छ।

235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?