जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • महालक्ष्मी कर्पोरेट क्रिकेट लिग हुँदै

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग हुँदै

महालक्ष्मी विकास बैंकले आफ्नो स्थापनाको ३२ औं वर्ष प्रवेश गरेको सुखद अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ आयोजना गर्ने भएको छ । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गर्दै आएको यो प्रतिष्ठित क्रिकेट लिग यस वर्ष आगामी जेठ १७ गतेदेखि जेठ २० गतेसम्म काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू, विभिन्न बीमा कम्पनीहरूका साथै मर्चेन्ट बैंकहरूको उत्साहजनक सहभागिता रहने यो क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रकै एक प्रतिष्ठित र प्रतिक्षित खेलकुद प्रतियोगिताको रूपमा स्थापित भइसकेको छ ।

चार दिनसम्म निरन्तर चल्ने यस भव्य प्रतियोगितामा कुल ४५ वटा खेलहरू खेलिनेछन् भने विभिन्न वित्तीय संस्थाका २४० जना कर्पोरेट खेलाडीहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन् । यस संस्करणको क्रिकेट लिगमा ९ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ३ वटा वित्त कम्पनी, १ वटा लघुवित्त कम्पनी, ३ वटा बीमा कम्पनी र १ वटा मर्चेन्ट बैंक गरी कुल २४ वटा टोलीहरूको सहभागिता रहने सुनिश्चित भएको छ । प्रतियोगिताको विशेष उद्घाटन समारोह जेठ १७ गते आयोजना गरिनेछ भने समापन तथा पुरस्कार वितरण समारोह आगामी जेठ २२ गते भव्य रूपमा सम्पन्न गरिने बैंकले जनाएको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पूर्व प्रतियोगिता भेटघाट तथा टाई सिट सार्वजनिक कार्यक्रममा यस वर्षको विजेता तथा उपविजेताले प्राप्त गर्ने ट्रफी र टिम जर्सी आधिकारिक रूपमा सार्वजनिक गरिएको छ । सोही समारोहमा प्रतियोगितामा सहभागी हुन लागेका विभिन्न टोलीका कप्तानहरूलाई उनीहरूको टिम जर्सी समेत हस्तान्तरण गरिएको छ । लिग कम नक आउट ढाँचामा आयोजना हुने यस प्रतियोगितामा सहभागी २४ वटा टोलीलाई ६ वटा फरक-फरक समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट उत्कृष्ट खेल प्रदर्शन गर्दै शीर्ष स्थानमा रहने एक-एक टोली प्रतियोगिताको अर्को चरण अर्थात् ‘सुपर सिक्स’ मा प्रवेश गर्नेछन् । खेललाई थप रोचक र तीव्र प्रतिस्पर्धात्मक बनाउन प्रत्येक इनिङ्स १० ओभरको मात्र हुने नियम तय गरिएको छ ।

यस प्रतिष्ठित लिगमा वित्तीय क्षेत्रका अग्रणी संस्थाहरू माछापुच्छ्रे बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आयोजक महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, मञ्जुश्री फाइनान्स, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, सानिमा जीआईसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनआइएमबि एस क्यापिटल लिमिटेडका टोलीहरूले पनि उपाधिका लागि मैदानमा उत्रनेछन् ।

प्रतियोगिताको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने विजेता र उपविजेता टोलीका साथै व्यक्तिगत रूपमा उत्कृष्ट ठहरिने खेलाडीहरूलाई म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर र फेयर प्ले अवार्ड लगायतका विभिन्न विधामा आकर्षक पुरस्कार र ट्रफीहरू प्रदान गरिनेछ । खेलप्रेमीहरूका लागि प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण महालक्ष्मी विकास बैंकको आधिकारिक युट्युब च्यानलका साथै नेवा टेलिभिजन र नेवा टेलिभिजनको युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा गरिने व्यवस्था मिलाइएको छ । “सबल बैंक, सफल सहकार्य” को मुख्य नारालाई आत्मसाथ गर्दै विगत ३२ वर्षदेखि नेपाली जनताको घरदैलोमा अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका हाल देशभर १०३ वटा शाखा कार्यालयहरू रहेका छन् भने यसले करिब ८ लाख भन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?