जोडिनुहोस
सोमवार, असार ८, २०८३
सोमवार, असार ८, २०८३
  • होमपेज
  • १८ कम्पनीको रेटिङ ‘नेगेटिभ वाच’मा

१८ कम्पनीको रेटिङ ‘नेगेटिभ वाच’मा

वित्तीय अनियमितता, धितोपत्र, बीमा, बैंकिङ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालसहित विभिन्न व्यक्तिविरुद्ध अदालतमा अभियोग दर्ता भएपछि १८ वटा कम्पनीको क्रेडिट रेटिङ ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ (नकारात्मक प्रभावसहितको उच्च निगरानी) मा परेको छ। क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले ती कम्पनीहरूको रेटिङलाई निगरानीमा राखेको हो।

इन्फोमेरिक्स नेपालको विवरणअनुसार यी कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको कुल ऋण १ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढी छ। कम्पनीका प्रवर्तक तथा सञ्चालकविरुद्ध अनुसन्धान जारी रहेकाले वित्तीय, व्यवस्थापकीय तथा प्रतिष्ठागत जोखिम बढ्न सक्ने आकलन गर्दै रेटिङलाई उच्च निगरानीमा राखिएको हो।

उच्च निगरानीमा परेका कम्पनीहरूमा जगदम्बा हस्पिटालिटी ग्रुप, जगदम्बा अटो ग्रुप, जगदम्बा मोटर्स, जगदम्बा स्टिल्स, शौर्य सिमेन्ट इन्डस्ट्रिज, रिद्धि सिमेन्ट इन्डस्ट्रिज, हिमालयन लाइफ इन्स्योरेन्स, जगदम्बा मोबाइल्स र जगदम्बा हायर पर्चेज रहेका छन्। यसैगरी, हिमालयन इन्भेस्टमेन्ट बैंकर, जगदम्बा फ्लोर एण्ड एग्रो, हुलास फिनसर्भ हायर पर्चेज, गणपति वनस्पति, लिटमस इन्डस्ट्रिज, टेलिटक, टेली डाइरेक्टर, रामजानकी हाइड्रोपावर र वेदांशी इन्फ्रास्ट्रक्चर पनि उक्त सूचीमा छन्।

यस प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं जिल्ला अदालतमा दुईवटा अभियोगपत्र दर्ता भएका छन् भने पाटन उच्च अदालत र विशेष अदालतमा एक–एक वटा मुद्दा दायर गरिएको छ। जसमा बीमासम्बन्धी मुद्दामा ४२ जना, धितोपत्रसम्बन्धी मुद्दामा ८१ जना, सम्पत्ति शुद्धीकरण मुद्दामा ३९ जना तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा ५ जनालाई प्रतिवादी बनाइएको छ। यद्यपि, हालसम्म अदालतबाट कुनै पनि प्रतिवादी दोषी ठहर भइसकेका छैनन् र न्यायिक प्रक्रिया जारी छ।

अनुसन्धानमा परेका प्रमुख व्यक्तिहरूको भूमिका, सञ्चालक समितिमा हुन सक्ने परिवर्तन, व्यवस्थापनको निरन्तरता, तरलता अवस्था र कम्पनीको प्रतिष्ठामा पर्न सक्ने सम्भावित प्रभावलाई ध्यानमा राख्दै रेटिङलाई ‘नेगेटिभ वाच’मा राखिएको इन्फोमेरिक्सले जनाएको छ। कानुनी प्रक्रियाको अन्तिम परिणाम, कम्पनीहरूको सञ्चालनमा पर्ने वास्तविक प्रभाव तथा सुशासनको अवस्थाबारे थप स्पष्टता आएपछि आवश्यकताअनुसार रेटिङ पुनरावलोकन गरिने संस्थाले स्पष्ट पारेको छ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर