जोडिनुहोस
मङ्लबार, साउन १२, २०८३
मङ्लबार, साउन १२, २०८३

हालको खबर

  • होमपेज
  • नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार भएको सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र नगरपालिकाका नगरप्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ । यसका लागि नगरपालिकाले प्रतिकर्मचारी मासिक दुई हजार पाँच सय र कर्मचारीले पनि दुई हजार पाँच सय योगदान गर्नेछन् । यसरी प्रतिकर्मचारी मासिक पाँच हजार कोषमा जम्मा हुनेछ ।

सम्झौताअनुसार सहभागी कर्मचारीले कोषको नियमानुसार एकमुष्ट रकम लिन वा ६० वर्ष उमेर पूरा भएपछि पेन्सन सुविधा प्राप्त गर्न सक्नेछन् । पेन्सन लिन सुरु गरिसकेपछि सहभागीको मृत्यु वा बेपत्ता भएको अवस्थामा नियमानुसार पति वा पत्नीले सुविधा पाउने व्यवस्था छ । दुवैको मृत्यु भएमा खातामा बाँकी रहेको रकम कानुनी हकवालालाई उपलब्ध गराइनेछ । योजनामा सहभागी कर्मचारीको विवरण, केवाईसी तथा व्यक्तिगत खातासम्बन्धी अभिलेख नगरपालिकाले अद्यावधिक गरी कोषलाई उपलब्ध गराउनुपर्नेछ ।

कर्मचारीको रोजगारी समाप्त भएमा वा नगरपालिकाले योगदान जम्मा गर्न बन्द गरेमा सम्बन्धित व्यक्तिले आफ्नो खाता सञ्चालन गर्न वा बाँकी रकम फिर्ता लिन सक्ने व्यवस्था पनि सम्झौतामा गरिएको छ ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका