
कृषि विकास बैंक लिमिटेड र कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू), चितवनबीच कृषि अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं र सुदीप दाहाल, विभागीय प्रमुख वीणा शर्मा, निकु आचार्य, वरिष्ठ शाखा प्रमुख महेश्वर मरहट्टालगायत तथा विश्वविद्यालयका योजना निर्देशनालयका निर्देशक डा. रामहरी तिमिल्सिनाको उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार दुवै संस्थाले कृषि तथा वन क्षेत्रको अनुसन्धान, नवप्रवर्तन, व्यावसायिक कृषि विकास, उद्यमशीलता प्रवर्द्धन, सीप विकास तथा बैंक र शैक्षिक संस्थाबीचको सहकार्यलाई सुदृढ बनाउन संयुक्त रूपमा काम गर्नेछन् ।यसअन्तर्गत कृषि विकास बैंकले विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई वित्तीय साक्षरता, व्यवसाय योजना, उद्यम विकास, बैंकिङ तथा वित्तीय परामर्श सेवा, अनुसन्धान अनुदान, इन्टर्नशिप तथा उद्यमशीलता विकास कार्यक्रममार्फत सहयोग गर्ने जनाएको छ । साथै विश्वविद्यालयमा सञ्चालित बिजनेस इन्क्युबेशन सेन्टर, कृषि नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धन कार्यक्रमलाई आवश्यक प्राविधिक तथा वित्तीय सहयोग पनि उपलब्ध गराइनेछ ।
समझदारीपत्रमार्फत दुवै संस्थाले कृषि वित्त, जलवायु वित्त, ग्रामीण बैंकिङ, मूल्य शृङ्खला विकास, बजार पहुँच, अनुसन्धान तथा प्रविधि हस्तान्तरण, संयुक्त तालिम, गोष्ठी, कार्यशाला, प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत सहकार्य गर्ने सहमति गरेका छन् । बैंकले यस सहकार्यबाट कृषि क्षेत्रमा आधारित अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलतालाई थप प्रोत्साहन मिल्ने, रोजगारी सिर्जना तथा दिगो कृषि विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । साथै आधुनिक, प्रतिस्पर्धी र दिगो कृषि प्रणाली निर्माणमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने अपेक्षा पनि बैंकले गरेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































