जोडिनुहोस
मङ्लबार, साउन १२, २०८३
मङ्लबार, साउन १२, २०८३

हालको खबर

  • होमपेज
  • ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ् आयोजनालाई एनएमबी बैंकले जुटायो वित्तीय व्यवस्थापन

९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ् आयोजनालाई एनएमबी बैंकले जुटायो वित्तीय व्यवस्थापन

दोलखा र रामेछापको सीमानामा बग्न लागेको ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ् साना जलविद्युत आयोजनाले निर्माणको गति तीव्र पार्ने क्रममा एक अर्ब २४ करोड रुपैयाँको महत्वपूर्ण वित्तीय सम्झौता सम्पन्न गरेको छ। वन्डर्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित यो आयोजना निर्माणका लागि एनएमबी बैंकले उक्त ठूलो परिमाणको ऋण लगानी गर्ने भएको हो।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजनाको प्रवर्द्धक कम्पनी र बैंकबीच ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा एनएमबी बैंकका तर्फबाट सस्टेनेवल इनर्जी बैंकिङ विभागका प्रमुख दिनेश दुलाल र वन्डर्स इनर्जी प्रालिका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्।

कम्पनीका अनुसार आयोजना निर्माणका लागि कुल एक अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यसमध्ये बैंकले एक अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्नेछ भने बाँकी ५६ करोड रुपैयाँमध्ये ३५ करोड जुटिसकेको छ। बाँकी रहेको रकम पनि चालु वर्षको असोज महिनाभित्रै जुटिसक्ने गरी आवश्यक तयारी भइरहेको प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए।

प्रगति विवरण
यो आयोजना दोलखाको जिरी नगरपालिका वडा नम्बर १ र रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ को सीमा भएर बहने खिम्ती (घ्वाङ्) खोलामा बनिरहेको छ। आयोजनाको काम सुरु भएयता यसले उल्लेख्य भौतिक प्रगति हासिल गरिसकेको छ।

आयोजनाका लागि आवश्यक पर्ने सरकारी जग्गा प्राप्ति र रुख कटानको विषय गत वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकबाटै टुंगो लागिसकेको छ। निर्माणस्थलसम्म पुग्ने पहुँचमार्ग, कन्स्ट्रक्सन पावर जडान, गोदाम घर तथा आवास गृहलगायतका पूर्वाधार निर्माणका कामहरू यसअघि नै पूरा भइसकेका छन्।

त्यस्तै, सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका ठेक्का सम्झौताहरू सम्पन्न भई हालसम्म करिब ३० प्रतिशत काम भुइँमा देखिने गरी भइसकेको कम्पनीले जनाएको छ।

मंगलबार हस्ताक्षर भएको सम्झौतापत्र :

 

पर्यावरणमैत्री
गौरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यो आयोजना नेपालको जलविद्युत इतिहासमै एक भिन्न पहिचान बनाउने तयारीमा छ। प्रवर्धक कम्पनीका अनुसार नेपालमा हाल बन्दै गरेका जलविद्युत आयोजनाहरूमध्ये यो पहिलो त्यस्तो आयोजना हो, जसले ‘हाइड्रो सेलेक्ट टूल्स’ को पूर्ण पालना गर्दै सामाजिक तथा वातावरणीय हिसाबले अन्तर्राष्ट्रिय मापदण्डहरूलाई अक्षरशः आत्मसात गरेको छ।

सबैतिरबाट निर्माणका कामहरूले गति लिएसँगै यो आयोजना निर्धारित समयमै सम्पन्न हुनेमा प्रवर्धकहरू विश्वस्त छन्। पछिल्लो कार्यतालिका अनुसार अबको दुई वर्षभित्र अर्थात् २०८४ सालको चैत महिनाभित्रै खिम्ती–घ्वाङ् आयोजनाबाट व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?