
गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो छ महिनामा खुद नाफामा उल्लेख्य वृद्धि हासिल गरेको छ। बैंकले यस अवधिमा ६० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ५५ करोड ५८ लाख रुपैयाँको तुलनामा ८.४६ प्रतिशतले बढी हो।
नाफा वृद्धिलाई बैंकको मुख्य आम्दानी स्रोतहरूमा देखिएको सुधारले टेवा दिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८४ करोड ४६ लाख रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड ४ लाख रुपैयाँ पुगेको छ। साथै, खुद फी तथा कमिशन आम्दानी पनि २३ करोड ८० लाख रुपैयाँबाट वृद्धि भई २७ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
यी सूचकहरूमा आएको सुधारसँगै बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब १० करोड ८९ लाख रुपैयाँबाट बढेर २ अर्ब २३ करोड १३ लाख रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानी बढेपछि बैंकको सञ्चालन नाफा पनि ७८ करोड ५० लाख रुपैयाँबाट उकालो लाग्दै ९० करोड ६८ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्षको १४ करोड ७६ लाख रुपैयाँबाट बढेर ३० करोड ८४ लाख रुपैयाँ पुगेको वितरणयोग्य मुनाफाले बैंकको लाभांश क्षमता मजबुत बन्दै गएको संकेत गर्छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १९.३४ रुपैयाँबाट बढेर २१.१० रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) अनुपात भने सामान्य रूपमा बढेर ४.७२ प्रतिशतबाट ४.७८ प्रतिशत पुगेको छ।
प्रतिशेयर नेटवर्थ १५९.५९ रुपैयाँ रहेको गरिमा विकास बैंकको मूल्य-आम्दानी अनुपात (पीरई रेसियो) १८.५३ गुणा रहेको छ।
६ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३० करोड रुपैयाँ र अन्य रिजर्भमा ३ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकले ७२ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ९१ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको वित्तीय विवरणमा उल्लेख छ।
समग्रमा, आम्दानीका प्रमुख सूचकहरूमा सुधार देखिँदा गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा सन्तुलित वित्तीय प्रदर्शन प्रस्तुत गरेको देखिन्छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































