
नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूको चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सोही वित्तीय विवरण अनुसार जीवन बीमाकोष ८ खर्ब ७० अर्ब ६७ करोड १७ लाख रुपैयाँ पुगेको हो।
गत आर्थिक वर्षको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरूको बीमाकोष ७ खर्ब ४१ अर्ब २२ करोड ३६ लाख रुपैयाँ रहेको थियो। त्यसको तुलनामा चालू आवको सोही अवधिमा १७.४६ प्रतिशतले वृद्धि भएको देखिएको छ। जीवन बीमाकोष भनेको बीमितलाई भविष्यमा दाबी भुक्तानी गर्नका लागि छुट्टै सञ्चित गरिने रकम हो। कोषको आकार ठूलो हुनु कम्पनीको दाबी भुक्तानी क्षमताको संकेत मानिन्छ।
कुन कम्पनीको कति?
पुस मसान्तसम्म सबैभन्दा ठूलो बीमाकोष नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ। कम्पनीको जीवन बीमाकोष २ खर्ब ५५ अर्ब ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ जसको बीमाकोष १ खर्ब ३९ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ रहेको छ। तेस्रो स्थानमा नेशनल लाइफको बीमाकोष ९७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी हिमालयन लाइफको ८२ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको ६५ अर्ब ७३ करोड ५० लाख रुपैयाँ, एशियन लाइफको ५० अर्ब ८५ लाख रुपैयाँ र सूर्यज्योति लाइफको ४६ अर्ब १७ करोड १० लाख रुपैयाँ बीमाकोष रहेको छ।
मेट लाइफको ३१ अर्ब ९ करोड ३९ लाख रुपैयाँ, सिटिजन लाइफको २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको २१ अर्ब ९० करोड ३४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १५ अर्ब ८५ करोड ४ लाख रुपैयाँ, आइएमई लाइफको १५ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको १५ अर्ब २४ करोड १३ लाख रुपैयाँ र सन नेपाल लाइफको ११ अर्ब ४ करोड ७९ लाख रुपैयाँ बीमाकोष कायम भएको छ।
वृद्धिदरको आधारमा
वृद्धिदरका आधारमा हेर्दा आइएमई लाइफको जीवन बीमाकोष सबैभन्दा धेरै ४१.२७ प्रतिशतले वृद्धि भएको छ। त्यसपछि सिटिजन लाइफको ३५.३९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३३.३१ प्रतिशत, रिलायबल नेपाल लाइफको ३२.१६ प्रतिशत र सानिमा रिलायन्स लाइफको ३१.९२ प्रतिशतले वृद्धि भएको देखिन्छ।
त्यसैगरी नेशनल लाइफको २५.१६ प्रतिशत, सन नेपाल लाइफको २३.१७ प्रतिशत, सूर्यज्योति लाइफको २२.३६ प्रतिशत, हिमालयन लाइफको १७.७५ प्रतिशत, नेपाल लाइफको १७.४८ प्रतिशत, मेट लाइफको १३.८१ प्रतिशत, एशियन लाइफको ११.९१ प्रतिशत, एलआईसी नेपालको ९.९० प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ६.०५ प्रतिशतले बीमाकोष वृद्धि भएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


































































