
समानुपातिकतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । कुल १ करोड ७ लाख ८५ हजार ८७६ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ५७ हजार १३० मत पाएको निर्वाचन आयोगको पछिल्लो विवरणले देखाउँछ ।समानुपातिकतर्फको मतगणना सकिएसँगै आयोगले सिट बाँडफाँटको प्रक्रिया अगाडि बढाएको छ । भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुईतिहाइ बहुमतका लागि २ सिट नपुग्ने भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५७ सिट प्राप्त गर्ने देखिएको छ । समानुपातिकमा ५७ सिट प्राप्त गर्दा रास्वपालाई दुईतिहाइ बहुमतका लागि २ सिट नपुग हुने देखिएको छ । प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी रास्वपाको १८२ सिट मात्रै पुग्ने देखिन्छ। कुल २७५ सदस्य रहेको प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट र दुईतिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ।
रास्वपाले १८२ सिट मात्रै पुर्याउने देखिएको निर्वाचन आयोगले सार्वजनिक गरेको प्रत्यक्षतर्फको मतगणना परिणाम र समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मतले देखाउँछ।
रास्वपा दुईतिहाइ नजिक पुग्दा नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउने देखिएको छ। प्रत्यक्षमा १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउँदा कुल ३८ सिटसम्म पुग्नेछ। कांग्रेसले समानुपातिकमा १७ लाख ५५ हजार ८७२ मत पाएको छ ।
यस्तै नेकपा एमालेले समानुपातिकमा १६ सिट पाउनेछ । प्रत्यक्षमा ९ सिट जितेको एमालेको समानुपातिकसहित कुल २५ सिट पुग्नेछ । एमालेले समानुपातिकमा १४ लाख ५२ हजार ७५८ मत पाएको छ। यस्तै प्रत्यक्षमा ८ सिट जितेको नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ९ सिटसहित १७ सिट पुग्ने देखिएको छ । नेकपाले समानुपातिकमा ८ लाख ९ हजार ५७७ मत प्राप्त गरेको छ । निर्वाचन आयोगले धनुषा १ मा मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिए पनि निर्वाचनको २ दिनअघि आयोगले उम्मेदवारी खारेज गरेका रास्वपा उम्मेदवार अदालत गएका छन् । उनको पक्षमा अदालतको आदेश आएमा रास्वपाको प्रत्यक्षमा १ सिट थप हुँदा नेकपाको १ सिट घट्नेछ ।
यस्तै प्रत्यक्षमा ३ सिट जितेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सिट पाउने देखिएको छ । श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ८५ हजार ७४१ मत पाएको छ। यस आधारमा श्रम संस्कृति पार्टी ७ सिटसहित संसद्मा प्रतिनिधित्व गर्ने भएको छ । यस्तै प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि समानुपातिकमा ४ सिट पाउने भएको छ । यस आधारमा राप्रपा ५ सिटसहित संसद्मा प्रतिनिधित्व गर्नेछ । राप्रपाले समानुपातिकमा ३ लाख ३० हजार २६८ मत प्राप्त गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक मत अनुसार रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले मात्रै थ्रेसहोल्ड कटाउँदा समानुपातिक सिट यिनै ६ दलमा बाँडफाँट हुनेछ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार




































































