
सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टले गरेको एउटा मुख्य आर्थिक घोटालाको विवरण धितोपत्र बोर्डले सार्वजनिक गरेको छ। भट्ट र उनीसँग सम्बद्ध व्यवसायीहरूले मिलेमतोमा सेयर किन्ने र कृत्रिम रूपले मूल्य बढाउने गरेको बोर्डको अध्ययनले देखाएको छ। भट्टमाथि लागेको आर्थिक अपचलनका थुप्रै आरोपमध्ये यो एक हो।
धितोपत्र बोर्डले अध्ययन गरेर सार्वजनिक गरेको प्रतिवेदन अनुसार भट्टले ३ अर्ब ८० करोड रूपैयाँ बराबरको नेपाल रि-इन्स्योरेन्सको सेयर र नबिल बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको ऋणपत्र किनेको देखिएको छ। उनले यस्तो सेयर र ऋणपत्र किनबेच गर्न आफ्नो लगानी रहेको हिमालयन रि-इन्स्योरेन्स कम्पनी र हिमालयन रिको लगानी रहेका सम्बद्ध कम्पनीहरू प्रयोग गरेको पाइएको छ।
हिमालयन रि-इन्स्योरेन्सको लगानी रहेका गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सबाट समेत कारोबार गरेको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ। यति मात्र होइन, भट्टकै लगानी रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको एक सामूहिक लगानी कोषको रकम समेत सेयर किनबेचमा प्रयोग भएको पाइएको बोर्डको अनुसन्धानमा देखिएको छ। प्रतिवेदन अनुसार यी सबैजसो कम्पनीबाट सेयर कारोबार गर्न एउटै ‘आइपी एड्रेस’ प्रयोग भएको छ।
यसरी एकआपसमा कारोबार गर्दै नेपाल रि-इन्स्योरेन्सको सेयर, नबिल बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्य बढाउने गरिएको पाइएको छ। यस क्रममा भट्टमार्फत् भएको यस्तो कारोबारको मूल्य बढाउन सुलभ अग्रवालकी श्रीमति सुभी अग्रवाल, व्यवसायी राजबहादुर शाह, ऋषिराज मोर, रोहित गुप्ताबाट समेत सहयोग पुगेको धितोपत्र बोर्डको अध्ययनमा भेटिएको छ। व्यवसायी शेखर गोल्छाले भने कारोबारको रकम भुक्तानीमा सहयोग गरेको अध्ययनले उल्लेख गरेको छ।
प्रतिवेदन अनुसार धेरैजसो कारोबार उधारोमा हुने गरेको थियो। भट्ट र उनीसँग सम्बद्ध व्यवसायीहरूबाट ब्रोकर कम्पनीले ४ अर्ब ७८ करोड लिन र उनीहरूले ४ अर्ब ४७ करोड ब्रोकरलाई तिर्न बाँकी रहेको प्रतिवेदनमा छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































