निर्जीवन बीमा
सल्यानमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना सम्पन्न

कृषकहरूलाई बीमाको दायरामा ल्याउने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले बागचौर नगरपालिका–७ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका सल्यान शाखा प्रमुख अनुराग बोहराले कम्पनीले गाउँ–गाउँ र कृषकको घरदैलोमा पुगेर बीमासम्बन्धी जनचेतना फैलाउने अभियान सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले कृषि तथा पशुपन्छी बीमाले कृषकलाई जोखिम व्यवस्थापन र आर्थिक सुरक्षामा महत्वपूर्ण सहयोग पुर्याउने उल्लेख गर्दै नेपाल सरकारले उपलब्ध गराउँदै आएको बीमा शुल्कमा ८० प्रतिशत अनुदानको व्यवस्था यथावत् रहेकाले यसको अधिकतम लाभ लिन कृषकहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा बागचौर–७ का वडा अध्यक्ष प्रेमबहादुर डाँगीले प्राकृतिक विपत्ति र रोगव्याधिका कारण हुने क्षतिको अवस्थामा बीमाले राहत प्रदान गर्ने भएकाले कार्यक्रममा प्राप्त जानकारीलाई टोल–टोलसम्म पुर्याउन आग्रह गर्नुभयो। कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया, आवश्यक कागजात तथा अनलाइन प्रविधिको ‘ALIS System’ सम्बन्धी विस्तृत जानकारी दिइएको थियो, जसले बीमा प्रक्रियालाई थप पारदर्शी र सरल बनाएको छ। बागचौरका विभिन्न टोलबाट ७८ जना कृषक तथा सरोकारवालाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन भरत रोकायले गर्नुभएको थियो भने पशु स्वास्थ्य अधिकृत टेकबहादुर बस्नेत, वडा सदस्यहरू डिलबहादुर ओली र दामोदर ओली, वडा सचिव कृष्ण कँडेल, वडा पशु प्राविधिक ललित खड्का लगायतको उपस्थिति रहेको थियो। कम्पनीले कृषि बीमा प्रवर्धनका लागि देशका विभिन्न जिल्ला तथा पालिकाहरूमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले जानकारी दिनुभयो।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































