जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • पुँजी पर्याप्ततामा बैंकको चलखेल

पुँजी पर्याप्ततामा बैंकको चलखेल

नेपालका केही बैंकहरूले आफ्नो वास्तविक वित्तीय अवस्था लुकाउन पुँजी पर्याप्तता अनुपात र कर्जाको जोखिम भारमा चलखेल गर्ने गरेको गम्भीर तथ्य बाहिर आएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको वार्षिक सुपरीवेक्षण प्रतिवेदनअनुसार बैंकहरूले जोखिम भारित एक्सपोजरको गलत गणना गर्ने गरेको र कर्जा नोक्सानी व्यवस्थामा पर्याप्त रकम नछुट्याउँदा उनीहरूको पुँजी पर्याप्तता अनुपात वास्तविक नदेखिएको औंल्याइएको छ ।

प्रतिवेदनमा बैंकहरूले सुपरभाइजरी इन्फरमेसन सिस्टममार्फत नियामक निकायमा बुझाउने रिपोर्ट र आन्तरिक रूपमा गणना गरिने जोखिम भारका बीचमा ठूलो अन्तर रहेको उल्लेख छ । विशेषगरी सुक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब अवस्थामा पुगिसकेका कर्जाहरूलाई गलत वर्गीकरण गरी कम जोखिम भएको वर्गमा राखेर बैंकहरूले आफ्नो पुँजी संरचना बलियो देखाउने प्रयास गरेको पाइएको छ । यसका साथै, भुक्तानी हुन बाँकी बैंक ग्यारेन्टी दाबीहरूलाई जोखिम भारित एक्सपोजरबाटै हटाएर बैंकहरूले आफ्नो जोखिम भार कम तथा सम्पत्तिको गुणस्तरमा सुधार देखाउने गरेका छन् । ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ अन्तर्गतका कर्जाहरूमा पनि एकल थ्रेसहोल्ड मापदण्ड मात्र प्रयोग गरी कम जोखिम भार कायम गरिएको प्रतिवेदनमा जनाइएको छ ।

बैंकहरूको आन्तरिक पुँजी पर्याप्तता मूल्यांकन प्रक्रिया (आइक्याप) मा पनि गम्भीर कमजोरीहरू देखिएका छन् । बैंकहरूले आफ्नो नीतिअनुसार वार्षिक रूपमा गर्नुपर्ने आन्तरिक पुँजी पर्याप्तता मूल्यांकन समीक्षा नगरेको र राष्ट्र बैंकले तोकेको समयसीमा भित्र प्रतिवेदन नबुझाएको पाइएको छ । बैंकहरूले आफ्नो विशिष्ट जोखिम प्रोफाइलका आधारमा पुँजीको लक्ष्य तय गर्नुको साटो नियामकले तोकेको न्यूनतम सीमालाई नै आफ्नो लक्ष्य मान्ने गरेको देखिएको छ । थप पुँजी बफरहरूको उचित मूल्यांकन र समावेश नगरिएको तथा ‘कमन इक्विटी टायर–१’ र ‘टायर–१’ पुँजी अनुपातको न्यूनतम थ्रेसहोल्ड समेत नीतिमा स्पष्ट नपारिएको प्रतिवेदनले औंल्याएको छ ।

सुपरीवेक्षणका क्रममा कतिपय बैंकहरूसँग पुँजी व्यवस्थापनका लागि कुनै ठोस संरचनागत नीति नै नभएको पाइएको छ । बैंकहरूमा अल्पकालीन पुँजी व्यवस्थापन रणनीति र दीर्घकालीन पुँजी योजनाको अभाव देखिँदा भविष्यमा आउन सक्ने वित्तीय संकट व्यवस्थापनमा ठूलो चुनौती थपिने देखिएको छ । बैंकहरूको यस्तो प्रवृत्तिले समग्र वित्तीय स्थायित्वमै जोखिम निम्त्याउने निष्कर्ष निकाल्दै राष्ट्र बैंकले आवश्यक सुधारका लागि कडा निर्देशन दिएको छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर