
जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुनको क्षतिपूर्ति विषयमा बैंक र ऋणीबीच विवाद सुल्झिन सकेको छैन । घटना भएको करिब एक वर्ष पुग्न लाग्दा पनि सुनको मूल्याङ्कन कुन मितिको आधारमा गर्ने भन्ने विषयमा सहमति नजुटेपछि ऋणीहरुले अझै भुक्तानी पाउन नसकेका हुन् ।
गत भदौ २३ र २४ गतेको आन्दोलनमा बैंकको नयाँ बानेश्वर शाखाबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख नगद गरी कुल ३८ करोड ४० लाख रुपैयाँ बराबरको धनमाल लुटिएको थियो । बैंकले सुन लुटिएको दिन भदौ २४ गते कायम रहेको प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँका दरले भुक्तानी दिने निर्णय गरेको छ । तर, सुन धितो राख्ने ऋणीहरुले भने हालको बजार मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँका दरले भुक्तानी पाउनुपर्ने वा धितो बराबरको सुन नै फिर्ता गर्नुपर्ने माग राख्दै आएका छन् ।
बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार धितोमा रहेको सुनको बीमा नेको इन्स्योरेन्समा गराइएको र बीमा कम्पनीले पनि घटना भएकै दिनको मूल्यका आधारमा दाबी भुक्तानी दिने भएकाले बैंकले सोही अनुसारको निर्णय गरेको हो । विगतको द्वन्द्वकालमा बैंकका शाखाहरु लुटिँदा पनि घटना भएकै दिनको दरमा भुक्तानी दिने नजिर रहेको उनले स्पष्ट पारे ।
यद्यपि, ऋणीहरु भने बैंकको यो निर्णय मान्न तयार छैनन् । कर्जा चुक्ता गर्दा धितो रहेको सुन नै फिर्ता दिने सम्झौता भएकाले एक वर्षपछि पुरानै मूल्यमा भुक्तानी लिन नसकिने ऋणी दिपेन्द्र रावलले बताए । असन्तुष्ट सुन बाहकहरुले आफ्नो माग सम्बोधन गराउन बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिनुका साथै पुनर्विचारका लागि निवेदन समेत पेस गरेका छन् ।
सुन लुटिएका कुल २२६ जना ऋणीमध्ये करिब एक सय जनाले भने बैंकको निर्वतमान सञ्चालक समितिले गरेको निर्णय अनुसार नै रकम भुक्तानी लिई राफसाफ गरिसकेको बैंकले जनाएको छ । बाँकी असन्तुष्ट ऋणीको हकमा भने बैंकको सञ्चालक समितिले नै अन्तिम निर्णय गर्नुपर्ने अवस्था छ । हाल बैंकमा सञ्चालक समिति नरहेकाले नयाँ समिति गठन भएपछि मात्र उक्त निवेदनमाथि छलफल गरी निर्णय गरिने डेपुटी सिइओ रेग्मीले जानकारी दिए ।
बैंकले सुन लुटिएका ऋणीहरुको भदौ महिनादेखिको कर्जाको ब्याज भने मिनाहा गरिदिएको छ । लुटपाटमा संलग्नहरुको विषयमा भने हालसम्म कुनै तथ्य खुल्न सकेको छैन ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































