जोडिनुहोस
बिहिबार, मंसिर ६, २०८१
बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • सेयर बजार ऐतिहासिक उचाईमा

सेयर बजार ऐतिहासिक उचाईमा

सेयर बजार परिसूचक नेप्सेले नयाँ ऐतिहासिक उचाईं बनाएको छ। यससँगै कारोबार पनि अहिलेसम्मकै दोस्रो सर्वाधिक रकमको भएको छ।

त हप्ताको अन्तिम कारोबार दिन बिहीबार ३१७८ विन्दुको नयाँ रेकर्ड बनाएको सेयर बजार सूचकले चार दिनपछि नै पुनः त्यसलाई उछिन्दै नयाँ रेकर्ड बनाएको हो।

बुधबार एक समय ५९ अंकसम्म बढेर सूचक ३२२० विन्दुसम्म उक्लिएको थियो। यद्यपि, नियमित कारोबारको अन्तिम ५० मिनेट त्यो मोमेन्टमलाई कायम गर्न नसक्दा अन्‍त्यमा ३७ अंकको वृद्धिसहित बजार ३१९८ विन्दुमा अडिएर बन्द भएको छ।

सेयर कारोबार पनि  बुधबार अहिलेसम्मकै दोस्रो उच्च रकम २१ अर्ब ३१ करोड रुपैयाँ बराबरको भएको छ। तीन दिनअघि गत आइतबार मात्र  सेयर बजारमा कारोबार रकमको नयाँ ऐतिहासिक रेकर्ड (२१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको) बनेको थियो। यद्यपि, उक्त दिन बजार भने २४ अंकले घटेको थियो।

बुधबार ६ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ, जसमा अधिकांश जलविद्युत कम्पनी छन्। अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त, आँखुखोला जलविद्युत कम्पनी र महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको हो।

यसविपरित, आज केही कम्पनीका लगानीकर्ताले तीन प्रतिशतसम्मले नेट वर्थ गुमाएका छन्। मूल्य सबैभन्दा धेरै घट्नेमा भने आरएसडिसी लघुवित्त र खानीखोला हाइड्रो छन्, यी दुवै कम्पनीको सेयर मूल्य तीन प्रतिशतले घटेको छ। केही म्युचुअल फण्ड र ऋणपत्र एकाइहरुको मूल्य भने चारदेखि पाँच प्रतिशतसम्म पनि घटेको छ।

बुधबार व्यापार र म्युचुअल फण्डबाहेक सबै उपसमूह हरियो भयो। विकास बैंक समूह सबैभन्दा धेरै (३३० अंक) ले बढेको छ। यस्तै, उत्पादन समूह २५५ अंक, जीवन बीमा समूह १५१ अंक, फाइनान्स १४८ अंक र निर्जीवन बीमा समूह ८३ अंकले बढेको छ। जलविद्युत समूह ५१ अंक र वाणिज्य बैंक समूह समेत १६ अंकले बढेको छ।

यस क्रममा नेशनल हाइड्रोपावरको सेयर सर्वाधिक रकम (७८ करोड ८७ लाख रुपैयाँ) को कारोबार भएको छ। यसपछि अपि पावरको ६३ करोड, लुम्बिनी विकास बैंकको ५९ करोड ७६ लाख, महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ लाख र ज्योति विकास बैंकको ५६ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

समग्रमा म्युचुअल फण्डसहित २२८ कम्पनीको तीन करोड ६५ लाख कित्ता सेयर २१ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ। यस क्रममा ११८ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ भने बाँकी सबैको घटेको छ।


2800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका