
माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई वार्षिक एक करोड २८ लाख ६१ हजार रुपैयाँ तलब सुविधा उपलब्ध गराएको छ। यो रकममा नाफाबाट पाइने बोनस जोडिएको छैन।
बैंकले कात्तिक २६ गते वार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदन अनुसार, अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारीलाई दिएको तलब सुविधाभन्दा यसपाली कम छ।
अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारी अधिकृतलाई २ करोड २३ लाख ११ हजार रुपैयाँ तलब सुविधा भुक्तानी गरेको थियो। त्यो वर्ष लामो समय प्रमुख कार्यकारी सुमन शर्मा थिए। त्यही वर्ष कोइराला प्रमुख कार्यकारी अधिकृत बने पनि महिनाका हिसाबले उनको अवधि कम थियो। कोइरालाले त्यो वर्षको अन्तिम तीन महिना मात्र प्रमुख कार्यकारीका रुपमा तलब बुझेका थिए।
आगामी साधारणसभाले १३.३ प्रतिशत बोनस सेयर वितरण गर्दैछ। यसपछि चुक्ता पुँजी एक अर्ब २० करोड ४० लाख रुपैयाँले बढ्ने छ। बैंकले ०.७ प्रतिशत नगद लाभांशसमेत दिँदैछ।
बैंकले नायब महाप्रबन्धक र प्रबन्धकहरुको तलबमा १३ करोड ४३ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ। बैंकले कर्मचारीलाई उपलब्ध गराउने दुर्घटना तथा औषधोपचार खर्चको बीमा प्रिमियम आफैंले ब्यहोर्दै आएको छ। यो रकममा प्रिमियम शुल्क जोडिएको छैन।
सभाले बैंकको अधिकृत पुँजी १५ अर्ब पुर्याउँदै सञ्चालक समिति अध्यक्षको बैठक भत्ता २० हजार र सदस्यहरुको १७ हजार रुपैयाँ पुर्याउने एजेण्डा पारित गर्ने छ। उनीहरुलाई मोबाइल, पत्रपत्रिका र इन्टरनेट खर्च भनेर मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने एजेण्डा पनि साधारणसभामा लगिँदैछ। साथै एक लाख २५ हजारको औषधि उपचार बीमा पनि सुविधा उपलब्ध गराउने एजेण्डा पनि साधारणसभामा लगिँदैछ।
बैंकमा कुल कर्मचारी १५ सय १० जना छन्। कर्मचारीलाई नाफाबाट बोनससमेत गरेर एक अर्ब ७६ करोड ९५ लाख रुपैयाँ खर्च भएको छ। कार्यालय सञ्चालनका लागि एक अर्ब ८ करोड नौ लाखसहित व्यवस्थापन खर्च २ अर्ब ८५ करोड ४ लाख रुपैयाँ पुगेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































