अर्थ वाणिज्य
इसेवा १५औं वर्षमा प्रवेश, डिजिटल अर्थतन्त्र निर्माणमा निरन्तर अगाडी बढ्ने प्रतिबद्धता
भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।
पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, ‘हामी जहिलेपनि हाम्रा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका छौँ । आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजानेछौँ ।
कार्यक्रममा इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले इसेवाले आफ्नो वार्षिकउत्सवमा सार्बजनिक गरेका अफरहरूका विषयमा जानकारी गराएका थिए । १४औँ वार्षिक उत्सवको अवशरमा इसेवाले बुधवार बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्बजनिक गरेको छ । जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा रू १४० क्यासब्याक पाइनेछ ।
यसैगरी, बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुनेछ । जसमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हिरा उपहार पाउनेछन् । यसैगरी ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुनेछ । यो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ ।
साथै, १२ बजेसम्म होटल बुक अफर सञ्चालन हुनेछ । यो अवधिमा होटल बुक गर्दा विभिन्न होटलमा कोठाहरु नि:शुल्क प्राप्त गर्न सकिनेछ । यस्तै १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुनेछ । जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ । यसैगरी २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुनेछ । यस अवधिमा मोबाईल टपअप,एयरलाइन्स् टिकट,इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने इसेवाले जनाएको छ ।
यसैगरी, ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुनेछ । यो अवधिमा रु ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ । साथै , इसेवाले आफ्नो वार्षिक उत्सवको अवसरमा छात्रवृति कोष समेत सञ्चालन गरेको छ । यसको राशी र प्रक्रियाका विषयमा केही समय पछि एक कार्यक्रम मार्फत जानकारी गराउने इसेवाको भनाई रहेको छ ।
इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको दावी गरेको छ । १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।
हाल इसेवाका देशभर करिब १ लाख ८५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।