जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • नबिल बैंकको नाफा साढे ७ अर्ब, ब्याज आम्दानीमा १००% बढीको छलाङ

नबिल बैंकको नाफा साढे ७ अर्ब, ब्याज आम्दानीमा १००% बढीको छलाङ

गत आर्थिक वर्ष २०७९–८०मा नबिल बैंकको खुद नाफा ह्वात्तै बढेको छ। आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ७६.८६ प्रतिशतले बढेको हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ।  समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.६४ प्रतिशत थियो।

बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ अर्ब ११ करोड रुपैयाँमा सीमित थियो।

बैंकको सञ्चालन मुनाफा ११ अर्ब १ करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६ अर्ब २८ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ७५.३६ प्रतिशतले बढेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो।

बैंकको रिजर्भको आकार ०.६५ प्रतिशतले घटेर २७ अर्ब ७ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा २७ अर्ब २४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४९.२५ प्रतिशत बढेर २७.८२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.६४ रुपैयाँ थियो। पीई रेसियो २१.५४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१४.६९ रुपैयाँ रहेको छ।

1240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका