जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नबिल बैंकले १० प्रतिशत लाभांश दिने

नबिल बैंकले १० प्रतिशत लाभांश दिने

 नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने भएको छ। बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको ४०औँ वार्षिक साधारणसभाले सेयर धनीलाई नगद लाभांश दिने निर्णय गरेको हो।

साधारणसभाले संचालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयर धनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

समीक्षा वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात् १६.४१ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।

यस्तै, कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३.६५ प्रतिशत वृद्धि भई ३ खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। समग्रमा आर्थिक वर्ष २०८०/८१ मा बैंकको वासलातको आकार १५.७६ प्रतिशतले वृद्धि भई ५ खर्ब ५७ अर्ब ०२ करोड पुगेको हो ।

त्यस्तै, साधारण सभाले संचालक समितिमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ। बैंकको संचालक समितिमा सर्वसाधारण सेयरधनी समूहको  प्रतिनिधित्व गर्ने दुई संचालक पदका लागि भएको निर्वाचनमा पौड्याल र टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन् ।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताएका थिए। बैंकले समुन्नत देश, समाज, सेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी लगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर कार्य गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि बैंक सक्रिय रहेको पौडेलले बताएका थिए।

नबिलले विगतका वर्षहरूमा बाँडफाँट गरेको नगद लाभांश, बजार पुँजीकरण र जेथामा भएको अभिवृद्धिलाई दृष्टिगत गर्दा, सेयरधनीहरूले बैंकमा सुरु लगानीगर्दाको स्थापनाकालको चुक्ता पुँजी हालसम्म ९६० गुणाले वृद्धि भएको छ।

1745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्