जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • अर्थतन्त्र चलायमान बनाउन सरकारले व्यक्तिको खातासम्मै पैसा पठाउन सक्नुपर्छ : पूर्वगभर्नर नेपाल

अर्थतन्त्र चलायमान बनाउन सरकारले व्यक्तिको खातासम्मै पैसा पठाउन सक्नुपर्छ : पूर्वगभर्नर नेपाल

पूर्वगभर्नर चिरञ्जीवि नेपालले अर्थतन्त्रलाई सक्रिय बनाउन सरकारले व्यक्तिको खातामा सिधै पैसा पठाउन सक्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित ‘वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति’ विषयक अन्तरक्रियामा बोल्दै उनले नेपालमा कहिल्यै यस्तो पहल नभएको उल्लेख गरे।

उनका अनुसार, “अर्थतन्त्र चलायमान नभएका बेला विस्तारमुखी ठूलो बजेट आवश्यक पर्छ। ठूला आयोजनामा लगानी गर्ने बजेट, करका दर घटाउने बजेट चाहिन्छ। त्यतिमात्र होइन, विकसित देशमा सरकार स्वयंले व्यक्तिका खातामा खर्च गर्न पैसा नै पठाइदिन्छ। नेपालमा पनि त्यसै गरी गर्न सक्नुपर्छ।”

मौद्रिक नीतिले लचकता लिएको भए पनि त्यसका दीर्घकालीन जोखिमतर्फ सचेत रहनुपर्ने उनले बताए। “भोलिका दिनमा पैसा उपभोगमै गयो भने आयात बढेर विदेशी मुद्राको सञ्चितिमा दबाब पर्न सक्छ,” उनले भने, “हिजोका दिनमा विदेशी सञ्चितिमा असर पर्दा के भयो भन्ने स्मरण गर्नुपर्छ।”

नेपालले ब्याजदर कम हुँदा उपभोक्ताहरूले निक्षेप झिकेर खर्च गर्न थाले बैंकिङ प्रणालीमा असर पर्ने सम्भावना औँल्याए। “अब हामी यसलाई उपभोग गर्छौं भन्ने प्रवृत्ति बढे ब्याजदर चुलिन सक्छ। दीर्घकालीन लगानीका लागि न्यून ब्याजदर कहिलेसम्म रहन्छ भन्ने नियाल्नुपर्ने अवस्था छ,” उनले स्पष्ट पारे।

विदेशमा ब्याजदर बढेमा रेमिट्यान्स प्रभावित हुने चिन्ता उनले व्यक्त गरे। “बोर्डर खुला छ, हाम्रोमा ब्याजदर कम भयो भने भारततिर पैसा राख्ने सम्भावना हुन्छ। अहिले पनि धेरैले भारतका बैंकमा पैसा राख्छन्। यसले पूँजी पलायन गराएर तरलताको अभाव निम्त्याउन सक्छ,” उनले भने।

नेपालले विगतमा आर्थिक गतिविधि सुस्त हुँदा सरकारले आवश्यक स्टीमुलस प्याकेज ल्याएर अर्थतन्त्र सुधार्नुपर्नेमा चुकिएको धारणा राखे। “सरकारले त्यो अवसर गुमायो,” उनले टिप्पणी गरे।

760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका