जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • जेनजी प्रदर्शनः यस्तो छ बैंकवित्तमा भएको क्षतिको पछिल्लो अपडेट

जेनजी प्रदर्शनः यस्तो छ बैंकवित्तमा भएको क्षतिको पछिल्लो अपडेट

भदौ २२ गतेदेखि सुरु भएको जेनजी आन्दोलनको प्रमुख निशानामा बैंक तथा वित्तीय संस्था समेत परेको छ । भदौ २३ गते भएको आन्दोलनका क्रममा देशभर रहेका बैंक तथा वित्तीय संस्थामा क्षति पुगेको पाइएको छ ।

केही बैंकका शाखा कार्यालय, एटिएम मेसिन तथा गाडीहरुमा क्षति पुगेका छन् भने कृषि विकाश बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई गोली समेत लागेको पाइएको छ ।

कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको हो ।

उनका अनुसार बुधबारनै अन्नपूर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । साथै, घाइते श्रेष्ठको परिवारसहित उपस्थितिमा अप्रेशन गरेर गोली निकालिएको उनले बताए । उनका अनुसार बैंकको कीर्तिपुर शाखामा रहेको एटीएम मेसिनमा तोडफोड, लहानमा खाद्य संस्थानको डिपो जलाउन खोज्दा बैंकको शाखामा समेत क्षति पुगेको छ भने धनगढी शाखामा गाडीमा क्षति भएको छ ।

एनआईसी एशिया बैंकका १४ वटा एटीएम मेसिन, ५ वटा शाखा कार्यालय, ६ वटा काउण्टरमा क्षति पुगेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले जानकारी दिए । उनका अनुसार भौतिक संरचनामा क्षति पुर्याएको भएपनि पैसा भने चोरी नभएको उनले बताए । उनले कर्मचारीहरू भने सुरक्षित रहेको जनाए ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालका अनुसार दुलेगौंडा शाखामा ढुुगामुढा हुँदा सिसा फुटेको छ भने हेटौंडाको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिन ड्यामेज भएको छ ।

हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा क्षति भएर खरानी भएको सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खालीले जानकारी दिए । तर, लकर र भल्टमा भने क्षति नभएको उनको भनाइ छ । उनका अनुसार बैंकको न्युरोड शाखा, भैरहवा एयरपोर्ट, आईटी प्लाजा कमलादी, हिलटन होटल परिसर, विराटनगरको भाटभटेनीको र बुटवलको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको छ । तर, नगद भने सुरक्षित रहेको उनले बताए ।

ग्लोबल आइएमई बैंकका अनुसार कान्तिपुर भवनमा रहेका बैंकका २ वटा विभागमा क्षति पुगेको छ । भवनमा आगो लगाउँदा बैंकको सेन्ट्रल ट्रेड र इन्टरनल अडिट विभागमा क्षति पुगेको बैंकका चिफ फाइनान्स अफिसर चन्द्रराज शर्माले जानकारी दिए । यस्तै, आन्तरिक राजस्व विभाग, यातायात व्यवस्था विभाग, मालपोत कार्यालय लगायतमा रहेको बैंकको राजस्व संकलन काउन्टरमा भौतिक क्षति पुगेको छ । देशभर के कति क्षति भएको छ भनेर भोलीसम्म तथ्यांक आउन सक्ने उनले बताए ।

राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी तथा उप–कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकको बानेश्वर शाखा, दुहबी शाखा, भैरहवा शाखा र केही एटीएम मेसिन तोडफोड भएको सूचना आएको छ ।
नेपाल बैंकका सीईओ तिलकराज पाण्डेयका अनुसार बैंकको काँकडभिट्टा, गौरादह, ताप्लेजुङमा गरी ३ वटा काउण्टर र एउटा एटिएम मेसिनमा क्षति भएको छ ।

माछापुच्छ्रे बैंकको भरतपुर मालपोत, सिंहदरबार परिसर, अख्तियार दुरूपयोग अनुसन्धान आयोग परिसर गरी ३ वटा एटीएम मेसिनमा क्षति पुगेको बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिए ।

सिटिजन्स बैंकको नक्सालस्थित भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको जनाएको छ । प्रभु बैंकको लैनचौर शाखामा पनि तोडफोड भएको बैंकले जानकारी दिएको छ ।

गभर्नरको घरमा तोडफोड र आगजनी
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको भैसेपाटीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् भने चितवनस्थित पुरानो घरमा तोडफोड गरिएको छ । जेनजी आन्दोलनकारीहरुले कांग्रेसको नेता भएका कारण नै गभर्नरको जिम्मेवारी पाएको भन्दै तोडफोड र आगजनी गरेका थिए ।

गभर्नर पौडेलले भैसेपाटीको घर योजना आयोगको उपाध्यक्ष हुनु अघि नै छात्रवृत्ति तथा विदेशमा काम गरेर संकलन गरेको आम्दानीबाट निर्माण गरेका र श्रीमती र नौ वर्षीया छोरीसँग बस्दै आएको उक्त घरमा प्रदर्शनकारीले प्रवेश गरी पुस्तकमात्र होइन, ऐतिहासिक सामग्री, कलाकृति, देवदेवताका मूर्ति, दुर्लभ पुस्तकहरू लगायत सबैमा आगो लगाएको बताएका छन् ।

उनका अनुसार छोरीलाई नतर्सियोस् भनेर सधैंसँगै सुत्न दिने ‘मन्त्रेको खेलौना’ समेत कुल्चेर जलाइएको थियो । ‘त्यो रात हामी सबै शरणार्थी भयौं,’ गभर्नर पौडेलले भनेका छन् । आगजनीपछि ढिलो रातीसम्म घर जलिरहेको र बीच–बीचमा ढुंगामुढा तथा चोरीसमेत भएको छिमेकीले जानकारी दिएको उल्लेख गरिएको छ ।

यस्तै चितवनमा रहेको घरमा समेत आक्रमण भएको उनले बताएका छन् । कान कम सुन्ने र मुटुको अपरेसन गरेको ८२ वर्षीय आमाको कोठामा आक्रमण गरिएको उनले बताए । गभर्नर भएपछि पनि हरेक हप्ता एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गरेको उनले बताएका छन् ।

चितवनस्थित घरमा भएको आक्रमणको भिडियो सेयर गर्दै पौडेलले भने, ‘यस भिडियोमा शुरूमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीय बुढी आमाको सुत्ने कोठा हो । वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो । यो मेरो गाउँको घर हो । गभर्नर भएपछि पनि हरेक हप्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे । बा ले लगभग १५ वर्ष अघि म विद्यार्थी छँदा नै बनाएको घर हो ।’

गभर्नर पौडेलका बुवा ८७ वर्षका भएका छन् । भैँसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् भन्दै भिडियो सेयर गरेका छन् ।

‘अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केही अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्न कि जस्तो भएकोमा अहिले सन्चो हुँदै थियो । ६७ वर्षअघि चितवन झर्नुभएका बाका सबै सन्तान यही जन्मेका हुन्,’ उनले भने, ‘जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सिधै कक्षामा फस्ट हुन्थे । गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ । बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ । मेरो रिस मेरो भैँसेपाटीको घर जलाएर नपुगि मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथिहरुको फलोस् फुलोस् ।’

385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका