
नेपाल एसबिआई बैंकका संचालक समिति अध्यक्ष वेंकट वंसीधर कुंचाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गत शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो । उनी स्टेट बैंक अफ इण्डियाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन् । उनलाई सर्वसम्मत अध्यक्ष चयन गरिएपछि आइतबार नेपाल राष्ट्र बैंक पुगेर गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
अध्यक्ष कुंचा स्टेट बैंक अफ इण्डिया (एसबीआई)को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य–महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले एसबीआईको २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्ने गरेको नेपाल एसबीआईले जनाएको छ ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सीना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजनविक्रम थापा, निर्देशकहरु राजेन्द्र भट्टराई, ईश्वरीप्रसाद भट्टराई र शरणकुमार अधिकारी तथा नेपाल एसबिआई बैंकका संचालकहरु रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती र डा. गोपालप्रसाद भट्ट सहभागी थिए ।
बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा तथा बैंकका कम्पनी सचिव खगेश्वर भट्ट पनि शपथ कार्यक्रममा साक्षि थिए ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































