जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • साल्ट सूचना कर्पाेरेशनले तेल उत्पादन गर्ने   

साल्ट सूचना कर्पाेरेशनले तेल उत्पादन गर्ने   

विष्णु नेपाल ।  नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट सूचना कर्पाेरेशनले तोरी तेल उत्पादन गर्ने भएको छ ।

हेटौँडामा रहेको नेपाल वनस्पति घ्यू उद्योग सञ्चालन गरी चितवनलगायत तराई÷मधेशका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको कर्पाेरेशनले जनाएको छ ।

निजी क्षेत्रका व्यापारीसँगको सहकार्यमा निकट भविष्यमा नै कर्पाेरेशनले एलजिएस प्रविधिबाट ‘प्रि इञ्जिनीयरिङ हाउस’ आम उपभोक्तामाझ ल्याउने तयारी गरिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । कर्पाेरेशनको ५७ आँै वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कर्पाेरेशनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारको नीति र नियमभित्र रही दैनिक उपभोग्य वस्तुका अतिरिक्त रासायनिक मलको बिक्री वितरण गर्दै आएको जानकारी दिनुभयो ।

हाल कर्पाेरेशनले नुनमा आयोडिन मिसाइ प्रमुखरुपमा बिक्री वितरण गर्दै आएको छ । स्वास्थ्य सर्वेक्षणका अनुसार आयोडिनयुक्त नुनको पहुँच पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकामा पुगेको छ । यो सङ्ख्या विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको लक्ष्यभन्दा माथि रहेको छ ।

यसैगरी आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९० प्रतिशतभन्दा माथि रहेको छ । कर्पाेरेशनले वार्षिक दुईलाख मेट्रिक टन नुन देशका ७७ जिल्लामा बिक्री वितरण गर्दै आएको छ । आयोडिनयुक्त नुनले गलगाड रोग नियन्त्रणमा कोशेढुङ्गाको काम गर्दछ । कर्पाेरेशनका वरिष्ठ व्यापार अधिकृत ब्रजेश झाका अनुसार कर्पाेरेशनले आफ्ना नेपालगञ्ज, धनगढी, सिमरा, लालगढ र विराटनगरका पाँचवटा गोदाम घरमा छ महीनालाई पुग्ने रु दुई अर्बभन्दा बढीको नुन भण्डारण गर्दै आएको छ । पछिल्लो समय आयोडिन नुनका कारण गलगाड रोगीको सङ्ख्या शून्यमा झरेको उहाँले जानकारी दिनुभयो । सन् १९८५ मा नेपालमा सो रोगीको सङ्ख्या ४४ प्रतिशत रहेको थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च नेतृत्व वर्गले नुनको बिक्री वितरणमा कर्पाेरेशनको एकाधिकार अन्त्य गर्ने नीति मन्त्रालयको नभएको स्पष्ठ पार्नुभएको थियो । विषम एवं कठिन परिस्थितिमा कर्पाेरेशनले नुन तथा दैनिक उपभोग्यवस्तुको बिक्री वितरण तथा बजारलाई मूल्य स्थिर बनाउन सरकारलाई सहयोग गरिराखेकाले अगामी दिनमा कर्पाेरेशनलाई थप सहयोग गर्ने जानकारी दिनुभएको थियो । हाल कर्पाेरेशनमा सरकारको शेयर २२ प्रतिशत हिस्सामात्र रहेको छ ।

बजार भाउ वृद्धि गर्न पाइन्न ः मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चाडपर्वका मौका छोपी काला बजारीयाले दैनिक उपभोग्यका वस्तुमा मूल्यवृद्धि गरेमा कडा कारवाही गर्ने चेतावनी दिनुभयो । “चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गराउन खोज्नेमाथि सरकार टुलुटुलु हेरेर बस्दैन । अनुगमन गर्छ, दोषी ठ¥हरिए कारवाही गर्छ । चाडबाडको मौका छोपेर बजार भाउ वृद्धि गर्न पाइन्न”, उहाँले भन्नुभयो ।

मन्त्री यादवले सरकारले बजारलाई व्यवस्थित बनाउँदै लैजाने चर्चा गर्दै ठूला व्यापारीले आफ्ना कालोधन सञ्चारक्षेत्रमा लगानी गरेकोमा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “सञ्चार जगतले भ्रमको खेती गरे, कति दिन भ्रमको खेती फष्टाउँछ ।” उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र सहसचिव नवराज ढकालले नुनको बिक्री वितरण कार्य निजी क्षेत्रलाई दिने मन्त्रालयले नीतिगत निर्णय नगरेको जानकारी दिँदै अगामी दिनमा कर्पाेरेशनले नयाँ क्षेत्रमा लगानी गर्न सुझावसमेत दिनुभयो ।

सो अवसरमा कर्पाेरेशनका कार्यकारी अधिकृत श्रेष्ठले खाद्यान्न आयातलाई न्यूनीकरण गर्न कर्पाेरेशनले प्राथमिकता दिएको बताउनुभएको थियो । कर्पाेरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पाेरेशनको अधिकार कटौती गरी नयाँ प्रावधान अर्थ मन्त्रालयले ल्याउन खोजेकोमा आपत्ति जनाउनुभयो । कर्पाेरेशनका कर्मचारी सङ्गठनका अध्यक्ष मेघराज ज्ञवाली र राष्ट्रिय उपभोक्ता महासङ्का अध्यक्ष प्रेमलाल महर्जनले नुनको बिक्री वितरणमा कर्पाेरेशनले उत्कृष्ट काम गरिरहेको अवस्थामा निजी क्षेत्रलाई कारोवारको अनुमति दिन नहुने धारणा राख्नुभएको थियो ।

कर्पाेरेशनले दशँै, तिहार तथा छठका अवसरमा देशका सातवटै प्रदेशका ७७ स्थानमा सुपथ मूल्यका पसल तथा घुम्ती पसलसमेत सञ्चालनमा ल्याइसकेको छ ।

7740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका