जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एसिडपीडित तीन युवतीलाई कुमारी बैंकमा अफिसरको जागिर

एसिडपीडित तीन युवतीलाई कुमारी बैंकमा अफिसरको जागिर

विभिन्न समयमा एसिड आक्रमणबाट पीडित बन्न पुगेका तीन युवतीले कुमारी बैंक लिमिटेडमा रोजगारी पाएका छन्।

बैंकले एसिडपीडित दुई युवतीलाई काठमाण्डौ उपत्यकामा र एकजनालाई मकवानपुरको हेटौँडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो। बैंकले तीनैजनालाई मार्केटिङ अफिसरका रुपमा नियुक्त गरेको छ।

रोजगार पाउनेमा हेटौँडाकी विन्दवासिनी कंसाकार र काठमाण्डौमा बस्दै आएका जेनी खड्का र संगीता मगर छन्। तीनैजनाले असोज १ गतेबाटै गणना हुने गरी रोजगारी पाएको बैंकले जनाएको छ। सुरुमा एक महिनाको करार र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्थायी नियुक्ति दिइने बैंकका डेपुटी सीईओ अनुजमणि तिम्सिनाले जानकारी दिए।

काठमाण्डौको कालोपुलमा गत वर्ष जेठ २ गते काभ्रे फूलबारीकी जेनीमाथि सोही ठाउँका विष्णुबहादुर भुजेलले एसिड छ्यापेका थिए। संगीता मगरलाई भने एसएलसी परीक्षाको तयारीका लागि ट्युसन जान लाग्दा २०७१ फागुन १० गते बिहान रामेछाप फुलासीका जीवन विकले बसन्तपुर एसिड प्रहार गरेका थिए।

हेटौँडाकी कंसाकारमाथि भने २०७० वैशाख ९ गते पसलमा बसिरहेको बेला भारत महारजगन्जका दिलीपराज केशीले एसिड आक्रमण गरेका थिए।

एसिडपीडित युवतीहरुलाई कुमारीले बैंकले अधिकृतसरहको रोजगारी दिएर उनीहरुलाई समाजमा पुनःस्थापना हुने अवसर सिर्जना गरेको अभियान्ताहरु बताउँछन्। यसले उनीहरुमाथि अपराधविरुद्ध लड्न अझै हौसला प्राप्त हुने उनीहरुको बुझाइ छ।

मन्त्रिपरिषद्को बैठकले गत बिहीबार नै एसिड आक्रमणका घटनामा संलग्नहरुलाई अधिकतम २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना तथा पीडितको उपचार खर्च भराउने कानुन पारित गरेको छ। अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ।

6010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?