नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिभिल बैंकसहित थप चार संस्थालाई योग्य संस्थागत लगानीकर्ता (क्युआइआइ) का रूपमा काम गर्न स्वीकृति दिएको छ।
सेबोनको नियमन तथा व्यवस्थापन विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार जेठ ११ मा उक्त संस्थाहरुलाई क्युआइआइको भूमिका निर्वाह गर्न अनुमति प्रदान गरेको हो।
अनुमति पाएसँगै अब उक्त कम्पनीहरुले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन र संस्थागत लगानीकर्ताका रूपमा सेयर किनबेच गर्न पाउनेछन्।
स्वीकृति पाएका कम्पनीहरुमा सिभिल बैंकसहित आईएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आरबीबी म्युचुअल फन्ड-१ र एनआइबीएल समृद्धि फन्ड-२ छन्।
यिनीहरु थपिएसँगै अब योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाउने कम्पनीहरुको संख्या एक सय पुगेको छ। यसअघि ९५ कम्पनीलाई विभिन्न मितिमा सेबोनले योग्य संस्थागत लगानीकर्ता स्वीकृति प्रदान गरेको थियो।
धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले योग्य संस्थागत लगानीकर्ताको प्रनिधित्व सेयर बजारमा कम भएका कारण बजारमा अप्रत्यासित उतारचढाव आउने गरेको बताउँदै आएका छन्।
बजारमा संस्थागत लगानीकर्ताभन्दा रिटेल इन्भेष्टर्सको प्रभुत्व बढी हुँदा ससाना सूचनाको प्रभाव बजारमा देखिने गरेको उनको धारणा हो।
उनले सेबोनको नेतृत्व सम्हालिसके पछि १३ वटा संगठित संस्थालाई (क्युआइआइ) का रूपमा काम गर्न स्वीकृति दिइसकेका छन्।
यसअघि सेबोनले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल दूरसञ्चार कम्पनीसहित ६ अन्य कम्पनी र म्युचुअल फन्ड योजनालाई क्युआइआइको भूमिका निर्वाह गर्न अनुमति दिएको थियो।