जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बीमा नीतिलाई बजेटको उद्देश्यअनुकूल बनाउन बीमा समितिलाई अर्थमन्त्रीको निर्देशन, कार्यदल गठन

बीमा नीतिलाई बजेटको उद्देश्यअनुकूल बनाउन बीमा समितिलाई अर्थमन्त्रीको निर्देशन, कार्यदल गठन

राष्ट्रिय बीमा नीतिलाई आगामी आर्थिक वर्षको बजेटसँग अनुकूल हुने गरी अन्तिम रुप दिन अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन्।

राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल गरी सुझाव सङ्कलन गर्ने उद्देश्यले शनिबार ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सरकारले बजेटमा पुँजी बजारसँगै बीमालाई पनि प्राथमिकता दिएकाले राष्ट्रिय बीमा नीतिको मस्यौदालाई पनि सोहीअनुरुप निर्देशित भएर अन्तिम रुप दिन सम्बद्ध पदाधिकारीहरुलाई निर्देशन दिए।

‘आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रुपमा प्रस्तुत गरिएकाले राष्ट्रिय बीमा नीति सोहीअनुसार निर्देशित हुनुपर्छ,’ उनले भने, ‘देशका सबै क्षेत्र र वर्गलाई समेट्ने गरी समावेशीकरणमा जोड दिने, बीमा कम्पनीले नाफा मात्र नहेरी सेवासहितको उत्तरदायित्व बहन गर्ने र सचेतनापूर्वक ढङ्गे स्वतःस्फूर्तरुपले बीमा गर्ने अवस्था सिर्जना गर्ने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिनु होला।’

अर्थमन्त्री शर्माले लघुवित्त र लघुबीमालाई तालमेल गरी दुवैैलाई सँगसँगै जनता नठगिने किसिमले दूरदराजका गरीब एवम् साना किसानसम्म पुर्‍याउन निर्देशन दिँदै ठुला टावरका साथै सरकारी र निजीक्षेत्रका संरचनाहरुको समेत बीमा गर्ने र कृषि तथा पशुपन्छी बीमाको दाबी सजिलै पाउने गरी कृषि तथा पशुपन्छी बीमा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुपर्ने बताए।

अर्थमन्त्री शर्माले राष्ट्रिय पूँजी निर्माण र उत्पादनमा बीमालाई परिचालन गर्नेतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउँदै बीमा सूचना केन्द्र स्थापना गर्न र हरेक जिल्ला तथा पालिकामा बीमासम्बन्धी चेतना फैलाउन तालिमप्राप्त जनशक्ति तयार र प्रविधि विकासमा समेत जोड दिन आग्रह गरे।
कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बीमालाई आम जनताले विश्वास गर्ने गरी सुरक्षित, व्यवस्थित र विश्वसनीयरुपमा अगाडि लगेमा मात्र नागरिकको हित हुने बताए।

यस्तै, राजस्व सचिव कृष्णहरि पुष्करले बीमा क्षेत्रमा व्यवसाय र सेवाबीच सन्तुलन कायम गरी जेष्ठ नागरिक, बिरामी र अपाङ्गता भएकाहरुलाई समेत बीमामा कसरी समेट्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्बद्ध सबै सरोकारवालाहरुको सुझाव र बीमासम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन एवम् अभ्यास समेतका आधारमा राष्ट्रिय बीमा नीतिको मस्यौदा तयार गरिएको जानकारी दिँदै बीमा नीति आएपछि सोहीअनुरुप प्रदेश र स्थानीय बीमा नीति तर्जूमा हुने विश्वास व्यक्त गरे।

कार्यदल गठन
सोही कार्यक्रममा राष्ट्रिय बीमा नीतिका सम्बन्धमा प्राप्त सुझावहरुलाई समेटेर व्यवस्थापिका संसद्मा प्रस्तुत बीमा विधेयकसँग तादात्म्य मिलाउने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई परिमार्जन गरी अन्तिम रुप दिन एक कार्यदल समेत गठन गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको अध्यक्षतामा गठित कार्यदलका सदस्यहरुमा अर्थ मन्त्रालय, कानून तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिवहरु तथा बीमा समितिका निर्देशक रहेका छन्।

3510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका