जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार: आठ बैंक गाभिए, ग्लोबल बन्यो सबैभन्दा ठूलो

वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार: आठ बैंक गाभिए, ग्लोबल बन्यो सबैभन्दा ठूलो

आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने पर्ने व्यवस्था गरे । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो ।

चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैंकको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ ।

यसबीच केही वाणिज्य बैंकहरु मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभुत हुने गरी वाणिज्य बैंकको सङ्ख्या घटेको हो ।

पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैंक मर्जरको चरणमा छन् । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिनका लागि बुधबार आयोजित कार्यक्रममा अध्यक्ष पृथ्वीबहादुर पाँडेले व्यक्त गरेको धारणाले पनि सरकारको नीति कार्यान्वयनमा वाणिज्य बैंकहरू लागिपरेको स्पष्ट बुझ्न सकिन्छ ।

उनले बैंक तथा वित्तीय संस्था सबल बन्दा वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको बताए ।

दुई बैंकबीच सेयर स्वाप अनुपात १००:९० छ । एकापसमा गाभिएपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंककै अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् ।

नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकको प्रतिनिधित्व रहने गरी इन्भेष्टमेन्टको तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिबडेवाला र मेगाको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् ।

साविक इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रूपमा रहेका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहने छन् ।

मर्जरपश्चात् बैंकको कुल चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ, कुल पुँजी ५८ अर्ब रुपैयाँभन्दा बढी र कुल सम्पत्ति चार खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी कुल निक्षेप ३६० दशमलव दुई अर्ब तथा कर्जा लगानी ३२९ दशमलव ०६ अर्ब पुगेको छ ।

कुल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा देशकै ठूला वाणिज्य बैंकमध्येको अग्रणी बैंक बनेको छ । अध्यक्ष पाँडेका अनुसार बैंकले कुल जनसङ्ख्याको १० प्रतिशत नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।

पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित हुने भएपछि बैंकहरू हतार–हतार मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् ।

आठ वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबारसमेत शुरु गरिसकेका छन् । पुस महिनामा कुमारी र एनसिसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी बैंक तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिएर एकीकृत कारोबार शुरु गरिसकेका छन् ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक मर्जरपश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार शुरु भइसकेको छ ।

दुई बैंक १:१ शेयर अनुपातमा मर्जर भएका हुन् । एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँ, कुल निक्षेप तीन खर्ब २ अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।

मर्जरपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् ।

अमिरप्रताप राणाको अध्यक्षतामा चन्द्र बाँस्तोला, इमानसिङ लामा, कृष्णप्रसाद ज्ञवाली र महेश पोखरेल सञ्चालक समिति सदस्य रहेका छन् ।

नेपालमा ‘बिग मर्जर’मा बहार ल्याउने बैंकका रूपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । बैंकले पछिल्लोपटक बैंक अफ काठमाण्डूलाई गाभेको छ । यही पुस २५ देखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा कृष्णप्रसाद शर्मा, देवेन्द्रप्रताप शाह, क्याविनेट श्रेष्ठ, रामबहादुर भण्डारी, राधेश पन्त र मदनलाल जोशी सञ्चालक समिति सदस्य बनेका छन् ।

मर्जरपश्चात् बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यस आधारमा पनि यो बैंक सबैभन्दा ठूलो भएको छ । एकीकृत कारोबारपछि बैंकको कुल पुँजीकोष ५७ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप सङ्कलन चार खर्ब १० अर्ब रुपैयाँ, कर्जा प्रवाह चार खर्ब र कुल सम्पत्ति पाँच खर्ब रुपैयाँ पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पुर्‍याएको छ ।।

हाल ग्लोबल आइएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् ।

दक्षिण कोरियामा नेपाली बैंकको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैंक छ । बैंकमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

बैंकका अध्यक्ष ढकाल बैंक तथा वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने उद्देश्य हालसम्म विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरेर ग्लोबल आइएमई देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको बताउँछन् ।

‘हालसम्म पाँच वाणिज्य, १० वटा विकास बैंक र छवटा फाइनान्स गरेर २१ संस्था गाभिएर यो संस्था बनेको हो । ग्लोबल बैंक अहिले पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जालमा अधिकांश वित्तीय सूचकमा नेपालको पहिलो बैंक भएको छ’ उनले भने ।

त्यस्तै प्रभु र सेञ्चुरी बैंक मर्ज भएर यही पुस २६ गतेदेखि प्रभु बैंकको नामबाट एकीकृत कारोबार शुरु भएको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच एक बराबर एक सेयर रहने गरी एकापसमा गाभिएका हुन् । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी २३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

एकीकृत कारोबारपछि प्रभु बैंकको कुल सम्पत्ति तीन खर्ब ४० अर्ब रुपैयाँ, चुक्ता पुँजी २२ अर्ब रुपैयाँ, कुल निक्षेप दुई खर्ब ८४ अर्ब रुपैयाँ र कुल कर्जा प्रवाह दुई खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ ।

एकीकृत कारोबार शुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकको १२ अङ्कको खाता नम्बर परिवर्तन भई १६ अङ्कको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ ।

प्रभु बैंकबाट चार जना र सेञ्चुरी बैंकबाट तीन जना गरी कुल सात सदस्यीय सञ्चालक समिति बनेको छ । प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा रमेशसिंह खड्का, शङ्करप्रसाद कालिकोटा, रामेश्वर सापकोटा, मनबहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान सञ्चालक समिति सदस्य रहेका छन् ।

यसैगरी लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जरका लागि सम्झौता गरेका छन् । मर्जरका लागि दुबै बैंकबाट दुई-दुई जनाको मर्जर समिति बनाइएको छ । मर्जरपछिको नाम लक्ष्मी सनराइज हुने सहमति भएको छ ।

दुबै बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ । रासस

 

2280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका