जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुनचाँदी बोकेर किन भारत जाँदै थिए केएल दुगडका लेखापाल ?

सुनचाँदी बोकेर किन भारत जाँदै थिए केएल दुगडका लेखापाल ?

कोशी प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले शुक्रबार दिउँसो केएल दुगडका लेखापाल विनोदकुमार मुरारकासहित तीन जनालाई ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख भारतीय रुपैयाँसहित पक्राउ गर्‍यो । मुरारका ३२ वर्षदेखि दुगडको कम्पनीमा काम गर्दै आएका थिए । प्रहरीले मुरारकासहित उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका र चालक विराटनगर २ का ५२ वर्षीया विमल कामत पनि पक्राउ परेका छन् ।

मुरारकालाई त्यति धेरै सुन, चाँदी र भारतीय रकम साढे ७ लाख पक्राउ परेसँगै विभिन्न अड्कल बाजी भइरहेको छ । के मुरारका भारुको अवैध कारोबारी हुन् ? उनले सुनचाँदीको अवैध कारोबार गर्दै आएका थिए ? या उनले ‘हुण्डी’ का रूपमा त्यति धेरै सुनचाँदी र भारतीय नोट लिएर जाँदै थिए ? प्रहरीले अहिले यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरिरहेको छ ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार अनुसन्धानका लागि उनको कलडिटेल माग गरिएको छ । कलडिटेलमा सुनचाँदी व्यापारी वा अवैध भारतीय नोट कारोबारीसँग पनि जोडिएका छन् कि छैनन् भन्ने विषयमा प्रष्ट हुने प्रदेश प्रहरी कार्यालय स्रोतले बताएको छ ।

प्रहरीले उनीमाथि शङ्का गर्ने केही आधारहरू भेटिए पनि अवैध कारोबार गरेको पुष्टि हुने कुनै पनि आधार फेला पारेको छैन । प्रहरी स्रोतका अनुसार मुरारका केएल दुगड कम्पनीका भरपर्दा लेखापाल हुन् । यद्यपि उनी सौखिन थिए । ‘उनको कमिजको बटन पनि सुनको थियो, कमिजको चेन पनि सुनकै थियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘आफूले शरीरमा लगाएको कपडाकै चेन र बटन सुनको बनाएर अवैध तरिकाले भारत लैजाने गरेको हो कि भन्ने अनुसन्धान पनि प्रहरीले गरिरहेको छ । यद्यपि उनले आफ्नो सोखले यस्तो गरेको प्रहरीलाई बताएका छन् ।’

उनको छोरा र बुहारी भारतको अहमदवादमा बस्छन् भने छोरी ज्वाइँ भारतको पूर्णियामा बस्छन् । आफूले जम्मा गरेको सुन, चाँदी तथा गरगहनाहरू छोरा र छोरीलाई भागबण्डा गर्दिन भारत लिएर गएको उनले प्रहरीलाई बयान दिएका छन् । अवैध साढे ७ लाख भारतीय रुपैयाँ भने स्वास्थ्य उपचारका लागि लगेको उनले बताएको प्रहरीले जनाएको छ । यद्यपि ठुला घरानाका लेखापालले बिल बिनाको सुनचाँदी तथा नेपालमा प्रतिबन्ध रहेको भारतीय नोट बोकेर किन हिँडे भन्ने विषय शङ्काकै घेरामा रहेको प्रहरीले जनाएको छ । नेपालमा २५ हजारसम्म १ सय दर भन्दा मुनीका भारतीय नोट बोक्न पाइन्छ । तर, १ सय बढी दरका नोटहरू नेपालमा अवैध छ ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनको विराटनगरस्थित पोखरिया स्कुल छेउमा भव्य घर छ । भारतीय नागरिक रहेका उनको नाममा घर कसरी आयो भन्ने विषय पनि खुलेको छैन । उनीसँग भारतको बिहारस्थित कटिहारको वडा नम्बर १७ को आधार कार्ड रहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार मुरारकाले संगठित तरिकाले सुन तस्करी र अवैध नोटको कारोबारी गर्ने गरेको पर्याप्त आधार नदेखिएपनि आफ्नो सम्पत्ति बिस्तारै भारत लगेको हो कि जस्तो देखिएको बताए । ‘मुरारका भारतीय हुन् । केएल दुगडको जागिरबाट रिटायर हुन लागेका थिए । बिस्तारै बिस्तारै आफ्ना सामान भारततिर लग्ने सोचले गरेको हुनसक्छ । कुनै कुनै सामानहरू छरछिमेकले लगिदिनु भनेर दिएर लान लागेको थियो कि जस्तो पनि देखिन्छ । सामान हेर्दा घरायसी गरगहनाहरू धेरै छन्,’ पोखरेलले भने, ‘उनी सम्पत्ति हुने नै मानिस हुन् । आफ्नो झिटीगुन्टा बोकेर भारत जान लागेको जस्तो देखिन्छ ।’

पोखरेलले काम छाडेर हिँड्दा ८–१० लाख रुपैयाँ त लिएर जसले पनि जानसक्ने बताए । ‘यसमा ठुलो इस्यु छ जस्तो देखिएको छैन । धेरै सुनका गहना भएको कारण उसले बिल भरपाई देखाउन नसकेपछि पक्राउ गरेको हो,’ पोखरेलले भने, ‘उसको नियत अहिले नै देखिएको छैन । अनुसन्धानबाट थप कुरा खुल्दै जाला ।’

1130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका