जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बैंकका अध्यक्षलाई गभर्नरको निर्देशन- सेयर र घरजग्गामा कर्जा दिँदा सतर्क हुनू,

बैंकका अध्यक्षलाई गभर्नरको निर्देशन- सेयर र घरजग्गामा कर्जा दिँदा सतर्क हुनू,

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीबाटै पुँजी पलायन हुने क्रम बढेको भन्दै गंभीर चासो व्यक्त गरेका छन् । विदेशबाट वस्तु तथा सेवाको आयात गर्दा लागतभन्दा बढी मूल्य (ओभर इन्भ्वाइसिङ) देखाएर नेपालबाट पुँजी पलायन हुने क्रम बढ्न थालेको भन्दै अधिकारीले गंभीर चासो व्यक्त गरेका हुन् ।राष्ट्र बैंकलाई यस्तो सूचना प्राप्त भएको भन्दै गभर्नर अधिकारीले ओभर इन्भ्वाइसिङ गरी पुँजी पलायन गर्न मद्दत गर्ने बैंकलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

मंगलबार सबै बैंक तथा वित्त कम्पनीका अध्यक्षहरुलाई राजधानीको याक एण्ड यति होटेलमा बोलाएर गभर्नरले भने- ‘भन्सार शुल्क कम भएका वस्तुमा ओभर इन्भ्वाइसिङ गरेर बैंकिङ प्रणालीबाटै पुँजी पलायन भइरहेको छ भन्ने सूचना हामीलाई प्राप्त भएको छ, त्यसलाई गंभीररुपमा हेर्नुहोस् र रोक्नुहोस्, तपाईंहरुले रोक्नु भएन भने हामी कारबाही गर्न बाध्य हुनेछौं ।’

बैंकिङ प्रणालीबाटै पुँजी पलायन बढ्न थाल्नु खतराको संकेत भएको बताउँदै सचेत रहन गभर्नरले सुझाए । विदेशबाट सामान आयात गर्दा प्रतितपत्र (एलसी) खोल्ने क्रममा सामानको मूल्यभन्दा बढी मूल्य राखेर एलसी खोलिएको भेटिएपछि राष्ट्र बैंक कडाइ गर्ने मुडमा पुगेको हो । र, त्यसको प्रष्ट सन्देश गभर्नर अधिकारीले अध्यक्षहरुलाई बोलाएर दिएका हुन् ।

बैंकका अध्यक्ष र राष्ट्र बैंकका उच्च अधिकारीहरुबीच मंगलबार दिउँसो २ बजेदेखि ५ बजेसम्म छलफल भएको थियो ।

‘हामी जुन आकारको वस्तु तथा सेवा आयात गर्न जति रकम खर्च गरिरहेका छौं, त्यो वास्तविक नभएको भन्ने उहाँहरुको आशंका हो,’ एक बैंकका अध्यक्षले भने, ‘केही बैंकले व्यवसायीसँग मिलेर यस्तो काम गरिरहेका छन्, त्यसलाई रोक्न ढिला भइसकेको निश्चित पनि हो ।’

ओभर इन्भ्वाइसिङ गरेर नेपालबाट विदेशमा विदेशी मुद्रा पलायन गर्नेहरुमाथि राष्ट्र बैंकले छानविन प्रक्रियासमेत अघि बढाइसकेको प्रष्ट सन्देश दिएको छ ।

‘हामीले अहिले सचेत गराएका हौं, यो क्रम रोकिएन भने हामी बैंक र व्यवसायी दुबैलाई कानूनी दायरामा ल्याउँछौं,’ छलफलमा सहभागी राष्ट्र बैंकका एक अधिकारीले भने ।

त्यसैगरी, व्यवसायीहरुलाई बैंकको सञ्चालक समितिमा नबस्न गभर्नर अधिकारीले सुझाव दिए ।

‘तपाईं बैंकका अध्यक्ष तथा सञ्चालकज्यूहरुले नै व्यवसायमा पनि संलग्न हुनुहुन्छ, जसकारण स्वार्थको द्धन्द्ध भयो,’ अधिकारीले भने, ‘बिजनेश गर्नेहरु बैंकको सञ्चालक समितिमा नबस्दा राम्रो, प्रोफेशनल ल्याएर चलाउनूहोस् ।’

पछिल्ला वर्षहरुमा बैंकहरुमा संस्थागत शुसाशनको अवस्था कमजोर हुन थाालेको भन्दै गभर्नर अधिकारीेले बैंकका अध्यक्षहरुको ध्यानाकर्षण गराए ।

‘कर्पोरेट गभर्नेन्समा जोड दिनुपर्छ, कहाँ लगानी गर्ने कहाँ नगर्ने आफैंले छुट्याउनुहोस्,’ उनले भने, ‘घरजग्गा र सेयर बजारमा लागानी गर्दा विषेश सतर्क हुनुहोस् ।’

चालु आर्थिक वर्ष बैंकहरुको खराब कर्जा बढ्ने निश्चित भएको भन्दै त्यसबाट नआत्तिन उनले आग्रह गरे ।

‘हाम्रो बैंकिङ प्रणालीमा कर्जाको गुणस्तरको समस्या छ, विस्तारै सकरात्मक सुधार हुन्छ, हामी आत्तिनु भने हुँदैन,’ उनले भने ।

सम्पत्तिको गुणास्तर र मानव संशानको गुणस्तर विशेष मा जोड दिन उनले सुझाए ।

‘एचआरको क्वालिटी डिटोरेट भइरहेको छ, तालिममा खर्च बढाउनुहोस्,’ गभर्नर अधिकारीले भने ।

राष्ट्र बैंकले वर्षको एक पटक वाणिज्य बैंकका अध्यक्षसँग छलफल गर्दै आएको थियो । तर, यसपटक भने विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्षहरुलाई पनि बोलाएको हो ।

‘हामीले जारी गरेका नीति निर्देशनको के कति पालना भइरहेको छ भनेर जानकारी लिने र केन्द्रिय बैंकले भावी दिनमा कस्तो नीति लिन खोजिरहेको छ भन्ने सन्देश दिने उदेश्यले छलफल आयोजना गरिएको हो,’ नियमन विभागका कार्यकारी निर्देशकसमेत रहेका राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने ।

छलफलमा राष्ट्र बैंकको तर्फबाट गभर्नर अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र, नियमन विभागका भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललगायत सहभागी थिए।

छलफलमा अधिकांश बैंकका अध्यक्ष उपस्थित थिए भने अध्यक्ष उपस्थित नभएको बैंकका सञ्चालक उपस्थित थिए । दर्जन बढी बैंकका अध्यक्षले आफ्ना कुरा राखेका थिए ।

825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका