जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नाडा अध्यक्षमा आकास गाेल्छा छाडेर आफ्नै तयारीमा करण चौधरी

नाडा अध्यक्षमा आकास गाेल्छा छाडेर आफ्नै तयारीमा करण चौधरी

अटो व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि केही समय अघिसम्म सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठ र गोल्छा अर्गनाइजेसनका आकास गोल्छाको चर्चा थियो।

एक महिनापछि पुस २० र २१ मा हुने नाडा चुनावमा अध्यक्ष जिताउन गोल्छालाई चौधरी ग्रुपका करण चौधरीले सघाइरहेका थिए। गोल्छालाई सघाउन चौधरी नारायणगढ, बुटवल, वीरगन्जलगायत ठाउँ पनि पुग्न भ्याए।

तर, यहीबीच खेल अर्कै हुन पुग्यो। नाडाभित्र सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने कुरा सुरु हुन थाल्यो। सर्वसम्मत अध्यक्षको कुरा जोडतोडसाथ अगाडि बढेपछि श्रेष्ठले गोल्छालाई मनाउन सके चौधरीलाई अध्यक्ष दिने प्रस्ताव राखे। श्रेष्ठको प्रस्ताव सुनेर चौधरी गोल्छालाई सघाउन छाडेर आफैं अध्यक्ष बन्न तम्सिए।

सर्वसम्मत भए संस्था राम्रो हुने भन्दै श्रेष्ठ पन्छिएपछि गोल्छालाई मनाउन छाडेर चौधरी आफैं अध्यक्ष हुन तम्सिएको नाडा स्रोतले बतायो।

‘राजनबाबु श्रेष्ठले सर्वसम्मतले नाडा राम्रो हुन्छ भने म ब्याक हुन्छु भने। तर, करण चौधरीले आकास गोल्छालाई कभिन्स नगरी आफैं अध्यक्ष बन्न तम्सिए,’ स्रोतले क्यापिटल नेपालसँग भन्यो।

संस्था बलियो बनाउन आफू अध्यक्षबाट ‘ब्याक’ भएको श्रेष्ठले बताए। ‘अहिले अटो बजारको स्थिति राम्रो छैन। कोही अध्यक्ष बन्नुभन्दा सर्वसम्मत गराएर संस्था बलियो बनाउन मैले करण चौधरीलाई प्रस्ताव गरेको हुँ,’ श्रेष्ठले भने, ‘उहाँले पनि तपाईं ब्याक भए आकासलाई म मनाउँछु भन्नुभएको छ। केही समय बाँकी छ, मेरो त अहिले पनि भनाइ सर्वसम्मत गर्ने भन्ने नै हो।’

यता, गोल्छा पनि सर्वसम्मतको पक्षमा रहेको तर अध्यक्षबाट ब्याक नहुने पक्षमा छन्। चौधरी ब्याक हुन सक्ने उनको आशय छ।

‘करणजीलाई अफर आएको हो। उहाँ मिटिङमा पनि जानुभयो। यो सामान्य कुरा हो। अफर मलाई पनि आइरहेका छन्। मै सर्वसम्मत हुने सम्भावना पनि छ,’ उनले भने।

सर्वसम्मत हुन धेरै कुरा टुङ्गो लाग्नुपर्ने भएकाले हुन्छ कि हुँदैन अहिले नै भन्न नसकिने उनले बताए। ‘सर्वसम्मत भए संस्थाका लागि राम्रो हो, तर सर्वसम्मत गर्न अध्यक्षमात्र भएर हुँदैन। अरू पद पनि मिलाउनुपर्छ,’ उनले भने।

निर्वाचन भएको खण्डमा पनि आफ्नो पक्ष बलियो भएको गोल्छाको दाबी छ। बजाज, टिभिएस, महिन्द्रा, फोटोन, बिवाइडी, फोर्ड, हुन्डाईलगायत ठूलादेखि सानासम्मका व्यवसायी आफ्नो पक्षमा रहेको उनको दाबी छ।

श्रेष्ठको ढाडस पाएका चौधरी भने अहिले देशभरिका मतदाताहरूसँग निरन्तर सम्पर्कमा रहेको व्यवसायीहरू बताउँछन्।

२०७८ मंसिरमा सम्पन्न नाडा निर्वाचनमा चौधरी फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापासँग पराजित भएका थिए।

थापाले कुल १ हजार ४ सय १३ मत पाउँदा चौधरीले १ हजार ३ सय ४७ मतमात्र पाए। कार्यसमिति सदस्यमा भने चौधरी प्यानलका धेरै विजयी भएका थिए।

नाडाको चाहना सर्वसम्मत

दुवै पक्षले आ-आफ्नो तयारी गरे पनि नाडाले भने सर्वसम्मत गराउने प्रयास गरिरहेको छ। यसका लागि दुवै पक्षसँग दुई÷तीन चरणको बैठक भइसकेको नाडा अध्यक्ष थापाले बताए।

‘निर्वाचनपछि जतिसुकै मिलेर गए पनि केही न केही तुष बाँकी रहन्छ। त्यसले गर्दा संस्था कमजोर हुन्छ। त्यसैले हामीले सर्वसम्मत गराउन खोजेका हौं,’ उनले भने।

पछिल्लो वार्ता सकारात्मक भएको उनको भनाइ छ। ‘संस्था बलियो बनाउन केही साथीहरू ब्याक हुन्छु पनि भन्नुभएको छ,’ थापाले भने, ‘सर्वसम्मत गराउँदा अध्यक्षमात्र नभएर सबै पदाधिकारी र कार्यसमिति सदस्य पनि टुङ्गो लगाउनुपर्ने भएकाले केही समय लागेको हो।’

1080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका