जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ‘लोकतन्त्रमा समस्या आए संवाद गर्ने हो, झगडा गरेर बस्ने होइन: मन्त्री पुन

‘लोकतन्त्रमा समस्या आए संवाद गर्ने हो, झगडा गरेर बस्ने होइन: मन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्रालय नेपाल राष्ट्र बैंकको प्रतिस्पर्धी नभएको स्पष्ट गरेका छन् ।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा गरेको व्यवस्थापन सम्मेलन ९म्यानेजमेन्ट समिट०–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायनमान बनाउनुपर्ने सुझाव दिए ।

सरकार र राष्ट्र बैंक दुवैले जनताको अपेक्षा, आकांक्षा र संविधानले दिशानिर्देश गरेअनुसारका कानून र नियमावलीभित्र बसेर काम गर्ने भएकाले एकअर्कालाई आरोपित गर्नु गलत भएको उनको भनाइ थियो । पुनले सरकार र राष्ट्र बैंकबीच रचनात्मक, सहयोगात्मक र आपसी समन्वयात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिए ।

राष्ट्र बैंक मौद्रिक नीतिमार्फत सरकारको वित्तीय नीति कार्यान्वयन गर्ने निकाय भएकाले एक अर्कामा समन्वय नभए त्यसको असर मुलुकको समग्र अर्थतन्त्रमा पर्ने उल्लेख गरे ।

‘जहिले पनि अर्थमन्त्री र गभर्नरलाई प्रतिस्पर्धी जस्तो बनाउने गरिएको छ’, पुनले भने, ‘यो कसरी हुन सक्छ रु हामी एकअर्कामा झगडा गर्ने र आफूलाई माथि देखाउन अरुको गल्ती औंल्याउने होइन । यो व्यक्तिगत नभई राज्य सञ्चालनको विषय भएकाले जहाँ समस्या हुन्छ त्यहाँ मिलेर काम गर्ने हो ।’

पुनले राष्ट्र बैंक सञ्चालक समितिका ७ मध्ये ४ जना अर्थात बहुमत सदस्य सरकारले पठाएका व्यक्ति हुने भन्दै सरकारमा बस्नेले गर्भनरलाई आरोपित गर्न नमिल्ने स्पष्ट गरे । राष्ट्र बैंक सञ्चालक समितिमा सरकारका तर्फबाट अर्थसचिव र तीन जना विज्ञलाई सञ्चालकका रुपमा पठाउने व्यवस्था छ । यस्तै गर्भनर र दुई डेपुटी गभर्नर सदस्य हुन्छन् ।

बोर्डमा बहुमत भएको सरकारका प्रतिनिधिले गभर्नरलाई आरोपित गर्नु भनेको आफ्नो अयोग्यता र अक्षमता ढाकछोप गर्नु रहेको उनको टिप्पणी थियो ।

‘सरकार अर्थसचिव आफैंले बोर्डमा पठाउने । तीन जना अरु स्वतन्त्र विज्ञहरु बोर्डमा पठाउने । ७ मध्ये चारजना बहुमत लिएर बसेर गभर्नरलाई आरोपित गर्नु आफ्नो अयोग्यता र कमजोरी ढाकछोप गर्नु हो’, उनले भने, ‘ यदि हामीले पठाएका सञ्चालक र सचिव योग्यतामा ठीक छैनन् भने फिर्ता गर्ने या गभर्नर र डेपुटी गभर्नरसँग संवाद गरेर समस्याको समाधान गर्ने हो ।’

राष्ट्र बैंकको काम राजनीतिक नेतृत्वको भिजनलाई आफ्नो विज्ञतामार्फत कार्यान्यवन गर्नु पर्ने मन्त्री पुनले स्पष्ट गरे । ठूलठूला युद्धमा होमिएका मुलुकका बीचमा समेत वार्ताको माध्यमबाट युद्ध रोकिएको चर्चा गर्दै पुनले मुलुकको हितमा काम गर्ने उद्देश्यले अर्थमन्त्री र गभर्नरका बीचमा समस्या आए तत्काल संवादमार्फत समाधान खोज्न सकिने बताए ।

‘लोकतन्त्रमा समस्या आए संवाद गर्ने हो । ठूलठूला युद्धमा रहेका देशले त संवाद गर्छन् । प्रतिस्पर्धीबीच पनि संवाद हुन्छ । हामी त प्रतिस्पर्धी होइनौं नि ?’, उनले भने । पुनले हाल बजारमा पर्याप्त तरलता (लगानी योग्य रकम) भएकाले विगतमा तरलता अभाव भएका बेला ल्याइएका कठोर नीतिमा लचकता अपनाउन राष्ट्र बैंक नेतृत्वलाई आग्रहसमेत गरे ।

उनले नियामक निकायको काम थप अप्ठेरो पार्ने नभई सहजीकरण गर्नु पनि भएको धारणा राखे । राष्ट्र बैंकलाई राज्यले स्वतन्त्र नियामक निकाय मानेको र नियामकमा कार्यकारी स्वायत्तता हुने भएका कारण सरकारले उसको काममा हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरे । यद्यपि राज्यको निश्चित निर्देशनभन्दा बाहिर भने राष्ट्र बैंक वा कोही पनि नियामक निकाय हुन नसक्ने मन्त्री पुनले स्पष्ट गरे । कार्यक्रमको मञ्चमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि थिए ।

460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका