जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • ऋण असुली समस्याले बैंकहरूको नाफा १३ प्रतिशत घट्यो

ऋण असुली समस्याले बैंकहरूको नाफा १३ प्रतिशत घट्यो

२० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार यी बैंकहरूको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४६ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा २० वाणिज्य बैंकले ४० अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएका छन्, जबकि गत आर्थिक वर्षको यसै अवधिमा ४७ अर्ब १ करोड कमाएका थिए ।

वाणिज्य बैंकहरूमध्ये ८ बैंकको नाफा बढेको छ भने १२ को घटेको छ । नाफा बढाएका बैंकहरूमा कृषि विकास, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम, हिमालयन, लक्ष्मी सनराइज र सिद्धार्थ बैंक छन् । कृषि विकास बैंकको सबैभन्दा धेरै ९७ प्रतिशत नाफा बढेको छ भने नेपाल बैंकको सबैभन्दा धेरै ९२ प्रतिशतले घटेको छ ।

९ महिनामा वाणिज्य बैंकहरूमध्ये नविलले सबैभन्दा धेरै ४ अर्ब ६६ करोड खुद नाफा कमाएको छ । यद्यपि सो बैंकको नाफा पनि ८.७ प्रतिशतले घटेको हो । सोही अवधिमा नेपाल बैंकको नाफा सबैभन्दा कम १३ करोड रुपैयाँ छ । बैंकहरूको नाफामा आएको गिरावटले लगानीकर्ताको संभावित प्रतिफलमा समेत असर पारेको छ ।

किन घट्यो बैंकहरूको नाफा ?

बैंकहरूको नाफा घट्नुमा समयमै कर्जा रकम असुली नहुनु मुख्य कारण रहेको माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला बताउँछन् । ‘समयमै रिकभरी नहुँदा प्रोभिजन रकम बढ्न गयो, त्यसले सिधा नाफामा हिट गर्‍यो’ उनले भने । औद्योगिक तथा व्यापारिक क्षेत्र, घरजग्गा कारोबार, सेयर बजारमा देखिएको शिथिलताले समग्र बैंकिङ क्षेत्रमा रिकभरीको समस्या निम्तिएको छ । बैंकमा धितो राखिएका सम्पत्ति बिक्री गरेर बैंकहरूले लामो समयसम्म नउठेको कर्जा असुली गर्न सक्छन् । तर बैंकमा राखिएका सम्पत्ति पनि बिक्री नभएको अवस्था छ । ‘व्यवसायमा देखिएको शिथिलताले साँवा ब्याज नउठ्ने, धितो राखिएको सम्पत्ति पनि बिक्री नहुने समस्याले प्रोभिजन रकम बढ्यो’ कोइरालाले भने ।

समयमै उठ्न नसकेको साँवा तथा ब्याज रकम (निष्क्रिय कर्जा) बढेको बैंकहरूकै वित्तीय विवरणले पुष्टि गर्छ । बैंकहरूले समयमै उठाउन नसकेको साँवा तथा ब्याज रकम नै चैत मसान्तसम्म कुल कर्जामा ३.७२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको चैतसम्म यस्तो कर्जा २.९९ प्रतिशत थियो । १० बैंकको निष्क्रिय कर्जा ४ प्रतिशत नाघेको छ । ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, प्राइम, माछापुच्छ्रे, हिमालयन, लक्ष्मी सनराइज, नेपाल बैंक, नविल बैंक र राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४ प्रतिशत नाघेको छ ।

ऋणीले तिर्नुपर्ने साँवा तथा ब्याज रकम (किस्ता)मा ३ महिनाको भाखा नाघेमा सो रकम निष्क्रिय कर्जामा वर्गीकरण हुन्छ । निष्क्रिय कर्जालाई खराब कर्जा भन्ने गरिएको छ, तर राष्ट्र बैंकले कर्जाको वर्गीकरणका क्रममा भाखा नाघेको १ वर्ष पूरा भएपछि मात्रै खराब कर्जाका रूपमा व्याख्या गरेको छ ।

भाखा नाघेको समय घर्किँदै जाँदा बैंकहरूले सोका लागि लोन लस प्रोभिजन पनि बढाउँदै जानुपर्ने व्यवस्था छ । भाखा नाघेको १ वर्ष पूरा भएमा शत प्रतिशत लोन लस प्रोभिजन गर्नुपर्ने व्यवस्था छ, त्यसले बैंकहरूको नाफामा असर परेको हो ।

वितरणयोग्य नाफा ऋणात्मक :

बैंकहरूको खुद नाफाको रकम पोजेटिभ देखिए पनि सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने ऋणात्मक छ । धेरैजसो वाणिज्य बैंकहरूको चैत मसान्तसम्म वितरणयोग्य नाफा ऋणात्मक भएको छ । चैत मसान्तसम्म २० वाणिज्य बैंकहरूको औसत वितरणयोग्य नाफा नै ९ अर्ब ५३ करोड ऋणात्मक छ । चैत मसान्तसम्म ९ बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।

610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका