राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । तेस्रो पटक दिएको म्याद सकिएपछि आइतबार लामिछानेलाई अदालतमा पेस गरिएको थियो । अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि कात्तिक २० गते कास्की जिल्ला अदालतले १० दिनको म्याद सकिएपछि आइतबार प्रहरीले लामिछाने लगायतलाई अदालतमा पेस गरेको हो।
त्यसअघि थप गरिएको म्यादमा तिहार बिदा पनि परेपछि अदालतले तिहार बिदाको समेत गणना गर्दै १० दिनको समय दिएको थियो जसको समय शुक्रबार रातिबाट सकिएको छ । शनिबार(हिजो) बिदा भएकाले आज प्रहरीले लामिछानेलाई अदालतलमा पेस गरेको थियो । लामिछाने यतिबेला जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका छन् ।
लामिछानेलाई मंगलबार म्याद थपका लागि अदालतल पेस गरिँदा रास्वपाका कार्यकर्ताहरुले पोखरामा प्रदर्शन गरेका छन् । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छवि जोशीसहितलाई आज अदालत पेस गरिने छ । कास्की जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेलाई ७ दिन थप हिरासतमा राख्न अनुमति दिएको थियो ।
कात्तिक २ गते काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।
अदालतले प्रहरीलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न अनुमति दिएको छ । गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा अघि बढाउने प्रहरी तयारी छ । राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै रास्वपा भने बिरोधमा उत्रिएको छ ।