

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूह प्रतिनिधित्व गर्ने सञ्चालक पदमा बलराम पौडेललाई नियुक्त गरेको छ । आइतबार सम्पन्न बैठकले ललितपुर निवासी पौडेललाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उक्त पदमा यसअघि शशांक अग्रवालले प्रतिनिधित्व गर्दै आएका थिए । नयाँ सञ्चालक पौडेलको नियुक्तिसँगै संस्थाले लिएको दीर्घकालीन लक्ष्यमा थप ऊर्जा मिल्ने विश्वास लिइएको छ ।
पौडेलसँग करिब ३९ वर्षको बैंकिङ तथा लघुवित्त क्षेत्रको अनुभव छ । उनले नेपाल सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा सञ्चालित ‘ग्रामीण उद्यम तथा रेमिट्यान्स परियोजन’ मा प्रशिक्षण विशेषज्ञको रूपमा कार्य गरेका थिए । साथै, सिभिल लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक र साना किसान विकास बैंक लगायतका संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् ।
समाजशास्त्रमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक उपाधि प्राप्त पौडेलको अनुभव र नेतृत्व क्षमताले एनआईसी एशिया लघुवित्तलाई अझ सशक्त र अग्रणी संस्था बनाउनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ ।