

बीमा कम्पनीहरूबाट अझै ३५ अर्बभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूबाट १ लाख ५७ हजार ५५९ वटा बीमाको ३५ अर्ब ३६ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको हो ।
चालु आवको चैत्र मसान्तसम्ममा भुक्तानी हुन बाँकी दाबी संख्या जीवन बीमातर्फ ५२ हजार ६८७ रहेको छ भने निर्जीवनतर्फ १ लाख ४ हजार ८७२ रहेको छ । तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले ४ अर्ब ४३ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब ९४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
चैत्र मसान्तसम्ममा ३ लाख २ हजार ५२३ दाबीको ६२ अर्ब रुपैयाँ भुक्तानी भएको छ । जुन गत आवको चैत्रसम्मको तुलनामा दाबी संख्या १०.४७ प्रतिशत र दाबी रकम ३.४६ प्रतिशतले वृद्धि भएको छ ।
पछिल्लो पाँच आवको बीमा दाबी भुक्तानीको विवरण (रु.करोड)
तथ्यांकअनुसार दाबी भुक्तानीको संख्या र रकम क्रमश वृद्धि हुँदै गइरहेको छ । तथ्यांकअनुसार आव २०७७/७८ मा बीमा कम्पनीहरुले ५० अर्ब ७० करोड रुपैयाँ दाबीबापत्को रकम बीमितलाई भुक्तानी गरेका छन् । जसमा जीवन बीमा कम्पनीले ३३ अर्ब १६ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १७ अर्ब ५४ करोड रुपैयाँ भुक्तानी गरेका छन् ।
त्यस्तै, आव २०७८/७९ मा कम्पनीहरूले ६८ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । जुन आव २०७७/७८ को तुलनामा ३४.८५ प्रतिशतले वृद्धि हो । जसमा जीवन बीमा कम्पनीहरूले ४९ अर्ब १९ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १९ अर्ब ४३ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
आव २०७९/८० मा दाबी भुक्तानी ४.७२ प्रतिशतले वृद्धि देखिएको छ । उक्त आवमा जीवन बीमा कम्पनीहरूले ६० अर्ब २४ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २४ अर्ब १७ करोड रुपैयाँ गरी कुल ८४ अर्ब ४२ करोड रुपैयाँ दाबी बापतको रकम भुक्तानी गरेका छन् । आव २०८०/८१ मा दाबी भुक्तानी संख्या ७.९६ प्रतिशतले बढेको छ । उक्त आवमा बीमा कम्पनीहरूले ८४ अर्ब ४९ करोड रुपैयाँ दाबी बापतको रकम भुक्तानी गरेका छन्।