बैंकिङ्ग
नयाँ स्टक एक्सचेञ्जः शिवाकोटीको प्रतिवेदन सार्वजनिक गर्ने सेबोन सञ्चालक समितिको निर्णय

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सन्दर्भमा नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटी नेतृत्वको अध्ययन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक हुने भएको छ । बिहीबार बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।
नयाँ स्टक ल्याउनका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० माघमा शिवाकोटीको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति बनाएको थियो । उक्त समितिले २०८१ वैशाखमा सरकारलाई नेप्सेको पुनर्संरचना गरी नयाँ स्टकलाई लाइसेन्स दिन सुझाव दिएको थियो जसको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।
बिहीबारको बोर्ड बैठकले सोही प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सेबोन स्रोतले जानकारी दिएको छ । ‘बोर्ड बैठकले शिवाकोटी नेतृत्वले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ,’ सेबोन स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘यसका अलावा सेबोनले बनाएको समितिले निकालेको निष्कर्षका विषयमा पनि छलफल भएको छ ।’
गएको २०८१ पुस ५ मा नेपाल सरकार मन्त्रिपरिषद्ले चिन्तामणी शिवाकोटी नेतृत्वले तयार पारेको प्रतिवेदन कार्यान्वयनको बाटो खोलिदिएको थियो । यसपछि, सोही प्रतिवेदन कार्यान्वयनको लागि आवश्यक सुझाव सहित पेश गर्न भन्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बोर्डकै सञ्चालक समितिको नेतृत्वमा अर्को समिति बनाएका थिए ।
शिवाकोटीको प्रतिवेदन कार्यन्वयन गर्नका लागि कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक विनोदकुमार भट्टराईको नेतृत्वमा समिति गठन भएको थियो । उक्त समितिले १ महिना अघि नै बोर्ड अध्यक्षलाई कार्ययोजना सहितको प्रतिवेदन बुझाएको थियो ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































