
नबिल बैंकले ग्लोबल मनी विक अन्तर्गत देशका विभिन्न स्थानमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता अभियान कार्यक्रम गरेको छ । बैंकले सोमबार गोरखास्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले बैंकिङ प्रणाली, डिजिटल कारोबार, साइबर सुरक्षा लगायतका विषयमा व्यवहारिक जानकारी गरेको हो ।
आधुनिक बैंकिङका अलावा व्यवहारिक ज्ञान सिक्न पाएको भन्दै विद्यार्थीहरूले खुसी व्यक्त गरे । सो विद्यालयकी कक्षा १२की छात्रा लक्ष्मी श्रेष्ठले बचतको महत्त्व र बचत गरेको पैसा कहाँ र कसरी सुरक्षित रूपमा राख्ने जस्ता विषय जानकारी पाएको उनले बताइन् ।
‘पैसा बैंक जस्ता भरपर्दो संस्थामा जम्मा गर्नु पर्छ । दर्ता नभएका सङ्घ संस्थामा चाहिँ हामीले कहिल्यै पैसा जम्मा गर्न हुँदैन भन्ने कुरा एकदम सही लाग्यो,’ सिकेका कुरा मध्ये सबैभन्दा मन परेका कुरा बारे श्रेष्ठले भनिन् । सुन्दा सामान्य लाग्ने तर दैनिक जीवनमा धेरै उपयोगी हुने यस्ता कुरा अब आफ्ना साथीहरू र परिवारका सदस्यसँग पनि बाँड्ने उनले बताइन् ।
व्यवहारिक र दैनिक जीवनमा चाहिने कुरा सिक्न पाउँदा विद्यार्थीहरू उत्साहित देखिएका थिए र चाख लागेका विषयमा घरीघरी प्रश्न गर्दै ती विषयमा थप प्रस्ट हुँदै थिए । डिजिटल कारोबार गर्दा अपनाउनु पर्ने सुरक्षा उपायहरू बारे विद्यार्थीहरूले धेरै रुचि दिएर सुनेका थिए ।
मोबाइलमा व्यक्तिगत र संवेदनशील विवरण हुने र त्यो गलत हातमा गए समस्या पर्न सक्ने कुरालाई विद्यार्थीहरूले निकै ध्यान दिएर सुने। ‘मोबाइल बनाउन जाँदा सिम छोड्न हुन्न भन्ने महत्त्वपूर्ण कुरा पनि सिकेँ,’ श्रेष्ठले भनिन् । ‘मोबाइलको सिममा पनि हाम्रा महत्त्वपूर्ण व्यक्तिगत विवरणहरू हुने रहेछन्। मलाई थाहा थिएन ।’
यस वर्ष ग्लोबल मनी विक चैत २ देखि ८ गतेसम्म मनाइँदै छ । यस वर्षको नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ । यस अवसरमा नबिल बैंकले देशभर रहेका आफ्ना विभिन्न शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा सहभागी धेरै विद्यार्थीहरूका रुचि पनि यिनै विषयमा केन्द्रित रहेको उनीहरूले सोधेका प्रश्नबाट प्रस्ट हुन्थ्यो । धेरैले कर्जा कसरी लिने भन्ने सोधे भने कतिले धितोका रूपमा कस्ता सम्पत्ति राख्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए । कक्षा १२ मा अध्ययनरत छात्र अनीश खत्री चाहिँ विदेशबाट सही तरिकाले पैसा पठाउने तरिका सिकेकोमा खुसी व्यक्त गरे । ‘हामीले कमाएको पैसा कसरी लगानी गर्न सकिन्छ भनेर सिक्यौँ,’ उनले भने । ‘यो एकदमै उपयोगी कुरा हो । यस्तै विदेशबाट पैसा पठाउने माध्यमहरु रहेछन् । त्यसबारे पनि थाहा पाइयो ।’
नबिल बैंकले ग्लोबल मनी विक अभियान मार्फत देशभर रहेका करिब १ सय ९० विद्यालय मार्फत १५ हजार बढी विद्यार्थीहरूलाई वित्तीय शिक्षाबारे जागरण गर्ने योजना बनाएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































