जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ‘विचौलीयासंग १ कप चिया खानु अगाडी जेनजी सहिदकी आमा सम्झिनु होला’

Sticky Breaking News

‘विचौलीयासंग १ कप चिया खानु अगाडी जेनजी सहिदकी आमा सम्झिनु होला’

रबि लामिछाने, राष्ट्रिय स्वतन्त्र पाटी

‘विचौलीयासंग १ कप चिया खानु अगाडी जेनजी सहिदकी आमा सम्झिनु होला’

मलाई सम्झना छ पार्टी स्थापनाको सुरुका दिनमा हाम्रो कुरा सुन्न आउने मानिसको संख्या पनि यति पुर्‍याउन गाह्रो हुन्थ्यो। तर, आज त्यति संख्यामा हाम्रा सांसदहरुसहित कार्यक्रम गरिरहेका छौं। विश्वास त थियो किनकि जनताको आँखाबाट कहिले पनि आफ्नो आँखा पर पुर्‍याइएन। जनताको आँगनबाट कहिले पनि टाढा भइएन। आकाशमा जति उडे पनि जमिनमा एउटा खुट्टा जहिले पनि रहिरहन्थ्यो। हामीले जमिन छोडेका थिएनौं। विश्वास त थियो।

विश्वासलाई नेपाली जनताले यति धेरै जिम्मेवारीका साथ पठाउनु हुनेछ भन्ने कुरामा चाहिँ अलिकति कहिं कतै केही न केही सोचिएको थियो। तर, थाहा के थियो भने यो देश परिवर्तन चाहन्छ, मुलुकले परिवर्तन खोजेको छ। जनताले परिवर्तन चाहेपछि दुनियाँको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन। मात्र सही समूह, सही नेतृत्व मात्र चाहिन्छ। सायद इतिहासको त्यो एउटा विन्दुमा तपाइँ हामी आइपुगेका छौं।

गर्वका साथ हामी भन्न सक्दछौं कि नेपाली जनताले हामीमाथि इतिहासमा कसैलाई नगरेको विश्वास गरेका छन्। यस मानेमा रास्वपा परिवारको अभिभावक हुनुमा मलाई गर्व छ। चुनावी अभियानका क्रममा दौडिनु भएका साथीहरुको अनुहार हेरिरहेको छु। सबैको खटाई, तपाइँहरुको अनुहारले देखाएको छ। तर तपाइँहरुको अनुहार सधैं यस्तै हुनुपर्छ। जनतासँग सधैं भिजेको असिनपसिन भएको जनतासँग सधैं गाँसिएको नेतृत्व र जनताको बीचमा एउटा ठुलो पर्खाल छ।

कयौं नेताहरुसँग जनता नजिक हुनै चाहँदैनन्। किन उनीहरुलाई यो आफ्नो मान्छे हो भन्ने नि लाग्दैन। आज घरघरमा नमस्कार गरेर हामी पुगेका छौं। भोलि तिनले गरेको नमस्कार पनि नफर्काउने ठाउँमा तपाइँ हामी पुग्न सक्छौं। होसियार त्यो होइन। त्यस्तो नेतृत्व जनताले खोजेका होइनन्।

आज तपाइँहरुले खुसियाली मनाउनु भएको छ। तपाइँहरुको निधारको अबिर पनि कतिको त गएको छैन। कतिपय अझै पनि अबिर माला लगाइरहनु भएको छ। हो, त्यस्तै सेलिब्रेसन नेपाली जनताले अबको पाँच वर्ष प्रत्येक दिन गर्न सक्ने गरी काम गर्नुपर्छ। यो पाँच वर्षलाई सामान्य जस्तो सोच्नु भयो भने त्यसले अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ। राजनीति यसैगरी चल्नेवाला छैन। कुनै पनि चिज हिजो जस्तो चल्नेवाला छैन। सर्लक्कै काँचुली फेर्ने हो। सर्लक्कै काँचुली फेर्नका लागि भनेर नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरुका लागि ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्नुहुँदै रास्वपाका सभापति रवि लामिछाने । तस्बिरः गोपाल दाहाल/रासस

हामी कानुन बनाउन आएका हौं। कानुन बनाउने प्रमुख जिम्मेवारी तपाइँहरुको काँधमा नेपाली जनताले दिएका हुन्। उनलाई थाहा छैन, त्यो कानुन फेरेर उनको घरको बाटो बन्छ? उनको धारामा पानी आउँछ? बिजुली आउँछ? इन्टरनेट चल्छ? उनलाई थाहा छैन। तर तपाइँलाई थाहा हुनुपर्छ कुन धाराले कहाँ अड्काएको छ मान्छेको घरमा धारा आउन? तपाइँलाई थाहा हुनुपर्छ अध्ययन गर्नु पर्ने हुन्छ, त्यसकारण यसपटक यो शक्तिको दौडधुप यताउता यसलाई भनेर हुन्छ कि उसलाई भनेर हुन्छ कि यसो भेटेर गएर फोटो खिचेर हुन्छ कि? यो पसल बन्द गर्नुहोला।

कानुन निर्माताका रुपमा हाम्रो जिम्मेवारी अत्यन्त गहन छ। कयौं पछिल्लो परिवर्तन संविधान कार्यान्वयन हुनका लागि समेत कानुन बन्न सकेका छैनन्। संविधान निर्माण भएको यति लामो समय हुँदा समेत विभिन्न बाधा अड्चन भए। तर नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग दुई तिहाईको बहुमत दिएका छन्।

अब के को बाधा? अब केले अड्काउँछ? हामीलाई अब अड्काउने भनेको तपाइँ हाम्रो नियतले मात्रै हो। अर्को कुरा धेरै लामो अनुभव त मेरो राजनीतिमा रहेन। जति समय राजनीतिमा रहें, सधैभरि विभिन्न किसिमका प्रहार सामना गर्नुपर्‍यो। यो पार्टी जन्मेदेखि यसमाथि प्रहार भयो। पार्टीको नाममा मुद्दा चल्यो।

यो पार्टीलाई जन्मैदेखि उखेल्ने कोसिस भयो। बचाउँदै लिएर आउन सक्यौं। यो पार्टीको चुनाव चिह्नमा मुद्दा चल्यो। यो पार्टीको चुनाव चिह्न नै भत्काइदिने गरी प्रहार भए। स्थापित राजनीतिक दलहरुबाट, विभिन्न स्वार्थ समूहबाट, विभिन्न शक्ति समूहबाट जोगाएर ल्यायौं हामीले। हामीले घन्टी बचायौं। किनकि नेपाली जनताका लागि घन्टी बचाउनु पर्थ्यो, घन्टी बजाउनु पर्थ्यो।

सजिलो थिएन यो देशका सम्पूर्ण शक्तिहरु एक ठाउँमा उभिंदा पनि हामीले खुट्टा कमाएनौं। किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो। एकपटक चुनाव त आओस न, अनि हामी देखाइदिन्छौं भनेर हामीले २०८४ कोरेका थियौं। हरेक गतिविधि जनताले हेरेका हुन्छन्।

जनताको चेतनालाई कसै कसैले चुनौती दिन्छन्, जनता नै खराब भयो कि भनेर चुनौती दिन्छन्। होइन यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई सिट होइन, एकैपटक दुई तिहाई दिन सक्थे जनताले। तर अघिल्लो चुनावमा जनताले के भने यी नयाँहरुलाई एकपटक हेरौं ताकि यिनीहरु नमात्ने हुन् त्यति मात्र सिट दिउँ र पुरानाहरुलाई सच्चिने अवसर दिनेगरी यिनीहरुलाई पनि निमिट्यान्न नपारौं भनेर नागरिकले विवेकपूर्ण ढंगले मतदान गरे।

तर नागरिकको त्यो विवेकलाई दुई तिहाई पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ, नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले ३६ वर्षमा कुरे तपाईं हामीलाई ३६ महिना/ ३६ दिन पनि कुर्ने वाला छैनन्। किनकि जनतामा अब्बल चेतनामा आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरुका लागि ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्नुहुँदै रास्वपाका सभापति रवि लामिछाने । तस्बिरः गोपाल दाहाल/रासस

अब कानुन निर्माताका रुपमा तपाइँहरुको दौड स्वार्थ समूहको घरघरमा होइन। गुट बनाएर कांग्रेस एमालेलाई जितिंदैन साथी हो, कुनै गुट बनाउनु पर्दैन। घन्टीका मुनि सबै अटाउन सक्छौं। घन्टीसँग त्यति धेरै ताकत छ कहिं गुट बनाउनु पर्दैन। आफ्नो पोजिसन के हुन्छ? म कहाँ हुन्छु? मलाई के हुन्छ? पार्टीमा मेरो हैसियत के हुन्छ? संसदमा मेरो हैसियत के हुन्छ? सरकारमा मेरो हैसियत के हुन्छ? यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना राजनीतिक दलका नेताहरुभन्दा पनि नराम्रो हुन्छ। यो कुरा म तपाइँहरुलाई ‘डे वान’मा बताउन गइरहेको छु।

त्यस कारणले आफूलाई सेन्टरमा राख्ने होइन। राजनीति आजसम्म त्यस्तै भयो। राष्ट्रिय सहमति भन्दै राजनीतिक सहमति गरेर नेताहरुले आ-आफ्नो ठाउँ सुरक्षित राखे। पार्टीहरुले आ आफ्नो ठाउँ सुरक्षित राखे। तर देशलाई सुरक्षित राख्ने हो कि होइन देशलाई केन्द्रमा राखियो कि राखिएन? त्यो महत्वपूर्ण कुरा हो।

यतिखेर देश केन्द्रमा छ, देशले देखेको सपना हामीले पुरा गर्ने हो तपाइँको र मेरो मन्त्री, प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन। मेरो सपनाको भारी बोक्नका लागि यो समाज बाध्य छैन, तर यो समाजको सपनाको भारी तपाइँ हामीले बोक्ने हो। त्यसका लागि हामीलाई मत दिएर पठाएका हुन्।

सामान्य कुरा होइन, यहाँ सहिदकी आमा छिन्। ध्यान दिनुहोला। कुनै पनि बिचौलियासँग भेटघाट गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुट्को पानी खानुभन्दा अगाडि सहिदकी आमालाई सम्झिनु होला। आफ्नो छोरो चढाएर संसद् छिरेकी छन्, सहिदकी आमा सामान्य कुरा होइन। यो देशमा बिचौलियाको बिगबिगी छ।

मैले छोटो समयको राजनीतिमा जुन देखें, त्यो अनुभव तपाइँहरुलाई सुनाउँदै छु। तपाइँहरुलाई विचलित बनाउन तपाइँहरुलाई प्रभावित बनाउनका निमित्त मानिसहरु दौडिरहेका छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाट एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ।

प्रत्येक पटक हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौं। त्यो अभूतपूर्व जनमत प्राप्त गरेसँगै, यिनीहरुबीच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ ठाउँबाट प्रयास भएको तपाइँहरु हेर्नुहुन्छ होला नि। समाचारभित्रका नियतहरु पनि त हेर्न सकिन्छ नि कहिलेकाहीँ त। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ।

हामीलाई फुटाउने, हामीलाई गिराउनेहरुको बिगबिगी छ। हामीविरुद्ध पनि त धेरै मत आएको छैन। लाखौं भोट छ नि जसले हामीलाई भोट दिएनन्। अन्य विभिन्न नेताहरु छन्। प्रतिपक्षको कमी रहँदैन। विरोधीहरूको कमी रहँदैन। फरक यति हो कि हामी कति बलियो छौँ। आफू बलियो हुनुपर्छ अरुलाई दोष लगाएर अर्कालाई फुटायो, अर्काले शक्ति गर्‍यो, विदेशीको चाल, उसको चाल, यसको चाल यस्ता शब्दहरूलाई अब हामीले मेटाउनुपर्छ।

यो कसैको चाल होइन। हामी मिल्न सकेनौं भने हामी स्वार्थको बन्दी बन्यौं भने मात्रै समस्या पर्ने हो। विभिन्न राजनीतिक पृष्ठभूमिबाट रास्वपामा हुनुभएका साथीहरुलाई मेरो स्वागत छ। तपाइँहरुले कहिं कतै लघुताभाष राख्नै पर्दैन। मलाई पुरानो पार्टी भन्छन् कि अथवा पुरानो पार्टीहरुलाई गाली गर्दा मैले अनुहार रातो पार्नु पर्छ कि केही पनि भन्नु पर्दैन।

हृदय ठुलो पारेर हामीले तपाइँहरुलाई स्वागत गरेका छौं। खाली यति हो कि पुरानो प्रवृत्तिबाट तपाइँ सच्चिएर आउनु पर्ने हुन्छ। किनकि देश त्यस्तो अवस्था गरी नचलोस भनेर कलिला भाइबहिनीहरुले रगत बगाएका हुन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ।

यो पाँच वर्ष नियमितरुपमा आएको चुनाव होइन। यो त सहिदहरुले रगत बगाएर आएको चुनाव हो। यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्काफुल्का रुपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। तपाइँ हाम्रा गतिविधिहरु नागरिकले हेरिरहेका छन्।

भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्तिबाट, कुनै क्रियाकलापबाट हुनु हुँदैन। प्रत्येक भोटको इज्जत हुनुपर्छ।‍ संचार माध्यममा बोल्न रमाइलो लाग्छ, आफ्ना बारेमा समाचार आउँदा रमाइलो लाग्छ। आफ्नो बारेमा वाहीवाही हुँदा रमाइलो लाग्छ।

संचारकर्मी साथीहरु पनि यही समाजका साथीहरु हुन्, उनीहरु मित्र हुन्। तपाइँले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्धमा के प्रभाव पारेको छ? त्यो कुरा याद नगरिकन तपाइँहरुले त्यस्ता किसिमका हल्काफुल्का अभिव्यक्ति दिनुभयो भने देशलाई दीर्घकालीन रुपमा असर गर्न सक्छ। अब तपाइँ हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद हो। जिम्मेवार राजनीतिकर्मी हो, जिम्मेवार प्रतिनिधि सभाको सदस्य हो।

त्यसकारणले आफ्नो भूमिका परिवर्तन भएको छ। जोकोहीलाई अझै पनि म अभियन्तै हुँ भन्ने लाग्छ, अझै पनि पुरानो पेशाकर्मी हुँ जस्तो लाग्छ, जोकोहीलाई म हिजोकै जस्तै भनौं न यति जिम्मेवार नभए पनि सार्वजनिक अभिव्यक्ति जस्तो दिन्थ्यो त्यस्तै दिन्छु भन्ने जस्तो लाग्छ भने ‘यु आर मोर देन वेलकम टु लिभ दिस हल’।

यो देशका कानुनहरु फेर्नु पर्नेछ। कानुनहरुमा संशोधन ल्याउनु पर्नेछ। नयाँ कानुनहरु ल्याउनु पर्नेछ। मलाई मत दिएका जनताको घरघरमा खुशीयाली आउनु पर्नेछ। मलाई मत दिएका जनताको चुलो बाल्नु पर्नेछ। मलाई मत दिएका जनतालाई प्रभाव पार्नु पर्नेछ। उनीहरुले मैले जस्तै अस्पतालमा उपचार गर्न जाँदा बेड पाउनुपर्छ कसैको सोर्स बिना भन्ने कुराको महसुस तपाइँहरुलाई हुनुपर्छ।

म तपाइँहरुलाई अनुरोध गर्न चाहन्छु, सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुस्। सरकारी सेवालाई चुस्त बनाउने हो, जनताका छोराछोरीहरुलाई जुन अप्ठ्यारो पर्छ तपाइँले मात्र सुविधा प्राप्त गर्नु जायज होइन। तपाइँलाई बाध्यकारी भन्दिन, महसुस गर्न सक्नुपर्छ।

अर्को महत्वपूर्ण कुरा रास्वपा बनेको साढे तीन/चार वर्ष पनि भएको छैन। यसबीचमा हामी विभिन्न पृष्ठभूमिका साथीहरु जोडिएका छौं। रास्वपाभित्र देशको अनुहार छ, अहिले जोडिएका साथीहरु यो देशको अनुहार यही समाजबाट हामीले प्राप्त गरेका अनुहारहरु हुन्।

हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला। कसैको सामान्य किसिमको सार्वजनिक जीवन होला, कसैको उच्च किसिमको सार्वजनिक जीवन होला। जे जस्तो भएता पनि एउटा कुरा आज मैले साथीहरुलाई राखेर स्पष्ट के बताउनु पर्छ भने सरकार दुई तिहाईको छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, संख्या घट्ला अल्पमतमा पर्ला भन्ने कुराको प्रवाह नगरिकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाईका साथ लागू गर्नेछ।

एउटा स्वतन्त्रता हुन्छ, एउटा अनुशासन हुन्छ। एउटा फ्रिडम र एउटा डिसिप्लिन यस बीचको पातलो एउटा रेखा छ। साथीहरु त्यो रेखालाई हामीले ध्यान दिनु पर्ने हुन्छ। तपाइँहरुको स्वतन्त्रता हरण गर्ने पार्टीको कुनै पनि उद्देश्य छैन। पार्टी सभापतिका रुपमा मेरो कुनै पनि आपत्ति छैन। तपाइँ स्वतन्त्रताको सदुपयोग गर्नुहोस्। तर अनुशासित भएन, अनुशासनका लागि पार्टीले आफूलाई स्थापित गराउँछ। पार्टीले अनुशासनका विषयमा तपाइँहरुलाई कडाईका साथ पालना गराउने छ। किनभने परिवार ठुलो भएको छ, अनुशासित हुन सकेनौं भने त्यसले अर्कै किसिमको एउटा अराजकता सिर्जना गर्छ।

अराजकतालाई हामी कदापि स्वीकार्न सक्दैनौं। यसै पनि विभिन्न किसिमका अराजकताबाट समाज आक्रान्त भएको यो अवस्थामा हामीले अत्यन्त अनुशासित हुनुपर्ने छ। म अघिपछि भन्दा आज अलिकति फरक सुनिएको छु होला। तपाइँले त्यो महसुस गर्नु भएको छ होला, अलिअलि कडाईका कुराहरु गर्‍यो, अलिअलि कारबाहीका कुराहरु गर्‍यो। यसले राइट टु रिकलको कुराकानी गर्‍यो, अलि खबरदारी गरे जस्तो गर्‍यो भन्ने कुरा तपाइँहरुलाई लागेको होला।

लाग्नुपर्छ तपाइँलाई किनकि जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट खन्याएर दिएका छन् नि। त्यो ठुलो जिम्मेवारीको महसुस तपाइँलाई प्रत्येक दिन हुनुपर्छ। साथी हो प्रत्येक दिन हुनुपर्छ। यो देश अहिले पनि बनेन भने कहिले पनि बन्दैन भनेर साथीहरुले भनेका छन्। हर ठाउँमा तपाइँ भोट माग्न जाँदाखेरि आमा बाहरुले रुँदै के भनेका छन्? तपाइँहरुलाई थाहा छ बाबु यो देश बचाउ भनेका छन्। सुन्दाखेरि यो देश बचाउ कति सामान्य कुरा हो नि त।

कति गहन कुरो छ, कति गहिरो कुरो छ। कति ठुलो कुरो छ भन्नुस त। यो देश बचाउन हामीजस्ता सामान्य मान्छेको हातमा निलो झण्डा फरफराउँदै हातमा घन्टी बोकेर हिंडेका हाम्रा हातमा हाम्रा काँधमा देशका ज्येष्ठ नागरिकदेखि बालबालिकासम्मले यो देश बचाउ भनिरहेका छन्। यो जिम्मेवारी हो, ठुलो शक्ति हामीले प्राप्त गरेका छौं। जति ठुलो शक्ति त्यति ठुलो जिम्मेवारी। साथी हो कृपया यो जिम्मेवारीको महसुस यहाँहरुले गर्नुहोला। म जो जहाँ जुन ब्याकग्राउन्डबाट आउनु भएको छ म सबैलाई स्वागत गर्न चाहन्छु।

यहाँ व्यापार व्यवसाय क्षेत्रका साथीहरु पनि हुनुहुन्छ। विद्यार्थी साथीहरु पनि हुनुहुन्छ। जेनजी पुस्ताका सबै साथीहरु हुनुहुन्छ। युवा साथीहरु हुनुहुन्छ। महिला साथीहरु हुनुहुन्छ। सीमान्तकृत वर्गलाई प्रतिनिधित्व गर्ने साथीहरु हुनुहुन्छ। सामाजिक अभियन्ता हुनुहुन्छ, कवि, कलाकार मोडल रोलमोडल सबै हुनुहुन्छ। पूर्वप्रशासकदेखि लिएर सबै हुनुहुन्छ।

यति ठुलो यो परिवारलाई एउटै धारमा, एउटै ट्रयाकमा लिएर जानका निमित्त अनुशासनको अत्यन्त ठुलो खाँचो हुन्छ। म साथीहरुलाई यति भन्न चाहन्छु म तपाइँहरुको मिडिया प्रेजेन्सप्रति कहिं कतै दुख मनाउ गर्दिन। तर आफू अभिव्यक्त हुनुभन्दा पहिला तपाइँले पार्टी पंक्तिसँग सल्लाह गर्नुहोला।

तपाइँको सानो बोलीले मतदान गर्ने अर्को मानिसको चित्त नदुखोस्। तपाइँको सानो अभिव्यक्तिले देशका महत्वपूर्ण सम्बन्धहरुमा आँच नपुगोस्। देशका कयौं गहन विषयहरु हुन्छन् अर्थतन्त्र लगायत विषयहरुमा तपाइँका हल्का टिप्पणीले हामीप्रतिको आशा निराशामा बदलिन सक्छ। त्यस कारणले मैले एउटा अभिभावकको हिसाबले तपाइँहरुलाई सचेत गराउन खोजेको हुँ।

अब संसद्को सेसन चलेभन्दा बाहेक तपाइँहरुको भेट जनतासँग हुनुपर्ने छ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नु होला। तपाइँको निर्वाचन क्षेत्रमा कुनै पनि मान्छेले दु:ख पायो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाइँको हुनेछ। किनकि तपाइँलाई उसले जिताएर पठाएको हो। आफूले सुख पाउँछु भनेर पठाएको हो, तपाइँलाई सुख दिन होइन। तपाइँका माध्यमबाट मैले र मेरो परिवारले सुख पाउँछ होला भनेर तपाइँलाई भोट दिएर पठाएको हो। त्यस कारणले ठुलठुला हल या ठुला ठुला विदेशी कार्यक्रमको सेमिनारमा होइन, ती गाउँ टोल बस्ती चिया चौतारोहरुमा आफ्ना सांसदहरुलाई देख्न चाहन्छु।

हामी सांसद भयौं भन्दैमा त्यो सांसद भएको ब्याचले या त्यो सर्टिफिकेटले एकाएक ज्ञान दिने होइन। अध्ययनको आवश्यकता पर्छ। ज्ञानको आवश्यकता पर्छ। आफू शक्तिशाली भएँ भनेर आफ्नो चालचलन आफ्नो व्यवहारै परिवर्तन गर्ने कयौं साथीहरु पनि मैले देखेको छु। त्यसमा विशेष ध्यान दिनु होला। नागरिकसँग नजिक रहनु होला।

चुनाव त फेरी पनि आउँछ। त्यतिखेर हामीले भनेका छौं। यसपटक हामीले इतिहास रच्ने कोसिस गरेका छौं। हामीले नागरिकसँग करार गरेका छौं। नागरिक हामीलाई भोट हाल्न तयार थिए। तर पनि हामीले अतिरिक्त प्रतिबद्धता किन गर्यौं भने हामी कमिटेड छौं।

यसपटक परिवर्तन गरेरै छाड्ने हो, यसपटक काँचुली फेरेरै छाड्ने हो भनेर हामीले नागरिकसँग करार गरेका छौं। त्यो करारका अक्षर अक्षर पढ्नु होला। र तपाइँहरुमध्ये कोही यही हलमा भएकामध्ये नै कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरु हुनुहुन्छ।

तर कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानो मन्त्री भनेर त्यस्तो चिजलाई बन्द गर्दिनु होला। किनभने अहिलेसम्म केही पनि थाहा छैन। पार्टीले क्याबिनेटमा क-कसलाई पठाउँछ? भन्ने कुराको निर्णय आज यतिखेर तपाइँसँग उभिएको बेलासम्म हामीले गरेका छैनौं। पार्टीले सही निर्णय गर्छ। कसैलाई तपाइँले भन्नु पर्दैन, हामीलाई थाहा छ।

तपाइँहरुको विज्ञता थाहा छ, तपाइँहरुको क्षमता थाहा छ। कयौं साथीहरु देखिएको देखिनुहुन्छ, कयौं साथीहरु छेकिएको छेकिनुहुन्छ। कहिलेकाहीं कसैले जति देखाउँछु भने पनि देखिंदैन। कसैले लुकाउँदा पनि देखिन्छ। क्षमता भन्ने कुरा त्यस्तो हुन्छ।

त्यस कारणले कतिपय अलि बढी चर्चामा आएका साथीहरु र चर्चामा आउन नपाएका साथीहरु सबैलाई पार्टीले हेरेको छ। कयौं विषयका विज्ञ साथीहरु हुनुहुन्छ। म संचारकर्मी साथीहरुलाई के पनि अनुरोध गर्न चाहन्छु भने सार्वजनिक चासो र सार्वजनिक छविमा आइसकेका भन्दा पनि एक सय एक विज्ञ साथीहरु यो हलभित्र हुनुहुन्छ।

अलिकति क्यामेरालाई फोकस गर्नुभयो, अलिकति ‘टिल डाउन टिल अप लेफ्ट राइट’ गर्नुभयो भने यो हलभित्र एक सय एक विज्ञ साथीहरु हुनुहुन्छ। त्यस कारणले आम नागरिकलाई ती साथीहरुबारे पनि जानकारी दिदिनु होला है। चलेका, देखिएका, सुनिएका साथीहरु त छँदै हुनुहुन्छ। त्यहाँतिर पनि अलिकति ध्यान दिनुस ताकि नागरिकले थाहा पाउन कि रास्वपाभित्र यस्ता मान्छेहरु पनि रहेछन् भन्ने कुरा।

अधिकांश धेरै सांसदका रुपमा नयाँ साथीहरु आउनु भएको छ। स्वाभाविक रुपमा के होला? कसो होला? कस्तो होला? भन्ने कुरा तपाइँलाई लागेकै हुनुपर्छ। चुनावका बेलामा जुन मेहनत तपाइँले गर्नुभयो त्यो खटाईका हिसाबले त्यो मेहनत सायद नपर्ला। तर सोचाईका हिसाबले, पढाईका हिसाबले, अध्ययनका हिसाबले, रिसर्चका हिसाबले त्यो भन्दा कम मेहनत गरेर चाहिँ परिवर्तन आउन सक्दैन।

त्यस कारणले तपाइँको काँधमा अत्यन्तै ठुलो जिम्मेवारी आइपरेको छ। यसको महसुस गर्नु होला म फेरी पनि दोहोर्‍याएर भन्न चाहन्छु संसारको कुनै पनि देशले बिरलै पाउने यो अवसर तपाइँ हामीले प्राप्त गरेका छौं।

आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौं। भोट माग्दा हामीले आम जनतालाई के भनेका थियौं भने यसपटक तपाइँले आफ्नो भाग्य आफ्नै हातले लेख्ने हो इतिहास राख्ने हो।

विभिन्न ठाउँमा विभिन्न साथीहरुसँग भेटघाट गर्दा म आफैं पनि पुगेको र तपाइँहरुको हात समातेर भनेको म सम्झन्छु। हामीले भनेका थियौं यसपटक आफ्नो हातले आफैं इतिहास लेख्ने हो। आज म तपाइँलाई यो हलभित्र भनिरहेको छु साथी हो, यो देशको भविष्य कस्तो लेख्ने? तपाइँको हातमा छ, मात्र तपाइँको हातमा छ।

यसलाई लिएर यसलाई चाहिँ उत्सवका रुपमा भन्दा पनि जिम्मेवारीका रुपमा अगाडि बढाउनुपर्नेछ। त्यसैले म सबैलाई यसको महसुस गर्नका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु।

म फेरी पनि भन्छु यो सामान्य परिस्थितिले आएको होइन। भाइबहिनीहरुले, ससाना भाइहरुले आफ्नो रगत बगाएर ल्याएको यो परिवर्तनलाई संस्थागत गरेर अर्को निर्वाचनमा कुनै पनि उम्मेद्वारले भोट माग्न जान नपरोस्। हाम्रो काम बोलोस् भन्ने हेतुले तपाइँहरुले काम गर्नु हुनेछ।

नजानेको कुरा सिक्नका लागि कहिले पनि अप्ठ्यारो मान्न पर्दैन। मैले अघि नै भनें, हामीले सांसदको लोगो लगाउने बित्तिकै हामी सांसदको कुर्सीमा बस्ने बित्तिकै या संसद् भवन छिर्ने बित्तिकै ज्ञान ओहिरिएर हामी कहाँ आउने होइन। फेरि पनि मेहेनत गर्नुपर्छ। फेरी पनि परिश्रम गर्नुपर्ने हुन्छ। कहाँ कहाँ समस्या परेका छन् त्यसबारे ध्यान दिनुपर्ने हुन्छ। मलाई आशा छ यति प्रबुद्ध, यति क्षमतावान, यति युवा, यति समावेशी, यति धेरै साथीहरु एक ठाउँमा उभिंदा पनि यो देश बन्दैन भने यति साथीहरु मिलेर पनि बनाउन सकिएन भने कसले बनाउन सक्ला?

यो देशको सबैभन्दा ठुलो समस्या मैले देखेको सामाजिक न्याय हो। सामाजिक न्यायका लागि लड्नुपर्ने हुन्छ। आम मानिसको आँखाले देख्ने विकास भनेको भौतिक पूर्वाधारको विकास हुन सक्दछ। ठुला ठुला बिल्डिङ, चिल्ला सडकहरु विकासका सूचक हुन सक्दछन्। मलाई सोध्नुहुन्छ भने मेरा लागि विकासको सूचक भनेको सामाजिक न्याय हो। मान्छे बस्ने समाजका लागि हामीले मान्छे बस्ने समाज जस्तो बनाउनु पर्ने हुन्छ।

सामाजिक न्यायका लागि अब तपाइँ हामीले पैरवी गर्नु पर्ने हुन्छ। रास्वपाले चाहेर पनि कयौं साथीहरुलाई जोड्न सकेन। हामी समावेशी हुन चाहन्थ्यौं। हुन त तुलनात्मक रुपमा रास्वपाले अन्य राजनीतिक दलभन्दा धेरै महिला साथीहरुलाई उठायो। तर यो पर्याप्त होइन। म दु:खका साथ क्षमायाचना गर्दै भन्छु- हाम्रो पार्टीभित्र राई लिम्बु समुदायको प्रतिनिधित्व यो प्रतिनिधि सभामा हुन सकेन। सभापतिका हिसाबले म क्षमा माग्न चाहन्छु।

म विश्वासका साथ भन्न चाहन्छु, आगामी दिनमा समावेशिताको यो महत्वपूर्ण कडीलाई प्राथमिकताका साथ अगाडी राखेर अगाडी बढ्ने छौं। म विश्वास दिलाउन चाहन्छु, यही हलबाट तपाइँहरु भोलि मन्त्रीका रुपमा आसिन रहनुहोला।

म तपाइँलाई स्पष्ट पार्न चाहन्छु, तपाइँले शक्ति आर्जन गरेर भोलि बजेटमा आफ्नो क्षेत्रमा बजेट सोरेर लानुभयो कर्णालीलाई रुवाउनु भयो, मधेशलाई रुवाउनु भयो, सुदूरपश्चिमलाई रुवाउनु भयो। त्यो विकास होइन। सिंगो देश विकास हुँदा चितवन अविकसित हुँदैन, मलाई थाहा छ। त्यस कारणले हाम्रो ध्यान सिंगो देशको विकासमा जाने हो, क्षेत्रमा होइन। यद्यपि कतिपय क्षेत्रहरु अत्यन्त संवेदनशील हुन्छन्, कतिपय चिजहरु महत्वपूर्ण हुन्छन्।

जिल्लामा कतिवटा पुल बने? मैले कतिवटा पुल लिएर गएँ? मैले कति किलोमिटर बाटो आफ्नो क्षेत्रमा पिच गरे? भन्ने कुराले तपाइँलाई कीर्तिमानी बनाउँदैन। मैले अघि भने जस्तै कर्णालीमा बाटो पुग्यो कि पुगेन? कर्णालीमा अस्पताल बन्यो कि बनेन? कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्न पर्‍यो कि परेन? मधेशमा, भित्री मधेशमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन? स्वस्थ खानेपानी पुग्यो कि पुगेन? बालबालिकाहरुले पोषण पाए कि पाएनन्? विकासको सूचक यो हो।

तपाइँ हामीले सोचेको विकास यही हुनुपर्ने छ। साथी हो, एउटा चुनावबाट अर्को चुनावका लागि होइन एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हौं। हामी अर्को चुनाव जितौं नजितौं। त्यो सरोकारको विषय भएन। तर अर्को पुस्ताले हार्नु हुँदैन साथी हो।

धेरै पुस्ताले हारिसकेपछि हामी एउटा आशा अपेक्षाको दियो बाल्न सफल भएका छौं। यसलाई निभ्न नदिनु होला।

म लोकतान्त्रिक पद्धतिमा विश्वास गर्छु, वर्तमान व्यवस्था वर्तमान संविधानप्रति प्रतिबद्ध छु। शासकीय स्वरुपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ। तर वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डग्मगाएको छैन। डग्मगाउने वाला पनि छैन। यहाँहरुले पनि त्यसलाई डग्मगाउन दिनु हुने छैन भन्ने मैले विश्वास लिएको छु।

इतिहास रचनामा एउटा मान्छे, एउटा नेताको हात हुँदैन, एउटा पार्टीको हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरुले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। उहाँहरुका कयौं बेथितिहरुप्रति हाम्रो प्रश्न हो। तर इतिहासमा उहाँहरुले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन। म ससम्मान इतिहासमा उहाँहरुले दिनु भएको योगदानका लागि उहाँहरु सबैलाई स्मरण गर्न चाहन्छु।

पुराना राजनीतिक दल, पुराना सम्पूर्ण नेता गणहरुलाई म यही मञ्चबाट धन्यवाद दिन चाहन्छु। म यति भन्न चाहन्छु इतिहास तपाइँले लेख्नुभयो, भविष्य हामी बनाउँछौं। हाम्रा अभिव्यक्तिहरुमा कुनै पनि राजनीतिक दल र विपक्षहरुप्रति कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ। आज विजयको उन्मादमा हाम्रा समर्थक साथीहरुले विजयी भएका कारण अत्यधिक मत आएका कारण विपक्षीहरुप्रति सार्वजनिक माध्यमहरुमा जुन ढंगले अभिव्यक्ति दिइरहनुभएको कता कता देखिएको छ। त्यो कदापि स्वीकार्य छैन। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन। विजेता हुनुको अर्थ विपक्षीहरुलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन। त्यो लोकतन्त्रको चरित्र होइन।

हामीमाथि धेरै आरोप लागेको छ। आज तपाइँहरु सबैलाई साक्षी राखेर म यो आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाइँहरुको काँधमा पनि बाँड्न चाहन्छु कि रास्वपामा प्राय: अराजक छन्, रास्वपा समर्थकहरु अत्यन्त धेरै असहिष्ण छन्, सामाजिक संजालमा गाली गलौजमा उत्रिन्छन्, व्यक्तिगत गाली गलौजमा उत्रिन्छन्, छुनै हुँदैन बोल्नै हुँदैन गाली गरिहाल्छन्। त्यस किसिमको एउटा छवि बनेको छ।

म सम्पूर्ण समर्थक साथीहरुलाई बताउन चाहन्छु अब त्यसबाट बाहिर निस्कनु पर्छ। रास्वपाले प्रशिक्षण गर्न पाएको छैन। तीन वर्षमा आक्रमणै आक्रमण झेल्दै आएको रास्वपाले आफ्ना सदस्य साथीहरुलाई राम्रोसँग प्रशिक्षित गर्न पाएको छैन। तर यही समाजका पात्रहरु भएको हुनाले तपाइँले समाजका विभिन्न तह र तप्कामा लिनुभएको प्रशिक्षण तपाइँको व्यक्तिगत आचरणलाई देखाउँछ।

त्यसकारणले सम्पूर्ण समर्थक साथीहरुलाई म जिम्मेवार भएर अभिव्यक्त हुन सामाजिक संजालहरुमा सार्वजनिक प्लेटफर्महरुमा अत्यन्त जिम्मेवार भएर प्रस्तुत हुनको लागि अनुरोध गर्न चाहन्छु।

यो रास्वपाले जितेको होइन, यो देशले जितेको हो। हामीले प्रमाणित गर्नुपर्नेछ। अबको पाँच वर्ष सहज हुनेवाला छैन। हिजोका सांसदहरुको जस्तै गतिविधि या हिजोका मन्त्रीहरुको जस्तै गतिविधि र तिनै निरन्तर त्यही चिजको निरन्तरता यो हो भन्ने जो कोहीलाई परेको छ भने कृपया त्यो होइन।

अति संवेदनशील समयमा अत्यन्त धेरै मेहेनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले फेरी पनि तपाइँहरुलाई मेहनतका साथ अगाडि बढ्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। मान्छेहरुले तिमीहरु त समानुपातिक प्रत्यक्ष होइनौ भनेर अलिकति फरक ढंगले हेर्न खोजेको देखिन्छ। म त्यसलाई विभेद भन्छु। म त्यस्ता विभेद पार्टीभित्र नहोस् भन्ने चाहना राख्न चाहन्छु। चाहे प्रत्यक्षमा रहेका हुन्, चाहे समानुपातिकमा रहेका हुन्। सबैले आआफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरेका छन्। कतिले चुनाव जित्नsf लागि भूमिका निर्वाह गरे भने अब संसद्‍मा गएर ती साथीहरुले आफूलाई अझ बढी अब्बल प्रमाणित गर्नु हुनेछ।

यो राजनीतिक दल थिएन, हामी यहाँ गोलाकार हुने थिएनौं भने अलग किसिमका मानिसहरु थियौं। हाम्रा साथीभाइ अलग थिए। हाम्रो संगत अलग थियो। हाम्रो काम अलग थियो। हाम्रो पेशा अलग थियो। तर परिस्थितिले हामीलाई यहाँ जोडेको हो।

एउटा सामूहिक खेलाडीका रुपमा तपाइँ हामीले काम गर्नुपर्ने छ। व्यक्तिगत रुपमा कसैको आचरण, बानी व्यवहार, स्वभाव हामीलाई मन पर्नु नपर्नु बेग्लै कुरा हो। तर यतिखेर हामीले हेर्ने भनेको देशको संविधान हो। संसद्को नियमावली हो। पार्टीको विधान हो। तपाइँलाई व्यक्तिगत जीवनमा जुन किताब पढ्न मन लाग्छ पढ्नुहोस्। तर हामीले पढ्ने यिनै किताबहरु हुन्। यिनै किताबभित्र हामी एकताबद्ध भएर देशको संविधान मानेर पार्टीको विधान मानेर विभिन्न नियम नियमावलीको अधिनमा रहेर एकै ठाउँमा एउटा टिम भएर काम गर्नुपर्ने छ।

त्यस कारणले व्यक्तिगत इच्छा आकांक्षा, व्यक्तिगत लाइक डिस्लाइक, व्यक्ति मन पर्ने मन नपर्ने कुराहरु गौण रहन्छन्। कयौं व्यक्तिगत जीवनमा मन नपरेका साथीहरु पनि कता कता घुम्दै फिर्दै यही आएर ठोकिएका पनि हुन सक्दछौं। यतिखेर हामीले आफ्नो विवेकको अत्यधिक प्रयोग गरेर मुलुक र जनताप्रति बफादार, इमान्दार र जिम्मेवार भएर काम गर्नुपर्नेछ। म यहाँहरुको सुखद राजनीतिक भविष्यको शुभकामना अभिव्यक्त गर्न चाहन्छु।

यो देशका निजी क्षेत्रलाई म आश्वस्त पार्न चाहन्छु कि तपाइँहरु कहिं कतै पनि विचलित नहुनु होला। तपाइँहरुले निर्धक्कसँग काम गर्न सक्ने वातावरण हामी बनाउँछौं। यो देशमा लगानी ल्याउनका निमित्त विदेशमा रहेका नेपाली डायस्पोराका साथीहरुलाई म यही मञ्चबाट आह्वान गर्न चाहन्छु।

आउनुहोस् मिलेर काम गरौं। देश निर्माणको यो महाअभियानमा तपाइँहरुको साथ हामीलाई चाहिएको छ। सँगै मिलेर हामी थिति बसाल्ने संकल्प गर्न सक्छौं।

अन्तराष्ट्रिय समुदायलाई पनि म यति भन्न चाहन्छु कि नेपाल लगानी गर्नका लागि सुरक्षित देश छ, तपाइँको लगानी यो देशमा सुरक्षित हुन्छ। निर्धक्क हुनुहोला, कुनै किसिमको बाधा अड्चन हुनेछैन। तपाइँलाई कुनै अमुक नेता वा पार्टीले संरक्षण गर्दैन। तपाइँलाई देशको नीतिले, हाम्रो नीतिले संरक्षण गर्ने छ। नीतिगत रुपमा तपाइँ हामी संरक्षित हुनेछौं।

देशका विश्वविद्यालयहरुले काँचुली फेर्नु पर्नेछ, उद्योग कलकारखाना चल्नु पर्नेछ। देशमा कामधन्दा निरन्तर चल्नु पर्नेछ। इम्प्लोइमेन्ट क्रिएट गर्नु पर्नेछ। यी यावत जिम्मेवारीहरु पूरा गर्नका निमित्त हामी सक्षम भएर काम गर्ने छौं। मुलुक नयाँ मान्छेहरुको हातमा गयो कहीं अप्ठ्यारोमा पर्छ कि? लोकतन्त्र पो खतरामा पर्छ कि? कहीं कतै अलिकति अधिनायकवाद आउँछ कि? जस्ता जुन शंका, भ्रम या आशंकाहरु कतै कतै भएको छ। म सबै चासो राख्ने, सरोकार राख्ने सबैलाई बताउन चाहन्छु कि मुलुक राम्रो हातमा छ। ‘वि विल ह्यान्डल इट विथ केयर’ हामी यसलाई एकदमै केयरफुली यो जनताले दिएको मतलाई अत्यन्त प्रेमका साथ अत्यन्त सौहार्दका साथ करुणाका साथ र अत्यन्त चनाखो भएर हामी काम गर्नेछौं।

सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हामी निरन्तर लिएर जानका निमित्त अहोरात्र काम गर्नेछौं। (सांसद अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले व्यक्त गरेको विचारको सम्पादित अंश)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरुका लागि ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्नुहुँदै रास्वपाका सभापति रवि लामिछाने । तस्बिरः गोपाल दाहाल/रासस

520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका