जोडिनुहोस
बुधबार, फाल्गुन २०, २०८२
बुधबार, फाल्गुन २०, २०८२
  • होमपेज
  • मतदानको दिन बाहेक अन्य सार्वजनिक बिदामा पनि बैंक खुल्ने

मतदानको दिन बाहेक अन्य सार्वजनिक बिदामा पनि बैंक खुल्ने

सरकारले सार्वजनिक बिदा दिएको भए तापनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन बाहेक बैंकिङ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले मंगलबार एक सूचना जारी गर्दै मतदानको दिन बाहेक अन्य सार्वजनिक बिदाका दिनहरूमा पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगको अनुरोधमा केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार, फागुन २१ गते मुलुकभरका मतदाताले मतदान गर्ने दिन बाहेकका अन्य घोषित सार्वजनिक बिदाका दिनहरूमा निश्चित बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् ।

सरकारले निर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा घोषणा गरेको छ । यस्तै, फागुन १८ गते हिमाली र पहाडी ५६ जिल्लामा तथा फागुन १९ गते तराईका २१ जिल्लामा होली (फागु पूर्णिमा) को बिदा रहेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार फागुन २१ गते (मतदानको दिन) बाहेकका सार्वजनिक बिदाका दिनहरूमा पनि बैंक तथा वित्तीय संस्थाहरूले निश्चित बैंकिङ सेवा प्रदान गर्नेछन् । सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी व्यवस्था र राजस्व दाखिलाका कार्यहरू सुचारु राख्नुपर्ने निर्देशनमा उल्लेख छ ।

यस्तै, निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने राजनीतिक दल तथा उम्मेदवारहरूका लागि नगद वा चेक जम्मा गर्ने तथा भुक्तानी दिने लगायतका आवश्यक बैंकिङ सेवाहरू प्रदान गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

निर्वाचन आयोगको २०८२ फागुन १९ गतेको निर्णय बमोजिम उम्मेदवार र राजनीतिक दलहरूको आर्थिक कारोबारलाई सहज बनाउन र सरकारी राजस्व तथा भुक्तानी प्रक्रियालाई नरोक्न राष्ट्र बैंकले यो कदम चालेको जनाएको छ ।

यससँगै निर्वाचन अवधिभर उम्मेदवारहरूलाई चुनावी खर्च व्यवस्थापन र बैंकिङ कारोबारमा सहजता हुने अपेक्षा गरिएको छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका