
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरूलाई झिकाएर बयान लिन माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता भएको छ। कार्यालय समय सकिने बेला न्यायाधीशको आदेशअनुसार जाहेरीकर्ताको तर्फबाट रामकुमार रेग्मीले उक्त लिखित निवेदन दर्ता गराएका हुन्। निवेदनमा ती व्यक्तिहरूले रकम बुझेको पर्याप्त प्रमाण अदालतमा पेश भइसकेको दाबी गर्दै उनीहरूलाई झिकाएर बकपत्र गराउन र प्रतिवादीहरूको सम्पत्ति रोक्का गर्न माग गरिएको छ।
अदालतमा भएको बहसका क्रममा जाहेरवालातर्फका वकिलहरूले एमाले अध्यक्ष केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र उनकी पत्नी नैनकला थापा, अख्तियार प्रमुख प्रेम राई, पूर्वमेयर विद्यासुन्दर शाक्य, अजयक्रान्ति शाक्य तथा कांग्रेस नेतृहरू आरजु राणा र मञ्जु खाणलाई पक्राउ गरी बयान लिन माग गरेका थिए। जाहेरवालाका तर्फबाट यस्तो माग उठेपछि प्रतिवादी पक्षका वकिलहरूले आपत्ति जनाउँदा इजलासमा केहीबेर तनावसमेत सिर्जना भएको थियो। दर्ता भएको उक्त निवेदनमाथि थप बहस हुने जाहेरीकर्ताका कानुन व्यवसायी स्वागत नेपालले जानकारी दिएका छन्।

सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































